५ किलोमिटिर वरिपरि बैंकको पहुँच भए मात्रै शाखारहित बैंकिङ्ग सेवा बन्द गरिने
काठमाडौं । ५ किलोमिटिर वरिपरि बैंक तथा वित्तीय संस्थाको पहुँच भएको अवस्थामा मात्रै शाखारहित बैंकिङ्ग सेवा बन्द गरिने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै बन्द गरिने शाखारहित बैंकिङ्ग सेवाको ५ किलोमिटर क्षेत्रमा बैंकको पहुँच हुनुपर्ने व्यवस्था गरेको हो । ‘शाखारहित बैंकिङ्ग सेवा बन्द गर्न प्रस्ताव गरिएको क्षेत्रमा करिब ५ किमि वरिपरि क, ख तथा ग वर्गका बैंक तथा वित्तीय संस्था वा अन्य शाखारहित बैंकिङ्ग सेवा सञ्चालन भई वित्तीय पहुँचको वैकल्पिक व्यवस्था भएको हुनुपर्नेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार संस्थाले व्यावसायिक निरन्तरता तथा वृद्धिसम्बन्धी कम्तीमा ३ वर्षको रणनीतिक योजना तयार गर्नुपर्ने छ । यस्तो रणनीतिक योजनाको कार्यान्वयनका लागि समयसीमा, जिम्मेवार विभाग÷इकाई÷कर्मचारी आदि तोकी विस्तृत कार्ययोजना तर्जुमा गर्नुपर्ने छ ।
दैनिक ५ हजार कारोबार गर्ने व्यक्तिले समेत मर्चेन्ट क्यूआर कोड पाउने
काठमाडौं । व्यक्तिले पनि मर्चेन्ट क्यूआर कोड प्रयोग गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै दैनिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले समेत क्यूआर कोड उपलब्ध गराइने व्यवस्था गरेको हो । ‘स्थायी लेखा नम्बर नलिएका दैनिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्ट क्यूआर कोड उपलब्ध गराउन सकिनेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा उल्लेख गरेको छ । यसअघि अनुमतिपत्रप्राप्त संस्थाहरूले स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था गरेको थियो । तर, स्थायी लेखा नम्बर नलिएका दैनिक ५ हजार रुपैयाँसम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति/खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्टको रुपमा क्यूआर उपलब्ध गराउन सकिने व्यवस्था थियो ।
एउटा खाताबाट एक भन्दा बढी कार्ड जारी गर्न नपाइने, आधिकारिक भीपीएन नभए मोबाइल र इन्टरनेट बैंकिङ्ग लगइन नहुने
काठमाडौं । एउटा खाताबाट एक भन्दा बढी कार्ड जारी गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेस्टिक कार्ड स्किम अन्तर्गतका कार्डहरू जारी गर्दा यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन । कार्ड मार्फत उपलब्ध हुने नियर फिल्ड कम्युनिकेसन, थ्रीडी सेक्योर, भर्चुलाइजेशनलगायतका अन्य सुविधाहरूको उपयोगिता, जोखिम तथा शुल्क तिर्नु पर्ने भएमा सोसम्बन्धी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरेनगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत)ले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा डीसी–डीआर ड्रिल गर्नुपर्नेछ । कुनै पनि प्रणालीको डीसी-डीआर ड्रिल कम्तीमा २ वर्षमा एक पटक गर्नुपर्नेछ । डीसी–डीआर ड्रिल सम्पन्न भएको १५ दिनभित्र उक्त ड्रिलको प्रतिवेदन राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार संस्थाले नेपाल सरकारको सूचना प्रविधि विभागले डाटा सेन्टरको रुपमा कार्य गर्न सूचिकृत गरेको संस्थासंग मात्र आफ्नो डाटा सेन्टर राख्न सक्नेछन् । अनुमतिपत्रप्राप्त संस्थाहरुले हाल कायम रहेको डाटा सेन्टर ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ मा तोकिएको समयमा सूचिकृत भए/नभएको एकीन गर्नुपर्ने छ ।