ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान
काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘Think before you follow, wise money tomorrow’ भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै, बैंकले नेपालभर वित्तीय सचेतना फैलाउने उद्देश्य राखेको छ । बैंकका अनुसार, डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, कृत्रिम बुद्धिमत्ताको प्रभाव, र ब्लकचेन प्रविधिको प्रवेशले सर्वसाधारण, विशेष गरी युवाहरूलाई सही वित्तीय निर्णय लिन चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, यो कार्यक्रम अत्यन्तै उपयोगी हुनेछ । यस अभियान अन्तर्गत बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना, र जिम्मेवार वित्तीय निर्णय सम्बन्धी विस्तृत जानकारी सहभागीहरूलाई दिइनेछ । कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने, र समग्र वित्तीय स्थायित्व कायम गर्न योगदान पुर्याउने लक्ष्य लिएको छ ।
ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ क्यालेन्डर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समावेश गरी नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डरमा दशकौंअघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यास कैद गरिएका दुर्लभ तस्वीरहरू समावेश छ । तस्वीरहरूले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहन स्मरण गराउँदै नयाँ पुस्तालाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाबारे जानकारी गराउन सहयोग पुग्ने बैंकको भनाइ छ । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । विगतका वर्षहरूमा क्यालेन्डरमा नेपाली कला र संस्कृति सम्बन्धी विषयहरू प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वाङ्गीण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिँदै आएको छ ।’ कार्यक्रममा बैंक सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरूको उपस्थिति थियो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ५० लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको जनाएको छ ।
नेपाल बैंक ६५ औं वार्षिक साधारण सभा सम्पन्न, छैन सेयरधनीलाई लाभांश
काठमाडौं । नेपाल बैंकको ६५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सभा सम्पन्न भएको हो । सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ । बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ ।