राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष सञ्चालनमा नरहेका खातामा ब्याज नदिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ६ वर्षसम्म सञ्चालनमा नरहेका खातामा ब्याज नदिने भएको छ । बैंकले एक सूचना जारी गर्दै ६ वर्ष वा सोभन्दा बढी अवधिसम्म सञ्चालनमा नरहेका कोषमा रहेका खाताहरूमा रहेको रकममा ब्याज नदिने भएको हो ।  बैंकबाट अवकाश भएर अवकाश कोषका केही हिताधिकारीहरूको कोषमा रहेका अवकाश योगदानका रकमहरू सम्बन्धित हिताधिकारीहरूका नाममा रहेका खाताहरूमा लामो समयसम्म लेना तथा देना रकम बाँकी रहेको जनाएको छ ।  कोषको कार्यकारिणी समितिको निर्णयानुसार सम्बन्धित व्यक्तिहरूलाई यथाशीघ्र कोषमा सम्पर्क राखी आफ्नो रकम राफसाफ गर्ने अनुरोध गरेको हो । यसरी लामो समय (६ वर्ष वा सोभन्दा बढी समय) सम्म सञ्चालनमा नरहेका खातामा रहेका रकममा ब्याज प्रदान नगरिने निर्णय भएको बैंकले जनाएको छ ।  कोष वा नजिकमा रहेको बैंकको शाखा कार्यालयमा सम्पर्क राखी थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।

प्रभु बैंकबाट एकैपटक ११ जना संस्थापक बाहिरिदैँ

काठमाडौं । प्रभु बैंकबाट एकैपटक ११ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर ११ जना संस्थपक सेयरधनी बाहिरिन लागेका हुन् ।  बैंकका अनुसार खिम बहादुर गुरुङले आफ्नो नाममा रहेको १० हजार २५६ कित्ता, निमानन्द खनालले ४५ हजार ६५९ कित्ता, इन्दिरा ढकालले ४७ हजार ८६ कित्ता, कृष्ण प्रसाद नेपाल उपाध्यायले १२ हजार कित्ता, किरण भक्ता श्रेष्ठले १ लाख ६० हजार ३७० कित्ता, अनिल भक्ता श्रेष्ठले १ लाख ७१ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस्तै, सुनिल भक्त श्रेष्ठले २ लाख ६२ हजार २०६ कित्ता, दिनेश भक्त श्रेष्ठले लाख ५९ हजार १८१ कित्ता, सन्ध्या थापा क्षेत्रीले १६ हजार ८८ कित्ता, चांद शमशेर जबराले ९१ हजार २४७ कित्ता र किशोर कुमार महर्जनले २ लाख ५९ हजार ५९७ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र खरिद नगरेमा अन्य सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

नेपाल प्रहरीलाई एनएमबि बैंकको उद्दार सामग्री

काठमाडौं । मनसुनको मौसममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एउटा १६ फिटको सेल्फ(बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू र अन्य विपद् उद्दार सामग्रीहरू हस्तान्तरण गरेको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई औपचारिक रूपमा ती उद्दार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन् । मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्‍याउँदै आइरहेको छ ।  यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।