५ कम्पनीको ३२ करोडको सेयर बेच्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ५ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र जीवन विकास लघुवित्तको सेयर बिक्री गरेर बाहिरिने भएको हो । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता, निफ्राको १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ६९६ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २६९ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १५९ रुपैयाँ, निफ्राको प्रतिकित्ता १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ । सो मूल्यका आधारमा बैंकले लगानी कोषको ३ करोड ४८ लाख रुपैयाँ, सूर्याेदय वोमीको १ करोड ५८ लाख ८७ हजार १४० रुपैयाँ, सूर्यज्योतिको ७९ लाख ५० हजार रुपैयाँ, निफ्राको १० करोड ५० लाख रुपैयाँ र जीवन विकासको १५ करोड ५४ लाख ३४ हजार ६८० रुपैयाँ गरी कुल ३१ करोड ९० लाख ७१ हजार रुपैयाँको सेयर बिक्री गर्न लागेको हो । सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ । उक्त सेयरमा चैत ३ गतेदेखि चैत १० गतेसम्म बोलपत्र आवेदन दिन सकिनेछ ।

मुस्ताङको घरपझोङ्गमा प्रभु बैंकको वित्तीय साक्षरता, गभर्नरले भने-डिजिटल जोखिमबाट बच्नुहोला

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुस्ताङ पुगेर डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नुपर्ने बताएका छन् । प्रभु बैंक गण्डकी प्रदेशले आयोजना गरेको मुस्ताङको घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे । प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए । घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले कार्यक्रमको स्वागत गर्दै भने, ‘हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ । यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ ।’ डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ । स्थानीय समुदायले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने माग गरे ।  

सिटिजन्स बैंकले १५ वर्ष सेवा गरेका कर्मचारीलाई गर्‍यो दीर्घ सेवा सम्मान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् । आजको दिन (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले अठारौँ वर्ष पुरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । बैंकमा हाल १ हजार ८ सय कर्मचारी कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आप्mनो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरूबाट १८ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।