नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ‘लेट मि इन’ मा उपचार शुल्कमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वरस्थित लेट मि इनमा उपलब्ध कोरियन प्रविधियुक्त एस्थेटिक्स सेवाहरूमा छुट दिने सहमति भएको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र खाता रहेका ग्राहकहरूले लेट मि इनको विविध सौन्दर्य र छाला सम्बन्धी उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इनका प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन् ।
सेयरजस्तै लगानीको उपकरण सुन, नबिल बैंकले दिन्छ ८.९ प्रतिशत ब्याजमा ‘सुन कर्जा’
काठमाडौं । ‘नेपाली समाज जस्तै भारत, थाइल्याण्ड, भियतनामलगायत दक्षिण पूर्वी एसियाका मुलुकमा पनि सुनचाँदीको सांस्कृतिक र सामाजिक मूल्य मान्यता छ । चाडपर्वदेखि विवाह समारोहमा सुनको सांस्कृतिक र सामाजिक मान्यतालाई नकार्न सकिँदैन । हामी आफैले सुन उत्पादन गर्दैनौं, आयातित सुनलाई नै विभिन्न ढाँचामा ढालेर प्रयोग गर्ने हो । सुन आयातमा अर्बाैं विदेशी मुद्रा बाहिरिन्छ,’ नबिल बैंककी रिटेल लेण्डिङ हेड चाँदनी श्रेष्ठले भनिन्, ‘त्यसैले हामीसँगै भएको सुनलाई वित्तीय उपकरण (फाइनान्सियल टूल)मा परिणत गरौं । नबिल बैंकले हामीसँगै भएको सुनलाई वित्तीय स्रोतको रूपमा प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ ।’ हो, नेपालमा सुन उत्पादन हुँदैन । नेपाल राष्ट्र बैंकले कोटा सिस्टममा बैंकहरूलाई सुन आयात गर्न दिएको छ । विदेशबाट सुन आयात गर्दा अर्बाैं विदेशी मुद्रा बाहिरिने गरेको छ । नबिल बैंकले नेपालीहरूसँग घरमै थन्किएर रहेको सुनलाई नगदमा रूपान्तरण गर्न खोजिरहेको छ । सुनलाई धितो राखेर कुनै पनि उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकिने गरी बैंकले सुन कर्जा प्रवाह गरिरहेको श्रेष्ठको भनाइ छ । ‘लकरमा बसेको आइडल गोल्ड छ, तपाईं हामीले त्यतिकै घरमा सुन राखिरहेका छौं । अब आयात हुने सुनलाई होइन, घरमा राखिएको, बैंकको लकरमा राखिएको सुनलाई आइडल सम्पत्तिको रूपमा मात्रै नलिएर वित्तीय उपकरणको रुपमा विकास गर्न सकिन्छ,’ उनले भनिन्, ‘आफूसँग भएको सुनलाई धितो राखेर कर्जा लिएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ । जस्तो कुनै व्यापार व्यवसाय, एसएमई, साना तथा घरेलु उद्यममा सुन धितो राखेर लगानी गर्न सकिन्छ । छोराछोरीको उच्च शिक्षाको लागि त्यो रकम प्रयोग गर्न सकिन्छ।’ श्रेष्ठका अनुसार सुनलाई जसरी आइडल सम्पत्तिको रूपमा लिइएको छ, त्यो सुनलाई वित्तीय उपकरणको रुपमा विकास गर्न सकियो भने त्यसले अर्थतन्त्रमा समेत योगदान पुर्याउने छ । सुन कर्जा गर्जाे टार्नका लागि लिने गरिएको छ । घरमा थन्किएर बसेको, बैंकको लकरमा रहेको सुन कहिलेकाहीँ चाडपर्व, विवाह समारोहमा लगाउने बाहेक त्यो सुनले प्रतिफल दिँदैन । त्यसैले उक्त सुनलाई धितोमा राखेर कर्जा लिई व्यापार व्यवसायमा लगानी गर्न सकियो भने त्यसबाट प्रतिफल पनि प्राप्त हुने उनको भनाइ छ । अनौपचारिक माध्यमबाट सुन कर्जा लिँदा महँगो पर्ने भएकाले बैंकले सस्तो ब्याजदरमा कर्जा दिइरहेको छ । ‘जस्तो सुन पसलमा ऋण लिन जाँदा उच्च ब्याज हुन्छ । कहिलेकाहीँ विश्वास पनि कम हुन्छ । तर, बैंकमा धितो राखेर कर्जा लिएपछि सुन सुरक्षित हुने भयो । लकरको पैसा पनि तिर्नु परेन । बैंकले ग्राहकको सुनलाई सुरक्षित रूपमा धितोको रूपमा राखिदिन्छ,’ उनले भनिन्, ‘अनौपचारिक च्यानलबाट कर्जा लिनुभन्दा बैंकमा कर्जा लिँदा धेरै सस्तो ब्याजमा पाइन्छ । अहिले एकल अंक ब्याजदरमा नै कर्जा उपलब्ध छ । जबकि अनौपचारिक माध्यमबाट कर्जा लिँदा २४/२५ प्रतिशतसम्म ब्याजदर तिर्नु परेको हुन्छ ।’ विगतमा सुनलाई सांस्कृतिक र सामाजिक मान्यताका रूपमा मात्रै लिइन्थ्यो । तर, पछिल्लो सुनलाई धितो राखेर कर्जा लिने र त्यो रकमलाई प्रयोग गर्ने अभ्यास बढिरहेको श्रेष्ठले बताइन् । चाडपर्व, विवाह समारोहमा प्रयोग हुने सुन अहिले वित्तीय उपकरणका रूपमा परिचालन भइरहेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कसरी तलमाथि भइरहेको छ, यसको रेट अफ रिटर्न के छ ? सुनको वृद्धि कस्तो छ, प्रतिफल कति छ ? सबै एसेसमेन्ट गर्न सकिने हुँदा सुनलाई प्रयोग गर्न सकिन्छ । जसरी सेयरलाई लगानी उपकरणको रूपमा लिइन्छ, त्यसरी सुनलाई पनि लगानी उपकरणको रुपमा लिइरहेका छन्,’ उनले भनिन्। नबिल बैंकमा सुन कर्जा नबिल बैंकले २२ क्यारेट र २४ क्यारेटको सुनलाई मात्रै धितोको रूपमा स्वीकार गर्छ । ग्राहकहरूले आफूसँग भएको सुन धितो राखेर बैंकबाट सहज रुपमा कर्जा लिन सकिने रिटेल लेण्डिङ हेड श्रेष्ठ बताउँछिन् । उनका अनुसार सुन धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म बैंकले कर्जा दिइरहेको छ । बैंकको आधार दर ५.९ प्रतिशत छ । आधार दरमा ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरी कर्जा दिइरहेको उनले बताइन् । १० लाख रुपैयाँसम्मको कर्जालाई बिल अनिवार्य छैन । तर, १० लाखभन्दा माथिको कर्जालाई बिल अनिवार्य गरिएको छ । मिसावट हुने सम्भावना रहेकाले २४ क्यारेट सुनमा १० प्रतिशत र २२ क्यारेट सुनमा २० प्रतिशत हेयर कट गरिन्छ । त्यसपछिको मूल्यमा ७० प्रतिशतसम्म कर्जा दिइन्छ । प्रतितोला २ लाख रुपैयाँ मूल्यका आधारमा एक तोला सुन धितो राख्दा ग्राहकले १ लाख २६ हजार रुपैयाँसम्म कर्जा पाउने उनले बताइन् । साथै बैंकसँग सुन खरिद कर्जा योजना पनि छ । ग्राहकसँग सुन छैन र आफ्नो आवश्यकता वा सन्तानका लागि सुन जोड्ने इच्छा छ भने सुन खरिद कर्जा योजनामार्फत आवश्यक पर्ने सुन खरिद गरेर भविष्यका लागि सुन जोड्न सकिने उनको भनाइ छ । सुन खरिद गर्नका लागि बैंकले १० लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ । जसको लागि बैंकले सुनचाँदी व्यवसायीसँग सम्झौता गरेको छ । जस्तो ग्राहक र सुनचाँदी व्यवसायी बैंकमा आउनु पर्ने हुन्छ । बैंकको सुन जाँचकीले सुन जाँच गरेपछि गुणस्तर र परिमाणलाई नियमानुसार ७० प्रतिशतसम्म कर्जा दिने गरिएको छ । सो भ्यालूका आधारमा बैंकले १० लाख रुपैयाँ नबढ्ने गरी कर्जा दिइरहेको छ । त्यो पैसा ग्राहकले सुन व्यवसायीलाई दिनेछ । यदि १० लाख रुपैयाँको सुन खरिद गरिएको छ भने मासिक इएमआई १२ हजार हाराहारी रुपैयाँ मात्रै रहेको श्रेष्ठको भनाइ छ । सुन कर्जामा मुख्य जोखिम तौल र गुणस्तर (क्वालिटी)मा हुने गरेको उनले बताइन् । अनुभवी सुन जाँचकी राखेको भएपनि कथमकदाचित सुन जाँचमा तलमाथि भयो भने बैंकले ठूलो नोक्सानी बेहोर्नु पर्ने उनको भनाइ छ । जस्तो तीन तोला भनेर लिएको सुन २ तोला ८० लाल मात्रै निस्कियो भने बैंकलाई घाटा हुन सक्ने भएकाले धेरै सजग हुनुपर्ने उनले बताइन् । १० लाख रुपैयाँसम्मको कर्जामा कर्जा सूचना केन्द्रबाट सीआईसी लिन नपर्ने हुँदा कर्जा सरल रुपमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ । बैंकले हालसम्म १ अर्ब भन्दा बढी सुन धितो कर्जा प्रवाह गरेको छ । उक्त कर्जा १ हजार भन्दा बढी ग्राहकले लिएका छन् । काठमाडौं उपत्यकासहित देशभरका शाखा कार्यालयबाट सुन कर्जा सहज रुपमा उपलब्ध भइरहेको उनले बताइन् ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा माछापुच्छ्रे बैंक सम्मानित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो । इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड हरेक वर्ष बैंकिङ क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ । बैंकले बैंकिङ सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ । डिजिटल बैंकिङ, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ, नविनतम साइबर सुरक्षा मापदण्डको अवलम्बन जस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरुप बैंकले उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो । बैंकले विगत २५ वर्षदेखि देशभर वित्तीय पहुँच विस्तार गर्दै सरल र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।