काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा मर्जर तथा प्राप्तिमार्फत आफ्नो व्यावसायिक आधार विस्तार गरेको एनएमबि बैंकले संस्थागत विकाससँगै विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वलाई आफ्नो सञ्चालक संरचनामा समेटेको छ । बैंकिङ, उद्यमशीलता, स्वच्छ ऊर्जा, लगानी, कानुन, जोखिम व्यवस्थापन तथा वित्तीय सुशासनमा लामो अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिताले बैंकको सञ्चालक संरचनालाई विविधतायुक्त बनाएको छ ।
एनएमबि बैंक कम्पनी ऐन, २०२१ अन्तर्गत २०५२ असोज २९ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हो । बैंकले २०५३ पुस ४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार सञ्चालनको स्वीकृति प्राप्त गरी २०५३ पुस ११ गतेदेखि कारोबार सुरु गरेको थियो । २०६५ वैशाख २४ गते बैंक ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा स्तरोन्नति भएको थियो ।
बैंकको संस्थागत तथा व्यावसायिक विस्तारमा मर्जर र प्राप्तिले महत्वपूर्ण भूमिका खेलेका छन् । क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक, पाथीभरा विकास बैंक र प्रुडेन्सियल फाइनान्स कम्पनी गाभिएपछि २०७२ कात्तिक १ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।
त्यसैगरी, ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि २०७६ असोज ११ गते र कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि २०७७ भदौ ७ गतेदेखि एनएमबि बैंककै नामबाट एकीकृत कारोबार सञ्चालन हुँदै आएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाको एकीकरणमार्फत संस्थागत आधार विस्तार गरेको बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंकको सेयर स्वामित्व संरचनामा संस्थापक सेयरधनीको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत हिस्सा रहेको छ ।
मनोजकुमार गोयल
नेपालको बैंकिङ क्षेत्रमा समस्याग्रस्त संस्थाको पुनरुत्थान, नयाँ वित्तीय संस्था स्थापना तथा व्यवस्थापनको अनुभव हासिल गरेका मनोजकुमार गोयल एनएमबि बैंकका अध्यक्ष हुन् । उनी सन् २०२४ जनवरीदेखि बैंकको अध्यक्षको जिम्मेवारीमा छन् । गोयलको व्यावसायिक यात्राको महत्वपूर्ण अध्याय बैंक अफ काठमाण्डूसँग जोडिएको छ । उनले सन् १९९८ अक्टोबरदेखि सन् २००२ नोभेम्बरसम्म उक्त बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनी नेतृत्वमा पुग्दा बैंक वित्तीय तथा सञ्चालनगत समस्याबाट गुज्रिरहेको थियो । विदेशी लगानीकर्ता बाहिरिएपछि बैंक ऋणभार र सञ्चालन घाटाको दबाबमा परेको थियो । यस्तो चुनौतीपूर्ण अवस्थामा गोयलले बैंकको व्यवस्थापन सुधार तथा पुनरुत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यही योगदानको कदर गर्दै व्यवस्थापन संघ नेपालले सन् २००१ मा उनलाई वर्षका उत्कृष्ट व्यवस्थापकको पुरस्कार प्रदान गरेको थियो ।
एनएमबि बैंकसँग गोयलको सम्बन्ध यसको प्रारम्भिक संस्थागत विकाससँगै जोडिएको छ । उनी सन् १९९७ फेब्रुअरीदेखि सन् १९९८ नोभेम्बरसम्म नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उक्त संस्था पछि स्तरोन्नति हुँदै एनएमबि बैंकका रूपमा विकास भएको हो । उनले सन् २००६ मेदेखि सन् २०१४ जनवरीसम्म क्लिन इनर्जी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरेका थिए ।
