नेपाल बैंक लिमिटेड र भक्तपुर इन्टरनेशनल हस्पिटलबीच छुट सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचार सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई संस्थाबीच सम्झौता भएको छ । यस सम्झौताअनुसार, बैंकका कर्मचारीहरू र खाता भएका ग्राहकहरूले अस्पतालका विभिन्न सेवाहरूमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन् । नेपाल बैंक लिमिटेडका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताले बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्ने अवसर प्रदान गरेको छ । यस सम्झौताले बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुँच बढाउने विश्वास लिइएको छ । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरूको स्वास्थ्य र कल्याणप्रति प्रतिबद्धता जनाउँदै यस्ता साझेदारीहरू गर्दै आएको छ ।
घरजग्गामा बैंकहरूको ब्याजदर हालसम्मकै न्यून, १० प्रतिशत बढ्यो ऋण
काठमाडौं । ब्याजदर घटेसँगै बैंकहरूले घरजग्गामा लगानी बढाएका छन् । बैंकहरूको ब्याजदर एकल अंकमा पनि न्यून अंकमा झरेसँगै वाणिज्य बैंकहरूले घरजग्गामा झण्डै साढे २ खर्ब रुपैयाँ बराबर लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा २० वटा बैंकले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका हुन् । जबकि गत वर्षको फागुनसम्ममा बैंकहरूले २ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूले १०.०८ प्रतिशत अर्थात् २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ घरजग्गामा कर्जा बढाएका हुन् । साथै फागुनमा बैंकहरूको घरजग्गामा प्रवाह हुने कर्जाको औसत ब्याजदर ८.७२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त ब्याजदर २०७० असार यताकै न्यून हो । समीक्षा अवधिमा कुमारी बैंकले घरजग्गा क्षेत्रमा आक्रामक रूपमा कर्जा लगानी बढाएको छ । फागुनसम्म कुमारीले १४१२.१७ प्रतिशत अर्थात् ८ अर्ब ११ करोड ४३ लाख रुपैयाँ बढाएर ८ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको हो । गत वर्षको फागुनमा बैंकले ५७ करोड ४६ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो । यस्तै, लक्ष्मी सनराइज बैंकले ४५.५७ प्रतिशत बढाएर १५ अर्ब १० करोड रुपैयाँ, प्राइम बैंकले २८.१० प्रतिशत बढाएर २१ अर्ब ६९ करोड रुपैयाँ, एभरेष्ट बैंकले २६.६३ प्रतिशत बढाएर ७ अर्ब ९४ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले २६.१२ प्रतिशत बढाएर १८ अर्ब ४७ करोड रुपैयाँ, एनएमबि बैंकले २३.९१ प्रतिशत बढाएर ५ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन्स बैंकले १६.२३ प्रतिशत बढाएर ५ अर्ब ४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १६.१३ प्रतिशत बढाएर १ अर्ब ८५ करोड रुपैयाँ घरजग्गामा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकले १५.८८ प्रतिशत बढाएर १ अर्ब ९१ करोड रुपैयाँ, प्रभु बैंकले ७.९३ प्रतिशत बढाएर १४ अर्ब २९ करोड रुपैयाँ, नबिल बैंकले ५.५६ प्रतिशत बढाएर २३ अर्ब ९३ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.५६ प्रतिशत बढाएर ८ अर्ब ३० करोड रुपैयाँ, सानिमा बैंकले २.१२ प्रतिशत बढाएर ६ अर्ब १ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १.३२ प्रतिशत बढाएर ९ अर्ब ८६ करोड रुपैयाँ घरजग्गामा लगानी गरेका छन् । समीक्षा अवधिमा आधा दर्जन बैंकले भने घरजग्गामा लगानी घटाएका छन् । यसअवधिमा एनआईसी एशिया बैंकले ११.६० प्रतिशत घटाएर २६ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । गत वर्षको फागुनमा बैंकले २९ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको थियो । यस्तै, हिमालयन बैंकले १०.३४ प्रतिशत घटाएर १२ अर्ब ६२ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १०.३० प्रतिशत घटाएर ४ अर्ब ३७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले ४.१२ प्रतिशत घटाएर ४ अर्ब ७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकले ३.४९ प्रतिशत घटाएर २४ अर्ब ७३ करोड रुपैयाँ र नेपाल बैंकले २.२५ प्रतिशत घटाएर १४ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान
काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ कुर्सी सहयोग प्रदान गरेको छ । अस्पतालले आफ्नो स्थापनादेखि नै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्री हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रको लागि सानै भएपनि सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ । विश्वकै प्रतिष्ठित अवार्ड 'बैंक अफ द ईयर २०२४' को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।