डेभलपमेण्ट बैंकर्स एसोसिएसन र उच्च अदालत बारको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । उच्च अदालत वार एसोसिएसन, पाटन र डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा ‘व्रिजिङ्ग बैंकिङ्ग एण्ड लअ्जः रोल्स एण्ड रेस्पोन्सबिलिटज् अफ लिगल प्राक्टसिनर्स’ विषयको कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यशालामा उच्च अदालत वार एसोसिएसन, पाटनका अध्यक्ष विदुर प्रसाद ढुंगानाको अध्यक्षता र महान्यायाधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा विभिन्न पेशाकर्मीहरूको सहभागिता थियो । बैंकिङ विज्ञ बीएन घर्ती र अधिवक्ता प्रविण पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यशालामा करिव ४०० जना पेशाकर्मीहरूको उपस्थिति थियो जसमा वरिष्ठ अधिवक्ता, अधिवक्ता र बैंकर्स पनि समावेश थिए । उच्च अदालत वार एसोसिएसनका सचिव प्रबल शर्माले कार्यक्रममा सञ्चालनको जिम्मेवारी निभाएका थिए भने डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत मन्जिला डंगोलले कार्यक्रममा आयोजनाको उद्देश्य प्रकट गर्दै सहभागीलाई बैंकिङ्ग र कानुनी मुद्दामा सूचित गराएका थिए । कार्यक्रममा विदुर प्रसाद ढुंगानाले भने, ‘हामी कानुन व्यवसायीहरुले बैंकिङ सम्बन्धी प्राविधिक शब्दहरुमा स्पष्टता नहुँदा बहस गर्न अप्ठ्यारो हुन्छ र पीडित पक्षलाई कानुनी सेवा दिन कठिनाइ उत्पन्न हुन्छ । त्यसैले यस कार्यशालाको आयोजना गरिएको हो ।’ बैंकिङ विज्ञ बीएन घर्तीले भने, ‘बैंकहरुले कर्जा प्रवाह गरी आर्थिक विकासमा योगदान पुर्याउँदै सरकारलाई राजस्व तिर्दै आएको छ, तर कर्जा निष्क्रिय भएको अवस्थामा बैंकिङ अपराधको आरोप लगाउनु गलत हो । बैंकर्स र कानुनी व्यवसायीहरु बीचमा प्राविधिक शब्दको गलत अर्थ लगाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता छ ।’ अधिवक्ता प्रविण पौड्यालले भने, ‘सरकारी निकायसँग आवश्यक सहयोग प्राप्त गर्न नसकेको र बैंकहरुले ऐनका प्रावधान र सर्वोच्च अदालतका फैसलासँग तालमेल राख्नुपर्ने आवश्यकता छ ।’ महान्यायाधिवक्ता रमेश बडालले चेक अनादर र कर्जा चुक्ता नगरेको अवस्थामा मुद्दा नलगाउने, असल नियतले कार्य गर्ने व्यक्तिलाई मुद्दाको झमेलाबाट बचाउने कार्यमा कटिबद्ध रहने बताए । कार्यशालामा सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल सिन्हाले कर्जा र कानुनी परिपालना सम्बन्धी समसामयिक विषयमा मन्तव्य राख्दै अव्यवहारिक कानुनी पाटाहरु हटाउनुपर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई कानुनी कार्यान्वयन गर्दा लापरवाहीबाट बच्न विशेष ध्यान दिनुपर्ने बताए । नेपाल वार एसोसिएसनका महासचिव अन्जिता खनाल र उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश लालवहादुर कुंवर लगायत अन्य प्रतिष्ठित व्यक्तिहरूले पनि आफ्नो धारणा राखेका थिए । कार्यशालामा वरिष्ठ अधिवक्ता शुसिल पन्त र महेश थापाले पनि कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

राष्ट्रिय सहकारी बैंकले ‘कोर बैंकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याउँदै, बैंकिङ कारोबार ४ दिन बन्द

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) बुधबार देखि सञ्चालनमा ल्याउने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै नयाँ सफ्टवेयर सञ्चालनको लागि माघ १६ गते बिहान ६ बजे देखि १९ गते बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ, एसएमएस बैकिङ, रेमिट्न्यास सेवा पूर्णरुपमा बन्द रहने र माघ १८ गते निक्षेप जम्मा र चेक सटही सेवाको लागि मात्र बैंकका कार्यालयहरू खुल्ला रहने एक सूचना जारी गरी जानकारी दिएको छ । आफ्ना सदस्य सहकारी संघ संस्थालाई अत्याधुनिक, गुणस्तरीय तथा सुरक्षित बैकिङ्ग सेवा दिने उद्देश्यका साथ पुरानो सफ्टवेयरलाई प्रतिस्थापन गरि नयाँ प्रविधिको कोर बैंकिङ सफ्टवेयरको सुरुवात गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । ‘प्रमुख कार्यकारी गुरागाईका अनुसार बैंकले निकट भविष्यमा आफ्ना सदस्य सहकारी संघ संस्थाहरुलाई आधुनिक प्रविधिको आफ्नै सफ्टवेयर प्रदान गर्ने गरी अघि बढेको छ, त्यसका लागि बैंकले लागि नेपाल सहित अन्य देशका उत्कृष्ट सफ्टवेयर कम्पनीहरूसँग छलफल भइरहेको बताए ।’ अन्तर्राष्ट्रिय स्तरमा समेत प्रयोगमा रहेको र व्यवस्थापन गर्न समेत सहज उक्त सफ्टवेयर आधुनिक बैंकिङ सेवा प्रदान गरी वेव बेसमा आधारित रहेको बैंकका प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्कीले जानकारी दिए । सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका १६ हजार ३६९ शेयर सदस्य सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । बैंकले आधुनिक प्रविधि सेवा अन्तर्गत हाल आफ्नै ब्रान्डको ‘कोप कार्ड’ (एटिएम) इन्टरनेट बैंकिङ, एसएमएस बैकिङ, सिटिएस् सेवा र क्यु आर सेवा प्रदान गरी रहेको छ ।

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । एनएमबि बैंकले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । माघ १४ गते आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ । आठविसकोट शाखा सहित, एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।