बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकले पनि बुझायो कर

काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई करबापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले ६ करोड ५३ लाख ८९ हजार ७ सय ५७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो । बैंकले साविकको बागमती डेभलपमेन्ट बैंकको प्राप्तिमा सौदावजी गर्दा प्राप्त लाभ र हकप्रद सेयर लिलाम गरी प्राप्त भएको प्रिमियम रकमलाई आयमा समावेश गरी कर तिरेको बैंकले जानकारी गराएको छ ।

नेपाल बैंकको सीईओका ५ जनाको नाम सर्टलिष्ट, को–को सिफारिस भए ?

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको आइतबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैंकको सीईओ पदका लागि अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्ट गरिएको हो । योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफासिर गरेको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका थिए । बैंकका सीईओका लागि देवेश प्रसाद लोहनी, विभु प्रसाद अर्याल, रमेश प्रसाद जोशी, शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, दिर्घ बहादुर अर्याल, कृष्ण प्रसाद आचार्य, छबिराज पन्त, राजुनाथ खनाल, बिष्णुदेव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ र प्रताप सुवेदीले आवेदन दिएका थिए । बैंकका पूर्व सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएपछि बैंकले नयाँ सीईओका लागि विज्ञापन आह्वान गरेको थियो ।

एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएको छ । दुवै कम्पनीले संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुलाई रेमिट्यान्स पठाउन सहज बनाउन व्यवसायिक समझैता पत्रमा हस्ताक्षर गरेको हो । युएईमा रहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने विश्वासले साझेदारी गरेको दुवै कम्पनीले बताएको छ । अब एआई अनसरी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । यस्तै, एआई अनसरी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम एन आई सी एशिया बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ । साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एप (एन आई सी एशिया मोबाइल बैंक) भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफुलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा गई रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।