सानिमा बैंकको नयाँ एटिएम धादिङको बुथ ताल्तीमा

काठमाडौं । सानिमा बैंकले रोराङ गाउँपालिका, धादिङमा नयाँ एटिएम काउन्टर विस्तार गरेको छ ।  त्यहाँका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले  यहि साउन १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित होक्जिन सिमेन्ट नारायणी उद्योगको परिसरमा एटिएम बुथको स्थापना गरेको बैंकले जनाएको छ । उक्त एटिएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर छियाङ छाङ हङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरिएको थियो । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर छियाङ छाङ हङले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिए । त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गरिन् । एटिएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराए ।  

कर नतिरेपछि ४६ व्यवसायीको बैंक खाता रोक्का

दमौली । तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो । तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए । ‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ,’ उनले भने । कार्यालयले २०८० वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानी स्रोतको खोजी गरी त्यहीबाट कट्टा गराई बक्यौता रकम दाखिला गराउने अभियान थाल्ने उनले बताए । उक्त कार्यबाट पनि दाखिला गराउन नसके निजको चलअचल सम्पत्तिसमेत रोक्का गरी दाखिला गराउन सकिने व्यवस्था छ । बहत्तर हजार बढी करदाता तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७९÷८० मा करिब १० प्रतिशत करदाता वृद्वि भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए । पछिल्लो समय नागरिकमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने चेतनाको वृद्वि हुँदै गएको छ । प्यान नम्बर लिनेमा कर्मचारीतर्फ ४४ हजार दुई सय ८४ र व्यापारीतर्फ २३ हजार चार सय ३७ जना रहेका छन् । रासस

युरोपेली केन्द्रीय बैंकले फेरी बढाउन थाल्यो ब्याजदर

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर बढाउन थालेको छ । ईसीबीले बिहीबार ब्याजदर बढाएर सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको हो । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाई प्रतिशत बिन्दुले बढाउँदै यसको मानक निक्षेप ब्याज दर ३.७५ प्रतिशत कायम गरेको हो । यो सन् २००१ को मेपछि यसको उच्चतम विन्दु अर्थात् यस पहिलेको ब्याजदरको उच्चतम विन्दु बराबर पुगेको हो । मुद्रास्फितिसँग जुध्न बैङ्कको एक वर्ष लामो ब्याजदर वृद्धिको चक्रमा ऋणको लागत अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढेको छ । युक्रेनमा रूसको आक्रमणपछि ऊर्जा र खाद्यान्नको मूल्य वृद्धि भएको र गत वर्षको जुलाईमा ईसीबीले आफ्नो पहिलो कदम चालेपछि मुख्य दरहरू ४.२५ प्रतिशत बिन्दुले बढेको छ । ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले भने, ‘गत वर्षको अन्त्यमा मुद्रास्फीति दुई अङ्कको उच्च बिन्दुबाट तल झरेको छ, मूल्य मापन अझै पनि ‘धेरै लामो समयसम्म धेरै उच्च’ रहने अपेक्षा गरिएको छ ।’ युरोजोनमा उपभोक्ता मूल्य जुनमा ५.५ प्रतिशतले बढेको छ तर ईसीबीको २ प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।