एनआईसी एशिया बैंक एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध
काठमाडौं । एनआईसी एशिया बैंक र नेशनल क्लीयरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम 'नेपालपे कार्ड' को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डको इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इंटिग्रेट गर्न आग्रह गरेको थियो । यसका लागि एनआईसी एशिया बैंक समेत एनपीएस–एनसीएस र नेपालपे कार्डमा आबद्ध भएको छ । नेपालपे पूर्वाधारको कमर्शियल रोलआउट पश्चात् बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड इस्यू तथा अक्वायर गर्न सक्षम हुनेछन् । एनपीएस–एनसीएस प्रणाली विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ्ग र सेटलमेन्टका लागि सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना भइरहेको छ । प्रणालीको पूर्ण कार्यान्वयनसँगै डोमेस्टिक कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश पारित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैँयाको ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैंया बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैँया नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।