एनएमबि बैंकले ‘इनहाउस’बाटै रोज्यो सीईओ, घिमिरेले पाए अवसर

काठमाडौं । एनएमबी बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा गाेविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । घिमिरेलाई आगामी ४ वर्षकाे लागि बैंककाे सीईओको जिम्मेवारी दिइएको हो । यसअघि घिमिरे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । साथै, बैंकका सीईओ सुनिल केसीको कार्यकाल फागुन मसान्तमा सकिदैछ । उनी दुई कार्यकाल बैंकको सीईओ बनिसके । सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् । सन् २००९ देखि एनएमबी बैंकमा आवद्ध उनी २०७९ असोज ११ गते डीसीईओमा बढुवा भएका थिए । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।

‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक, महिला उद्यमीले १० करोड रुपैयाँसम्मको कर्जा पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरूमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो । यस योजनाले महिलाहरूलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित विश्वास बैंकले लिएको छ । महिलाहरूले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत आकर्षक सुविधासहित न्यूनतम् ब्याजदरमा बैंकले महिला उद्यमीहरूलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ । महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरूकै नेतृत्वमा व्यवसाय सञ्चालन भएका व्यवसायहरू मात्र यस कर्जाका लागी योग्य हुने बैंकले जनाएको छ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।   ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

स्काइलाइन इन्फ्रामा नेपाल एसबिआई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र स्काइलाइन इन्फ्राबीच बैंकका ग्राहकलाई छुटलगायतका सुविधा दिने सम्झौता भएको छ । सम्झौताअन्तर्गत सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा पेय पदार्थलगायत अन्य सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काइलाइन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।