उनी सन् २००९ नोभेम्बरदेखि सन् २०१३ डिसेम्बरसम्म सीईडीबी हाइड्रो फन्डका अध्यक्ष थिए । त्यसैगरी, सन् २०१४ अप्रिलदेखि मारुती सिमेन्ट्स लिमिटेडमा आबद्ध उनी हाल उक्त कम्पनीको कार्यकारी निर्देशक छन् । यसअघि उनले सन् २००५ जनवरीदेखि सन् २००६ मार्चसम्म कृषि विकास बैंकमा वरिष्ठ परामर्शदाताका रूपमा काम गरेका थिए । गोयलले दिल्ली विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक गरेका छन् । त्यसैगरी, शिलर इन्टरनेसनल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यवसाय विषयमा व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् ।
शर्मिला सञ्जीव हार्डी प्रकाश
एफएमओको प्रतिनिधिका रूपमा एनएमबि बैंककी सञ्चालक शर्मिला सञ्जीव हार्डी प्रकाश लगानी, विकास वित्त तथा जोखिम व्यवस्थापन क्षेत्रमा तीन दशकभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकी अनुभवी लगानी व्यवसायी हुन् । पूर्वाधार, कृषि व्यवसाय, उत्पादन तथा घरजग्गालगायत विभिन्न क्षेत्रमा जटिल लगानी संरचना निर्माण, परिचालन र व्यवस्थापनमा उनको विशेषज्ञता रहेको छ । वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्ष, कर्जा जोखिम र प्रतिष्ठासम्बन्धी जोखिम न्यूनीकरणमा समेत उनको गहिरो अनुभव छ । उनले वित्तीय प्रतिफलसँगै मापनयोग्य विकास प्रभाव सुनिश्चित गर्ने लगानी अभ्यासलाई विशेष प्राथमिकता दिँदै आएकी छन् ।
उनले अन्तर्राष्ट्रिय वित्त निगममा करिब तीन दशक काम गरेकी थिइन् । उक्त संस्थामा विश्वव्यापी बैंकिङ तथा बीमा क्षेत्र प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दा उनले विभिन्न वित्तीय संस्थामा वार्षिक ६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने टोलीको नेतृत्व गरेकी थिइन् । महिला स्वामित्व तथा महिला नेतृत्वमा रहेका उद्यममा लगानी केन्द्रित विश्वव्यापी कार्यक्रम स्थापना तथा विस्तारमा समेत उनको महत्वपूर्ण भूमिका रहेको छ ।
ठाकुर जङ्ग थापा
थापा चार्टर्ड एकाउन्टेन्ट हुन् । थापा सन् २०२४ डिसेम्बरदेखि एनएमबि बैंकको सञ्चालकका रूपमा कार्यरत छन् । यसअघि उनले विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाको सञ्चालक र वैकल्पिक सञ्चालकका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । उनी सन् २०२१ अप्रिलदेखि सन् २०२५ मार्चसम्म सञ्जेन जलविद्युत् कम्पनीको सञ्चालक थिए । त्यसैगरी, सन् २०१९ जनवरीदेखि सन् २०२१ मार्चसम्म प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकका रूपमा काम गरेका थिए ।
उनी सन् २०१६ नोभेम्बरदेखि कर्मचारी सञ्चय कोषमा कार्यरत छन् । हाल प्रमुख प्रबन्धकको जिम्मेवारीमा रहेका थापाले कर्मचारी सञ्चय कोषमा आबद्ध हुनुअघि बहुराष्ट्रिय कम्पनीमा पाँच वर्षभन्दा बढी समय वित्तीय व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हालेका थिए । सन् २०११ अगस्टदेखि सन् २०१६ अप्रिलसम्म हिमालयन ब्रुअरी तथा त्रिशक्ति डिस्टिलरीमा लेखा तथा वित्त प्रमुखका रूपमा काम गरेका उनले वित्तीय प्रतिवेदन, लागत, कर तथा वित्तीय योजना व्यवस्थापनको नेतृत्व गरेका थिए । त्यसपछि सन् २०१६ अप्रिलदेखि अक्टोबरसम्म हुवावे टेक्नोलोजिज नेपालमा सहायक कम्पनीको वित्त व्यवस्थापकका रूपमा कार्यरत थिए ।
