एनएमबि बैंकको ‘एक घर एक खाता’ योजना शुरु

काठमाडौं, ४ साउन । एनएमबि बैंकले एक घर एक खाता योजनाको शुभारम्भ गरेको छ । बैंकका अनुसार  हरेक नेपालीको बैंकमा एक खाता होस् र हरेक नेपालीलाई सरल वित्तीय पहुँच पुगोस् भन्ने यस योजनाको उद्देश्य रहेको छ । “आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक” अभियानलाई नै निरन्तरता दिदै बैंकले एक घर एक खाता योजना संचालनमा ल्याएको हो । यस योजनाले गर्दा नेपालीमा वित्तीय साक्षरताको वृद्धि हुने, बचत गर्ने बानीको विकास हुने तथा हरेक नागरिकलाई वित्तीय प्रणालीमार्फत् कारोवार गराउन समेत टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

लक्ष्मी लघुवित्तको नाफा ३७८ प्रतिशतले बढ्यो, फस्र्ट माइक्रो फाइनान्सको पनि १५० प्रतिशत वृद्धि

काठमाडौं, ४ असार । लक्ष्मी लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा आफ्नो नाफा ३७८ दशमलब ५५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवमा कम्पनीले कमाएको नाफा भन्दा ३७८ दशमलब ५५ प्रतिशतले बढि हो । अघिल्लो आवमा लक्ष्मी लघुवित्तले जम्मा एक करोड ६४ लाख ९६ हजार रुपैंयाँ मात्रै नाफा कमाएको थियो । ११ करोड चुक्ता पुँजी रहेको कम्पनीले खराब कर्जा शुन्य दशमलब ३० प्रतिशत रहेको छ भने प्रति सेयर नेटवर्थ १६४ रुपैंयाँ ४४ पैसा रहेको छ । त्यस्तै, फस्र्ट माइक्रोफाइनान्स कम्पनीको नाफा पनि १५० प्रतिशतले बढेको छ । कम्पनीले आर्थिक वर्ष वर्ष २०७२/७३ को चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ३ करोड ६१ लख १७ हजारबाट वृद्धि गरेर ५ करोड ४४ लाख ६८ हजार नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्म कम्पनीले कमाएको भन्दा नाफा भन्दा १५० दशमलब ८० प्रतिशतले बढि हो । २३ करोड चुक्ता पुँजी रहेको फस्ट माइक्रोफाइनान्सको प्रति सेयर नेटवर्थ १३४ रुपैंयाँ १५ पैसा रहेको छ ।

राष्ट्रिय बाणिज्य बैंक र नागरिक लगानी कोषबीच सेवा सम्झौता

काठमाडौं, ३ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच रकम संकलन तथा ट्रान्सफर गर्ने सम्बन्धमा एक समारोहका बीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरेका छन् । नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले दुई ठूला सरकारी निकाय बीचको संझौताले कर्मचारीको वचत बानी विकासमा थप सघाउ पुग्ने अपेक्षा गरेका छन् । आगामी आर्थिक वर्षमा बैंकले पुनस्थापना गर्ने ३० वटा शाखा कार्यालयको सेवाबाट कोषका बचतकर्ता र सर्वसाधारण जनता लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले यो सम्झौताले नागरिक लगानी कोषका ५ लाख ७० हजार बचतकर्ता लाभान्वित हुने बताएका छन् । यस नयाँ सम्झौता अनुसार नागरिक लगानी कोषको बैंकका विभिन्न शाखामा रहेका अनेकौं खाताहरु बन्द गरि स्किम अनुसारको ६ वटा केन्द्रिकृत खाताहरु मात्र संचालन गरिने बैंकले जनाएको छ ।