सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा पान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न मिल्ने सुविधा थप
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा थप दुई सुविधा थपेको छ । बैंकले ग्राहकहरूको लागि अब घरमै बसी आफ्नो खातामा पान अपडेट गर्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा अनुरोध गर्न सकिने व्यवस्था मिलाएको हो । यस सुविधापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिन सकिने सुविधा बैंकले ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
हिमालयन बैंकमार्फत वैदेशिक रोजगारीमा रहेकाले सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्ने
काठमाडौं । हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ । बैंक तथा कोष बीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरुले हिमालयन बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल बैंकिङ्ग वा कार्डमार्फत सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । यसरी योगदानकर्ताहरुले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ । यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।
एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैकले जनाएको छ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ । सो खाताबाट ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्नेछन् । एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खाता मार्फत प्रतिबद्धता जनाउन सक्ने बैंकले बताएको छ ।