उनको व्यावसायिक यात्राको सुरुआत लेखापरीक्षण तथा परामर्श क्षेत्रबाट भएको हो । सन् २००७ मार्चदेखि सन् २०११ मेसम्म जोशी एन्ड भण्डारीमा लेखापरीक्षण प्रबन्धकका रूपमा काम गरेका उनले विभिन्न लेखापरीक्षण तथा परामर्श परियोजनामा टोलीको नेतृत्व गरेका थिए । थापाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन पूरा गरेका छन् । उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा नेपाल कमर्स क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
उत्तम भ्लोन
उत्तम भ्लोन (लामा) सन् २०२० जनवरीदेखि एनएमबि बैंकको सञ्चालकका रूपमा कार्यरत छन् । उनी सीईडीबी हाइड्रो फन्डमा सन् २०१६ फेब्रुअरीदेखि सञ्चालकका रूपमा आबद्ध छन् । त्यसैगरी, उनी एनएमबि लघुवित्तका संस्थापक अध्यक्ष हुन् । सन् २०१२ मेदेखि सन् २०२० जनवरीसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका उनले ग्रामीण तथा दुर्गम हिमाली क्षेत्रका समुदायमा वित्तीय सेवा विस्तार गर्ने अभियानको नेतृत्व गरेका थिए ।
ऊर्जा क्षेत्रमा भ्लोनको अनुभव जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनाको विकास र लगानी व्यवस्थापनसँग जोडिएको छ । उनले ८०० मेगावाटभन्दा बढी जलविद्युत् तथा २३० मेगावाटभन्दा बढी सौर्य ऊर्जा क्षमताका परियोजना पोर्टफोलियो विकासमा योगदान गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा सन् २०२० अगस्टदेखि कार्यकारी समिति सदस्यका रूपमा आबद्ध भएका उनी सन् २०२३ जुनदेखि सन् २०२६ जुनसम्म उपाध्यक्ष थिए । सन् २०२६ जुनदेखि संस्थाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
त्यसैगरी, उनी नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका ऊर्जा परिषद्का कार्यकारी सदस्यका रूपमा आबद्ध छन् । नेपाल–भारत उद्योग वाणिज्य संघको ऊर्जा तथा पूर्वाधार समितिमा समेत उनको सहभागिता रहेको छ । ऊर्जा तथा वित्तीय क्षेत्रमा प्रवेश गर्नुअघि भ्लोनले सञ्चारमाध्यम र विज्ञापन व्यवसायमा समेत अनुभव हासिल गरेका थिए । सन् २००४ जनवरीदेखि सन् २०१२ सम्म कान्तिपुर पब्लिकेसन्समा काम गरेका उनले संस्थागत प्रवद्र्धन तथा वितरणसम्बन्धी जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी, सन् २००७ जनवरीदेखि सन् २०१० फेब्रुअरीसम्म प्रिज्मा एड्भर्टाइजिङ कम्पनीमा ग्राहक सेवा तथा खाता व्यवस्थापकका रूपमा कार्यरत थिए । त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा एमबीए गरेका उनले पब्लिक युथ क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका हुन् ।
हरिश्चन्द्र सुवेदी
हरिश्चन्द्र सुवेदी वरिष्ठ अधिवक्ता हुन् । सुवेदी सन् २०२४ जनवरीदेखि एनएमबि बैंकको सञ्चालकका रूपमा कार्यरत छन् । यसअघि पनि उनले सन् २००४ देखि सन् २०२० सम्म करिब १६ वर्ष एनएमबि बैंकको सञ्चालकका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनी सन् १९९३ देखि नाभाटा लिगलमा आबद्ध छन् । हाल उक्त कानुनी संस्थामा साझेदारका रूपमा कार्यरत सुवेदीले कानुनी टोलीको नेतृत्व गर्दै विभिन्न क्षेत्रका संस्थालाई कानुनी परामर्श र प्रतिनिधित्व प्रदान गर्दै आएका छन् ।
