सनराइज बैंकको एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा
काठमाडौं, ११ कात्तिक । सनराइज बैंक लिमिटेडले आफ्नो एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले सो स्थानमा बैकिंङ् सेवाको संचालन गरेको हो । बैंकको गाईघाट शाखाका विश्वेश्वर नायकको उपस्थितिमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन पंचावती गा.वि.स.का सचिव खिलराज कार्कीले गरेका हुन् । सो अवसरमा बैंकको गाईघाट शाखाका प्रमुख विश्वेश्वर नायकले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि बोधकुमार घिमिरेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यम बाट कारोबार गरिन्छ ।
सहयोगी विकास बैंकले २२ प्रतिशत बोनस दिने, ३५ प्रतिशत हकप्रद पनि
काठमाडौं, ११ कात्तिक । सहयागी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभा आगामी मंसिर ११ गते हुने भएको छ । साथै, बैंकको सेयर कारोबार कात्तिक १९ गतेदेखि आगामी मंसिर ११ गतेसम्म बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी २५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३१ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
स्याङजाको चापाकोटमा कृषि विकास बैंकको आधुनिक बैकिङ कार्यालय
काठमाडौं, ११ कात्तिक । स्याङजाको चापाकोट नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा स्थापना भएको छ । सो शाखाको कात्तिक ८ गते कृषि विकास बैंककका संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । सो शाखाबाट कृषि विकास बैंकका सबै सेवा सुबिधा लिन सकिने प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले जानकारी दिए । बैंकका अध्यक्ष प्रमोद कुमार कार्कीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा अघि बढेको बताएक थिए । उदघाटन कार्यक्रममा कृषि विकास बैंक मुख्य कार्यालय काठमाडौंका विभागीय प्रमुख निर्मल प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत कार्यालयका शाखा प्रमुख हिम लाल पौडेल, क्षेत्रीय कार्यालय पोखराका शाखा प्रमुख रुद्र कुमार श्रेष्ठ, स्थानिय राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।