ग्लोबल आईएमईको लाभांश पारित, अध्यक्ष ढकाल भन्छन् : कोरियामा शाखा खोल्दै छौं
काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारण सभाले बैंकको ८ प्रतिशत नगद र १ प्रतिशत बोनस गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता रहेको बताएका छन् । उनले बैंकको ७७ जिल्लाहरुमा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा बैंकको पहुँच पुर्याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए । बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । कुल नाफामा सरकारलाई तिरेको करपछिको नाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ रहेको अध्यक्ष ढकालले बताए । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब र ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको छ । अध्यक्ष ढकालका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब र कर्जा ३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । अध्यक्ष ढकालले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको समेत बताएका छन् । यसैगरी, उक्त साधारणसभाले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट ३ जना समेत जम्मा ६ जना संचालकको निर्वाचन गरेको छ । संस्थापक सेयरधनीहरुमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । सबै सञ्चालक समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए । आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले देशका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
कुमारी बैंकले तोक्यो अधिकतम ३.५ प्रतिशत प्रिमियम, ऋणीलाई सहज हुने
काठमाडौं । कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आगामी जनवरी १ (पुस १६) देखि लागू हुने गरी बैंकले कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्ने जनाएको छ । नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ । कुमारी बैंकले ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको जनाएको छ । बैंकले ग्राहकहरुका गतिशील आवश्यकताहरु र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको छ । आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।