उनी सन् २०१९ देखि एनएमबि क्यापिटलको सञ्चालकका रूपमा कार्यरत छन् । त्यसैगरी, सन् २०१७ देखि हयात सेन्ट्रिक सोआल्टीमोड काठमाडौंको सञ्चालक समितिमा आबद्ध छन् । सन् २०२६ अगस्टदेखि रिलायन्स स्पिनिङ मिल्सको सञ्चालकका रूपमा समेत कार्यरत छन् । यसअघि सन् २०१२ देखि सन् २०१७ सम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको जिम्मेवारी पनि सम्हालेका थिए । कानुनी अभ्याससँगै शिक्षण क्षेत्रमा समेत सक्रिय सुवेदी सन् १९९९ देखि त्रिभुवन विश्वविद्यालयमा व्यवसाय कानुन विषयका सहायक प्राध्यापकका रूपमा कार्यरत छन् । उनले भारतको पुणे विश्वविद्यालयबाट बैंकिङ, कर्पोरेट, वित्त तथा धितोपत्र कानुनमा कानुनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
शिरीषकुमार मुरारका
एनएमबि बैंकका सञ्चालक शिरीषकुमार मुरारका व्यावसायिक क्षेत्रमा अनुभवी व्यवसायी हुन् । उनले बेलायतको कार्डिफ विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । रणनीतिक व्यवस्थापन तथा अन्तर्राष्ट्रिय व्यवसायमा अनुभव हासिल गरेका मुरारका प्यारामाउन्ट मोटर्स प्रालिसँग आबद्ध छन् । त्यसैगरी, उनी श्री स्टिल प्रालिसँग समेत आबद्ध छन् । नवीनता तथा दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकता दिँदै आएका मुरारकाले अन्तर्राष्ट्रिय व्यावसायिक अनुभवलाई स्थानीय अवसरसँग जोडेर विभिन्न क्षेत्रमा योगदान गर्दै आएका छन् ।
बन्दना पाठक
बन्दना पाठक नेपालको बैंकिङमा करिब तीन दशकको अनुभव हासिल गरेकी अनुभवी बैंकर हुन् । पाठक सन् २०२३ जनवरीदेखि एनएमबि बैंकको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छन् । त्यसैगरी, सन् २०२६ अगस्टदेखि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सञ्चालक समितिमा समेत आबद्ध छन् ।
उनको बैंकिङ करियरको महत्वपूर्ण हिस्सा साबिक नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा बितेको छ । उक्त बैंकमा उनले करिब १९ वर्ष काम गरेकी थिइन् । सन् २०१७ जनवरीदेखि सन् २०२२ नोभेम्बरसम्म नायब प्रमुख कार्यकारी अधिकृत, प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हालेकी थिइन् । प्रमुख कार्यकारी अधिकृत अनुपस्थित रहेका विभिन्न अवसरमा उनले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।
उनको बैंकिङ यात्राको सुरुआत साबिक नेपाल बंगलादेश बैंकबाट भएको थियो । सन् १९९४ मेदेखि सन् २००३ नोभेम्बरसम्म उक्त बैंकमा कार्यरत गरेकी उनले बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि सन् १९९३ मा न्यू इरामा सहायक अनुसन्धान अधिकृतका रूपमा काम गरेकी थिइन् । उक्त अवधिमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा सञ्चालित औपचारिक क्षेत्रमा महिलाको सहभागितासम्बन्धी अध्ययन परियोजनामा साहित्य समीक्षा, तथ्याङ्क सङ्कलन तथा प्रतिवेदन तयारीमा योगदान गरेकी थिइन् । पाठकले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।