मर्जरपछि एनआईएमबिको नाफा ४ अर्ब बढी, एनपीएल ४ प्रतिशत पुग्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्ष ४ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकले झण्डै ७ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । साविक नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड र मेगा बैंकले २ अर्ब ८३ करोड गरी कूल ६ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको देखिन्छ । बैंक स्रोतका अनुसार अहिले खराब कर्जा बढेका कारण बैंकको नाफामा असर गरेको हो । गत असारसम्म बैंकको खराब कर्जा (एनपीएल) ४.३ प्रतिशत पुगेको छ । जसकारण बैंकले ठूलो रकम लस प्रोभिजिनिङ गर्नु परेको बैंक स्रोतले बताएको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा २.२१ प्रतिशतको हाराहारीमा थियो । यस्तै, समीक्षा अवधिमा बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकसँग निक्षेप ३ खर्ब ३७ अर्ब रुपैयाँ थियो । यस्तै, गत असारसम्म बैंकले ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ बढी छ । बैंकले मेगा बैंकसँग मर्ज गरेपछि हरेक सूचकमा सुधार आएको देखिएको छ । तर, सिनर्जी नै सिर्जना भने भएको देखिँदैन । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज भएका हुन् ।
स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्। सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे । विश्व बैंकका देशीय निर्देशक जेरभोसले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेकामा आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक सय मिलियन डलर ऋण सहायता तथा तीन दशमलव ८४ मिलियन ग्रान्ड दिने र उक्त विषय मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा रहेको जानकारी गराए । निर्देशक जेरभोसले नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै कोभिड–१९ महामारीको बेलाजस्ते अन्य महामारी तथा स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सहयोग निरन्तर जारी रहेने विश्वास व्यक्त गरे । विश्व बैंकले कोभिड–१९ महामारीका बेला पनि विभिन्न सहयोग गरेको थियो । विशेषगरी कोभिड–१९ विरुद्धको खोप अनुदानको रुपमा स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । मन्त्री बस्नेतले कोभिड–१९ महामारीका बेला विश्व बैंकबाट प्राप्त सहयोग रकम केही बचेको र उक्त रकम स्वास्थ्य मन्त्रालयले नै खर्च गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए । कोरोनाका बेला खर्च गर्न उपलब्ध भएको मध्ये बचेको रकम अर्थमन्त्रालयमा पठाइएको थियो । उक्त रकम स्वास्थ्यमन्त्रालयले नै खर्च गरोस् भन्ने विश्व बैंकको धारणा रहेको मन्त्री बस्नेतले जानकारी दिए । ‘विश्व बैंकको पनि बचेको पैसा स्वास्थ्य मन्त्रालयले खर्च गरोस् भन्ने छ । यसबारे प्रक्रिया अगाडि बढाइएको छ’, उनले भने । अहिले डेङ्गु लगायतका महामारी फैलनसक्ने सम्भावना रहेको र अन्य क्षेत्रमा पनि खर्च गर्नुपर्ने भएकाले उक्त रकम मन्त्रालयमै ल्याउन लागिएको मन्त्री बस्नेतको भनाइ छ । उनका अनुसार कोरोना महामारीको समयमा खर्च गर्नका लागि आएकोमध्ये बचेको रकम करिब एक अर्ब रहेको छ । मन्त्रालयको बजेटको आकार घटेको छ । अहिले २० प्रतिशत बजेट कटौती भएको छ । सुर्तिजन्य पदार्थमा उठेको वार्षिक छ अर्बमध्ये ४० करोड मात्रै मन्त्रालयले पाएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘सूर्तीजन्य पदार्थको उठेको रकम पनि अर्थमन्त्रालयमा रहेको र अर्कोतर्फ कोरोनाका बेलामा खर्च गर्ने भनेर प्राप्त भएको पैसा पनि अर्थमै पुगेको छ । कर्मचारी अभावले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पु¥याउन नसकिरहेको अवस्थामा थप दरबन्दी सिर्जना गर्नका लागि सो रकम खर्चहोस् भन्ने हो ।’ मन्त्री बस्नेतले स्वास्थ्य रणनीति र वित्त रणनीति पास भएर काम गर्ने वातावरण बनेको उल्लेख गर्दै यसमा जति पैसा हुनसक्छ सोही अनुसारको रणनीतिक कार्ययोजना अघि बढाइने उल्लेख गरे । स्वास्थ्य मन्त्रालयले उक्त रकम खर्च गर्नका लागि अर्थमन्त्रालयमा आवश्यक प्रक्रिया अगाडि बढाएको र यो छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने मन्त्रालयको विश्वास छ । रासस
कुमारी, कृषि विकास र नेपाल बैंकबाट सेयर कर्जा लिँदा सस्तो, कुन बैंकको ब्याज कति ?
