सेयर कर्जाको ब्याजदर साढे ३ वर्ष यताकै न्यून, ब्याज घटेपछि ४३.५९ प्रतिशत बढ्यो लगानी
काठमाडौं । बैंकहरूले पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै लगेपछि पुँजी बजारमा पनि लगानी बढेको देखिन्छ । ८ महिनामा वाणिज्य बैंकहरूले झण्डै १ खर्ब रुपैयाँ बराबर सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को ८ महिनामा २० वटा बैंकले ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । जबकी गत वर्षको फागुनसम्ममा बैंकहरूले ६७ अर्ब १२ करोड ७० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूले ४३.५९ प्रतिशत अर्थात् २९ अर्ब २६ करोड ६५ लाख रुपैयाँ सेयर कर्जा बढाएका हुन् । बैंकहरूको सेयर कर्जाको ब्याजदर निरन्तर ओरालो लागेपछि कर्जा पनि बढेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा बैंकहरूको सेयर धितो कर्जाको औसत ब्याजदर ८.४९ प्रतिशत छ । जुन ब्याजदर साढे ३ वर्ष यताकै न्यून हो । यसअघि विसं २०७८ असारमा सेयर धितो कर्जाको औसत ब्याजदर ८.०५ प्रतिशत थियो । समीक्षा अवधिमा नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा सबैभन्दा धेरै बढाएको छ । बैंकको सेयर कर्जा २८८.९६ प्रतिशत अर्थात् ३५ करोड ११ लाख रुपैयाँ बढेर ४७ करोड २७ लाख रपैयाँ प्रवाह गरेको छ । गत वर्षको फागुनमा यस बैंकले १२ करोड १५ लाख रुपैयाँ मात्रै सेयर कर्जा प्रदान गरेको थियो । समीक्षा अवधिमा माछापुच्छ्रे बैंकले २४८.६६ प्रतिशत बढाएर १ अर्ब ६५ करोड रुपैयाँ, कुमारी बैंकले ११७ प्रतिशत बढाएर ८ अर्ब ९८ करोड रुपैयाँ, कृषि विकास बैंकले १०६.४८ प्रतिशत बढाएर २ अर्ब ५७ करोड रुपैयाँ, एनएमबि बैंकले ९२.७४ प्रतिशत बढाएर १ अर्ब ८७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार प्राइम बैंकले ७७.९५ प्रतिशत बढाएर ७ अर्ब ३७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६५.५१ प्रतिशत बढाएर ११ अर्ब १६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६०.३४ प्रतिशत बढाएर ८ अर्ब ३२ करोड रुपैयाँ, नेपाल बैंकले ५४.३४ प्रतिशत बढाएर ७ अर्ब ६२ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । सिटिजन्स बैंकले ४७.७८ प्रतिशत बढाएर ६ अर्ब ४० करोड रुपैयाँ, सानिमा बैंकले ४४.२७ प्रतिशत बढाएर २ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४२.१५ प्रतिशत बढाएर ३ अर्ब ५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३९.८८ प्रतिशत बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो प्रदान गरेका छन् । प्रभु बैंकले ३५.२३ प्रतिशत बढाएर ४ अर्ब ४३ करोड रुपैयाँ, एभरेष्ट बैंकले २८.७० प्रतिशत बढाएर २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १७.९५ प्रतिशत बढाएर १३ अर्ब ८२ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १३.७७ प्रतिशत बढाएर ४ अर्ब ७७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । तर, समीक्षा अवधिमा एनआईसी एशिया बैंक र हिमालयन बैंकले भने सेयर धितोमा प्रवाह हुने कर्जा घटाएका छन् । हिमालयन बैंकले ४३.६० प्रतिशत घटाएर २ अर्ब ४९ करोड रुपैयाँ र हिमालयन बैंकले ११.१२ प्रतिशत घटाएर २ अर्ब २ करोड रुपैयाँमा सेयर कर्जा झारेका हुन् ।
राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आइतबार सूचना जारी गर्दै उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्न लागेको जानकारी गराएको हो । राष्ट्र बैंकका अनुसार 'क' वर्गका वाणिज्य बैंकहरूमा ७७ करोड ६० लाख, 'ख' वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूमा १४ करोड ५५ लाख र 'ग' वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिनेछ । उक्त लगानी ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म, अर्थात् ३६६ दिनका लागि हुनेछ । इच्छुक संस्थाहरूले आवेदन आगामी ३ वैशाख साँझ ७ बजेसम्म दिनुपर्नेछ । निक्षेपको लागि योग्यता प्राप्त बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकका विभिन्न मापदण्डहरू पूरा गर्नुपर्नेछ, जसमा कम्तीमा दुई वर्षको सञ्चालन अवधि, निर्धारित पूँजीकोष, न्यूनतम तरलता, सीमित निष्क्रिय कर्जा, तथा विगतमा कारबाहीमा नपरेको अवस्था हुनुपर्नेछ ।
कुमारी, सानिमा र नेपाल बैंकले घटाए ब्याजदर, एभरेष्टले बढायो
काठमाडौं । तीन वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले घटाएको छ । विसं २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले ब्याजदर बढाएको छ । कुमारी बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपमा ०.०९ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगत तर्फ ५.९२ प्रतिशत र संस्थागत तर्फ ४.९२ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, सानिमा बैंकले ०.१ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, नेपाल बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ५.१५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटाएर ४ प्रतिशत कायम राखेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.१५ प्रतिशत ब्याजदर तोकेको थियो । एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । बैंकले ०.६१ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ ६.६१ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो । साथै बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार वैशाखमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.९७ प्रतिशत र संस्थागततर्फ ४.३६ प्रतिशत कायम छ ।