तस्बिरमा सीईओहरूको सम्मेलन (फोटो फिचर)

काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलन सुरु भएको छ । सम्मेलनमा १८ देशका ६३ सीईओहरूको सहभागिता रहेको छ । ‘एशिएन बैंकिङ : रोडम्याप फर रिकभरी एण्ड सस्टेण्ड ग्रोथ’ विषय रहेको सम्मेलनमा विभिन्न वक्ताहरुले धारणा राखेका छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

कामना सेवाको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सम्पन्न गरेको छ । सो कार्यक्रमहरु अन्तर्गत बुधबार बैंकले कावासोतीमा डिजिटल मेला सम्पन्न गरेको छ । उक्त डिजिटल मेलामा बैंकले कावासोती वजारमा रहेका विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा ४२ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरिएको थियो भने १० वटा नयाँ क्युआर रजिष्ट्रेशन गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरनवलपुरको सकलादेवी मा.विमा ‘समावेशी बैकिङ शिक्षाः आजको आवश्यकता’ विषयक अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नवलपुरको देवचुली नगरपालिका भित्र रहेका विद्यालय स्तरिय उक्त वक्तृत्वकला प्रतियोगिता कार्यक्रम देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपानेको प्रमुुख आतित्यथामा सम्पन्न भएको थियो । माध्यमिक तह अन्तर्गत नेपाल मा.विका छात्र सौर्य पौडेल प्रथम भएका थिए त्यस्तै आधारभुत तह अन्तर्गत सकला मा.विका छात्रा आकृती चापागाई प्रथम भएकी थिइन् । बैंकले आफ्नो वार्षिकोत्सव सप्ताहका कार्यक्रमहरु अन्तर्गत बिहीबार रोल्पा होलेरीको महेन्द्र मा.वि. अध्ययनरत ५ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक झोला हस्तान्तरण गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक वेद वेदान्त सुर्यवंशीलाई बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रवन्धक सुरेन्द्र भण्डारीले उक्त शैक्षिक झोलाहरु हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक सुर्यवंशीले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शैक्षिक झोला प्रदान गरेर विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिहीबार भैरहवा स्थित सस्कृत विद्याश्रमलाई सोफा तथा टेवल हस्तान्तरण गरेको छ । उक्त विद्याश्रमका पिठाधिस श्री १००८ श्वामी शान्ताराम सरस्वतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले विद्याश्रमका अध्यक्ष तथा समाजसेवी डि.आर शर्मालाई उक्त सोफा तथा टेवल हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बैंकका बुटवल क्षेत्रका क्षेत्रिय प्रबन्धक खिमलाल भुषाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा गत शुक्रबार देखी विभिन्न ठाउँहरुमा १७ वटा कार्यक्रम सम्पन्न गरेको हो । हाल बैंकले आफ्ना १३५ संजाल, ७७ वटा एटिएम वुथ तथा १७ वटा शाखा रहित बैंकिङ केन्द्र मार्फत् आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

काठमाडौंमा १८ देशका ६३ सीईओहरूको सम्मेलन : नेपाली बैंकले विदेशमा लगानी गर्नुपर्ने बहस छेडियो

काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलनमा नेपाली बैंकिङ क्षेत्रको विषयमा ठूलो बहस छेडिएको छ । सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरूले नेपाली बैंकिङ व्यवसाय र व्यवसाय विस्तारको धारणा राखेका छन् । काठमाडौंमा सुरु भएको सम्मेलनमा १८ देशका ६३ वटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा बैंकरहरूको सहभागिता रहेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सम्मेलनमा नेपाली बैंकहरूले विदेशमा पनि लगानी गर्नु पर्ने विषय उठेको धारणा राखे । ‘सम्मेलनमा नेपाली बैंकहरुको व्यवसाय विस्तारका लागि विदेशमा पनि जान सक्ने बहस छेडिएको छ, यो विषयमा पनि हामीले अब सोच्नु पर्छ, सोही किसिमले नीति नियमहरू बनाउनु पर्छ, नेपाली बैंकहरू विदेशमा गएर पनि काम गर्न सक्ने हैसियत निर्माण गरिसकेका छन्,’ उनले भने । यस्तै, उनले नेपाली बैंकरहरु विश्व बजारमा बिक्न सक्ने भएको धारणा राखे । ‘धेरै जना विदेशका बैंकहरूमा सीईओ भएर काम गरिरहेका छन्, नेपालका बैंकर विदेशका जुनसुकै देशमा पनि काम गर्न सक्ने अवस्थामा छन् ।’ उनले भने । उनले सबैको सहकार्यले बैंकिङ क्षेत्रलाई थप मजबुद बनाउनु पर्नेमा जोड दिए । यस्तै, सम्मेलनमा एशियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले नेपाली बैंकिङ क्षेत्र र बैंकरको प्रशंसा गरे । उनले नेपाली बैंकरहरु विश्वको धेरै देशमा रहेको बताउँदै कतिपय ठाउँमा सीईओ भएर नै काम गरिरहेको सुनाए । उनले नेपाली बैंकरसँग सीप र दक्षता पनि भएकोले अब नेपाली बैंकहरुले विदेशमा पनि गएर व्यवसाय गर्नु पर्नेतर्फ ध्यान दिनुपर्ने धारणा राखे । उनले रेमिट्यान्समा निर्भर देश सधैं समस्यामा हुने उनको भनाइ छ । यस्तै, उनले आगामी दिनमा क्रमशः ब्याजदर घट्दै जाने उनले बताए । यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको धारणा राखे । कोरोना भाइरस महामारी देखि नै विश्वव्यापी रुपमा समस्या देखिएको भन्दै उनले बैंकिङ व्यवसायले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने बताए । पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकहरुले महँगीको सामना गरेको उनको भनाइ छ । उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेको भन्दै गभर्नर अधिकारीले एशियन बैंकहरुले सो विषयमा सोच्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको गभर्नर अधिकारीले बताए । रसिया युक्रेन युद्धको कारण नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको उनले बताए । सबैले सहकार्य गरेर समस्याको सामना गर्नुपर्ने उनको भनाइ छ । यस्तै, कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरे । अर्थमन्त्री डा.महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने बताएका हुन् । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको उनले बताए । साथै, कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आउने गरेको बताए । ‘ब्याजदर उच्च हुँदा मात्रै अर्थतन्त्रमा समस्या आउँदैन, लगानीकर्ताको मनोबल खस्कियो भनेपनि प्रभाव पार्छ, वित्तीय स्थायित्वका लागि बैंकिङ क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने । ‘विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिन्छ, सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको छ,’ उनले भने, ‘डिजिटल बैंकिङसँगै विश्वसनियता र सुरक्षा महत्त्वपूर्ण विषय हो, विदेशी लगानीकर्ताका लागि जलविद्युत महत्त्वपूर्ण क्षेत्र हो ।’