नेपाल एसबीआईलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) बाट सन् २०२६ का लागि चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले होलसेल बैंकिङ अवार्डअन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्डअन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’ उपाधि प्राप्त गरेको जनाएको छ । बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले तरलता व्यवस्थापन, व्यापार वित्त, बैंकिङ अभ्यास तथा होलसेल र रिटेल बैंकिङ क्षेत्रमा नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ । बैंकले यस उपलब्धिका लागि आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।
महालक्ष्मी विकास बैंकले पाँच जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्यो
काठमाडौं । महालक्ष्मी विकास बैंकले पाँच जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ । बैंकले विभिन्न समयमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्षहरूको स्मृतिमा स्थापना गरिएका छात्रवृत्तिमार्फत सामुदायिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको जनाएको छ । बैंकका अनुसार स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरी, अशोक श्रेष्ठ, नवराजबहादुर सिंह र सीताराम प्रसाईंको स्मृतिमा स्थापना गरिएका छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो । छात्रवृत्तिअन्तर्गत काठमाडौं, पर्सा, कैलाली, मकवानपुर र झापाका सामुदायिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई सम्बन्धित बैंकका पदाधिकारीमार्फत छात्रवृत्ति हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले यस्तो कार्यक्रमले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन नरोकिने वातावरण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब आठ लाखभन्दा बढी ग्राहक रहेका छन् ।
भारत र नेपालबीचको डिजिटल भुक्तानी थप सहज बनाउँदै सानिमा बैंक
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भारत–नेपालबीच रियल टाइम पर्सन–टु–पर्सन (पी–टु–पी) भुक्तानी सेवा सुरु गरेको छ । बैंकका अनुसार नयाँ सेवामार्फत दुई देशबीच सुरक्षित, तत्काल र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिनेछ । यस सेवामा भारत र नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) र युपिआई आईडी प्रयोग गरेर रकम आदानप्रदान गर्न सक्नेछन् । नेपाली प्रयोगकर्ताले भीपीएमार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले युपिआई आईडी प्रयोग गरेर भारत–नेपालबीच रकम पठाउन र प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवाले सीमापार भुक्तानी प्रक्रियालाई थप सरल, सुरक्षित र सहज बनाउनेछ । साथै विद्यार्थी, पेशाकर्मी, यात्रु तथा भारत–नेपालबीच नियमित आर्थिक कारोबार गर्ने परिवारका लागि परम्परागत रेमिट्यान्स प्रणालीको आधुनिक विकल्प बन्ने अपेक्षा गरिएको छ । सानिमा बैंकले हाल देशभरका सातै प्रदेशमा रहेका १३४ शाखा र १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले सुरक्षित र नवीन डिजिटल बैंकिङ समाधान विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।