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढ्दै गएको र कर्जाको ब्याजदर घट्दै गएपछि बैंकहरुले कर्जा लगानी बढाउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर घटेपछि ऋणीहरु पनि थप ऋण लिन उत्साहित हुन थालेका हुन् । विशेष गरेर सेयर बजार घटेकोले पनि ऋणीहरुले बैंकबाट ऋण लिएर सेयर खरिद गर्न खोजिरहेका छन् । बैंकहरुले पनि लगानीकर्ताहरुलाई फोन गरेर सेयर कर्जा लिन आग्रह गरिरहेको लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकले पनि ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार १ सय प्रतिशत लागू गर्न निर्देशन दिएपछि लगानीकर्ताहरु थप कर्जा लिन हौसिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले गत वर्ष सेयर कर्जा घटाएपनि चालू आर्थिक वर्षमा भने बढ्ने देखिएको बैंकरहरु बताउँछन् । उनीहरुका अनुसार कर्जा प्रवाहमा सहज हुँदै गएकाले यस वर्ष सेयर कर्जा वृद्धि हुनेछ । गत वर्ष बैंकहरुले सेयर कर्जा १४.७१ प्रतिशत घटाएर ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँको मात्रै प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको जेठसम्म ८७ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत जेठसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ, विकास बैंकहरुले १३ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले ३ अर्ब ६१ करोड ९४ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । अब बैंकहरुमा लगानी योग्य पूँजी तथा तरलता सहज भएपछि सेयर कर्जा प्रवाहमा जोड दिन थालेका हुन् । विगत केही महिनादेखि ठप्प रहेको सेयर कर्जा फेरी बढ्ने बैंकहरुले अपेक्षा गरेका छन् । गत वर्ष बैंकिङ्ग क्षेत्रमा तरलता अभाव भएपछि राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गरेको थियो । अब, तरलता हुँदै गएपछि राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जा बढाउन चाहेको देखिन्छ । बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दछन् । जसको आधार दर र प्रिमियम दर कम छ सो बैंकको कर्जाको ब्याज पनि सस्तो पर्छ । बैंकहरुको तथ्याङ्क अनुसार सेयर कर्जामा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ११.२७ प्रतिशतमा सेयर कर्जा दिने गरेको छ । बैंकको आधार दर ८.०२ प्रतिशत छ भने सेयर कर्जाको प्रिमियम ३.२५ देखि ३.५० प्रतिशत तोकिएको छ । बैंकका अनुसार ऋणीको अवस्था हेरेर प्रिमियम निर्धारण गरिन्छ । यदि असल ऋणी सेयर कर्जाका लागि बैंकमा आउनु भयो भने आधार दरमा ३.२५ प्रतिशत गणना गरेर सेयर कर्जामा ब्याजदर निर्धारण गर्ने गरेको बैंकले बताएको छ । सेयर धितो कर्जामा राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर बैंकिङ्ग क्षेत्रमै सबैभन्दा सस्तो हो । यस्तै, नेपाल बैंकले न्यूनतम ११.९४ प्रतिशत ब्याजदरमा सेयर कर्जा प्रवाह गर्ने गरेको जनाएको छ । बैंकले सेयर कर्जामा आधार दर ९.४४ प्रतिशतमा २.५ प्रतिशतदेखि ५ प्रतिशत प्रिमियम दर गणना गर्ने गरेको छ । यस्तै, नबिल बैंकले १२.५२ प्रतिशतमा सेयर धितो कर्जा प्रवाह गर्ने गरेको छ । बैंकले आधार दर ९.५२ प्रतिशतमा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेको बताएको छ । यस्तै, कृषि विकास बैंकले सेयर धितोमा १२.६४ प्रतिशत ब्याजमा कर्जा दिने बताएको छ । बैंकको आधार दर १०.१४ प्रतिशत छ भने २.५ प्रतिशत प्रिमियम लिने बैंकको भनाइ छ । यस्तै, कुमारी बैंकले न्यूनतम १२.७८ प्रतिशतमा सेयर धितो कर्जा दिने बताएको छ । बैंकले आधार दर १०.७८ प्रतिशतमा ऋणको स्थिती हेरेर न्यूनतम २ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म प्रिमियम तोक्ने बताएको हो । यस्तै, सिद्धार्थ बैंकले १४.४१ प्रतिशत, सिटिजन्स बैंकले १४.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १४.५७ प्रतिशत, एभरेष्ट बैंकले १४.६१ प्रतिशत, माछापुच्छ्रे बैंकले १४.७४ प्रतिशत र एनआईसी एशिया बैंकले १४.९८ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिने बताएका छन् । यस्तै, ग्लोबल आइएमई बैंकले १५.०८ प्रतिशत, सानिमा बैंकले १५.१५ प्रतिशत, प्रभु बैंकले १५.१६ प्रतिशत, एनएमबि बैंकले १५.२४ प्रतिशत, प्राइम बैंकले १५.५७ प्रतिशत, नेपाल एसबिआई बैंकले १५.७२ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १५.८० प्रतिशत र हिमालयन बैंकले १५.८४ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिने गरेका छन् ।