सबैभन्दा बढी कर तिर्ने बैंकको ताज ग्लोबल आइएमईलाई, अनुभवी बैंकर बज्राचार्यको टीमलाई सफलता

काठमाडौं । सरकारलाई सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ । गत आर्थिक वर्ष २०८९/८० मा सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंक ग्लोबल आइएमई बनेको हो । अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर तिरेको हो । यसअघि अन्य बैंक उत्कृष्ट कर तिर्ने बैंक बनेपनि गत वर्ष भने त्यो ताज ग्लोबलले प्राप्त गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक बनेको छ । अन्य धेरै सूचकमा यो बैंक अगाडि देखिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन् । नेपाली बैंकिङमा बज्राचार्य अनुभवी बैंकरका रुपमा परिचित छन् । सीईओ बज्राचार्यसहित उनको नेतृत्वको टीमलाई यो एउटा सफलता पनि हो । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण पनि उत्कृष्ट देखिएको छ । बैंकले गत आवमा ४६.२६ प्रतिशत खुद नाफा बढाएर ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १० अर्ब २८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५०.३३ प्रतिशत बढेर ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६४.३२ प्रतिशत बढेर २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको गत वर्ष निक्षेप ५३.९३ प्रतिशत बढेर ४ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी ३८.०९ प्रतिशत बढेर ३ खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ छ । बैंकको कस्ट अफ फण्ड ८.१८ प्रतिशत, आधार दर १०.२ प्रतिशत, स्प्रेड दर ४.९६ प्रतिशत र सीडी रेसियो ८३.४७ प्रतिशत छ ।

चौराह हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी भएको छ । बैंक र बुटवल स्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख २५ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । आइतबार आठ वर्ष अवधिको १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रूपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजार रुपैयाँले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोकार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।