नवीकरणीय ऊर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसंग सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नविकरणीय उर्जा प्रवर्द्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार दिगो उर्जा चुनौती कोषसंग समन्वय गरी बैंकको नविकरणीय उर्जा परियोजनाहरुमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ग्यारेन्टी हुनेछ । यस सम्झौताले बैंकको नविकरणीय उर्जा परियोजनाहरू जस्तै सोलार नेट मिटरिङ, १ मेगावाट सम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरपरिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको छ। बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले सस्तो ब्याजमा घरकर्जा बढाउँदै, ३ खर्ब लगानी

काठमाडौं । वाणिज्य बैंकहरूले घरकर्जा बढाएका छन् । प्रत्येक महिना वाणिज्य बैंकबाट प्रवाह हुने घर कर्जाको परिमाण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूले माघ महिनामा कुल ३ खर्ब ५ अर्ब ५१ करोड १० लाख रुपैयाँ होम लोन प्रवाह गरेका छन् । घर कर्जाको परिमाण् बढ्दै जाँदा कर्जाको ब्याजदर भने घट्दै गएको छ । माघमा बैंकहरूले औसत ११.६७ प्रतिशत ब्याजमा कर्जा प्रवाह गरेका छन् । यस्तै, पुसमा बैंकहरूले औसत ११.७४ प्रतिशत ब्याजदरमा ३ खर्ब ६१ करोड १ करोड, मंसिरमा १२.११ प्रतिशत ब्याजमा ३ खर्ब ४ अर्ब ३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कात्तिकमा औसत १२.३१ प्रतिशत ब्याजमा ३ खर्ब ३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ, असोजमा १२.३८ प्रतिशत ब्याजमा ३ खर्ब २ अर्ब ११ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै, भदौमा औसत १२.०७ प्रतिशत ब्याजमा २ खर्ब ९३ अर्ब ६७ करोड ५० लाख, साउनमा ११.९७ प्रतिशत ब्याजमा २ खर्ब ८८ अर्ब ६५ करोड २० लाख र असारमा औसत १२.४३ प्रतिशत ब्याजमा २ खर्ब ६४ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए ।

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री कादमबरी एकेडेमी, श्रीपूर विरगंजमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् । अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे । आमाको माया छात्रावासका अध्यक्ष श्री भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।