राष्ट्रिय वाणिज्य बैंकले घोषणा गर्याे लाभांश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साढे ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँको ५.५ प्रतिशत अर्थात् ८६ करोड ५५ हजार ७३८ रुपैयाँ बराबरको नगद प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्न पुस २९ गते १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

सिटिजन्स बैंकका पूर्वअध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

काठमाडौं । सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष कुलचन्द्र गौतम बैंकर्स संघबाट सम्मानित भएका छन् । शनिबार चितवनमा आयोजित संघको ३७ औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको समुपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरको हो । गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी समयदेखि योगदान पुर्‍याउँदै आएका छन् । गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा मिति २०६७ वैशाख १७ देखि मिति २०६८ असोज २८ गतेसम्म रहेका थिए । नेपाल बैंकर्स संघबाट बैंकका पूर्वअध्यक्ष सम्मानित हुनु गर्वको विषय भएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख८६हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हिमालयन बैंकका लगानीकर्तालाई डुबाउँदै नेप्सेका कर्मचारी

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंकले सर्वसाधारण सेयरधनीहरूको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ छ । जसमध्ये संस्थापक सेयरधनीहरूको ७३ प्रतिशत सेयर स्वामित्व छ भने सर्वसाधारण समूहको २७ प्रतिशत सेयर स्वामित्व रहेको छ । तर, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को बमोजिम सर्वसाधारण समूहको सेयर स्वामित्व कम्तिमा ३० प्रतिशत हुनै पर्ने छ । बैंकको कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्न एफपीओ निष्काशन गर्ने बैंकले जनाएको छ । बैंकले सर्वसाधारण समूहको ३० प्रतिशत हिस्सा पुर्याउन कम्तिमा पनि ३ प्रतिशत एफपीओ जारी गर्नु पर्नेछ । जसको आधारमा बैंकले न्यूनतम ३ प्रतिशत एफपीओ बिक्री गर्दा करिब ६५ लाख कित्ता सेयर सर्वसाधारणलाई दिनुपर्ने हुन्छ । ‘हिमालयन बैंकमा सर्वसाधारण समूहको ३० प्रतिशत स्वामित्व पुगेको छैन, अहिले २७ प्रतिशत मात्रै छ, अब ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन प्रक्रिया अघि बढाएका हौं,’ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उज्वलराज भण्डारीले भने, ‘वार्षिक साधारणसभाले पारित गर्नुपर्ने भएकाले सो एजेण्डा राखिएको हो ।’ उनका अनुसार साविक सिभिल बैंक गाभ्नु अघि हिमालयन बैंकमा सर्वसाधारण सेयरधनीहरूको स्वामित्व १५ प्रतिशत मात्रै थियो । साविक सिभिल बैंकलाई गाभेपछि उक्त स्वामित्व बढेर २७ प्रतिशत पुगेको हो । डीसीईओ राजभण्डारीका अनुसार साधारणसभाले कति प्रतिशत एफपीओ जारी गर्ने भनेर सेयर संख्या निर्धारण गर्ने र अंकित मूल्यमा कति रुपैयाँ प्रिमियम थप गर्ने भनेर निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ । यदि बैंकले प्रिमियम मूल्यमा सेयर जारी नगर्ने हो भने अन्य सेयरहोल्डरहरूलाई घाटा हुने उनको भनाइ छ । नेप्सेका कर्मचारीले डुबाउँदै लगानीकर्ता बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भनेर सूचना सार्वजनिक भएपछि लगानीकर्ताहरूले पुँजीबजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गएर सेयर बैंकको सेयर स्वामित्व हेर्न थाले । जहाँ संस्थापक समूहको ८५ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको १५ प्रतिशत स्वामित्व रहेको तथ्यांक देख्न सकिन्छ, जसले लाखौं सेयरधनीहरुलाई सरासर झुक्याउन खोजेको देखिन्छ । किनभने सो तथ्याङ्कले बैंकले सर्वसाधारणमा १५ प्रतिशतसम्म एफपीओ निष्काशन गर्न लागेको बुझाउँछ । यसरी नेप्सेले समय समयमा आफ्नो आधिकारिक साइटमा सूचीकृत कम्पनीहरूको सही तथ्याङ्क नराख्दा वा अपडेट नगरिदिँदा नेप्सेको तथ्यांकलाई आधिकारिक मानेर लगानी गर्ने लाखौं लगानीकर्ताहरूको लगानी डुब्ने खतरा प्रबल छ । नेप्से स्रोतका अनुसार ग्याप रहेको तथ्याङ्क अपडेट गर्ने काम स्वयम् कम्पनीको हो । ग्याप रहेका तथ्याङ्क अपडेट गराउन नेप्सेले सूचीकृत कम्पनीहरूलाई युजर आइडी र पासवर्ड उपलब्ध गराएको नेप्से स्रोतको भनाइ छ । तर, नेप्सेले सही तथ्याङ्क अपडेट गराउन कम्पनीलाई निर्देशन दिन नसकेको उनको भनाइ छ । ‘सबै कम्पनीहरूको तथ्याङ्क पूर्ण रुपमा अपडेट छैन, ग्याप भएको तथ्याङ्क अपडेट गराउनुहोस् भनेर नेप्सेले कम्पनीहरूलाई युजर आइडी र पासवर्ड उपलब्ध गराएको छ,’ उनले भने ‘तर, कम्पनीहरुले नगराएका हुन्, अब अपडेट गराउन फलोअप गर्छौं, दुईचार दिनमा सूचना जारी गर्छाैं ।’ स्रोतका अनुसार सूचीकृत कम्पनीहरूको तथ्याङ्क अपडेट गराउन नेप्सेले मनिटरिङ गर्न नसकेको स्वीकार गरे ।