गभर्नरले डेपुटी गभर्नर सिफारिस गर्न तयार पारेको ‘लिस्ट होल्ड’
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नियुक्ति नयाँ सरकार गठन भएपछि मात्रै हुने भएको छ । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताहरूले अन्तरिम सरकारले दीर्घकालीन प्रभाव पार्ने ठूला नीतिगत निर्णयसँगै नियुक्ति तथा बढुवाका निर्णय नगर्न आग्रह गरेपछि तत्कालका लागि डेपुटी गभर्नरको नियुक्ति पनि रोकिएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार वर्तमान अर्थमन्त्री रामेश्वर खनालले रिक्त रहेका डेपुटी गभर्नरको नियुक्तिका लागि गभर्नर डा.विश्वनाथ पौडेलसँगै अर्थसचिवसँग पनि छलफल गरेका थिए । छलफलपछि नयाँ आउने सरकार शक्तिशाली भएकोले तत्कालका लागि डेपुटी गभर्नरको नियुक्ति रोक्दा नै राम्रो सन्देश जान सक्ने भन्दै अर्थमन्त्रीले सो प्रक्रिया अगाडि नबढाउने सोच बनाएका हुन् । ‘रास्वपाका एक नेताबाट सचिवज्यूलाई नै फोन गरेर दीर्घकालीन प्रभाव राख्ने र कुनै पनि संस्थामा नयाँ व्यक्ति नियुक्ति नगर्नु भनेर आग्रह आयो, वर्तमान सरकारले पनि तत्काल डेपुटी गभर्नर नियुक्ति नगर्ने कि भन्ने कुरा भएको छ,’ अर्थमन्त्रालयको एक उच्च स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल सकाएर आइतबार बिदा भइसकेका छन् । दुवै डेपुटी गभर्नरले विकासन्युजसँग कुरा गर्दै आइतबारदेखि राष्ट्र बैंकबाट बिदा भएको जानकारी गराए । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अर्थमन्त्री समक्ष डेपुटी गभर्नरको नाम सिफारिसको लागि तयारी गरिरहेका थिए । अर्थमन्त्रीसँग छलफलपछि उनले डेपुटी गभर्नरका लागि तयार पारेको कार्यकारी निर्देशकहरुको सूची होल्ड गरेको बुझिएको छ । नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी (कार्यकारी निर्देशक–ईडी) स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् । ऐनअनुसार गभर्नरले ती कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम डेपुटी गभर्नर पदका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ । गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट सरकारले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले पनि अहिलेको राजनीतिक परिवेशले डेपुटी गभर्नर नियुक्ति प्रक्रियालाई प्रभावित पार्न सक्ने बतायो । उनले वर्तमान सरकारले डेपुटी गभर्नर नियुक्त नगरेकै राम्रो हुने धारणा राखे । ‘निर्वाचन सम्पन्न भएर कुन पार्टीले सरकार बनाउँछ भन्ने कुरा प्रष्ट भइसकेको छ, बहुमतसहितको शक्तिशाली सरकार आउँदैछ, त्यसैले राष्ट्र बैंकजस्तो संस्थामा अन्तरिम सरकारभन्दा पनि अब आउने सरकारले डेपुटी गभर्नरको नियुक्ति गर्दा राम्रो सन्देश जान्छ,’ ती कार्यकारी निर्देशकले भने । राष्ट्र बैंक ऐनअनुसार गभर्नरले डेपुटी गभर्नरका लागि नाम सिफारिस गर्दा एकल अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ । ‘विगतको अभ्यास हेर्दा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया कहिलेकाहीँ साढे दुई महिनासम्म लम्बिएको उदाहरण पनि छ । यदि नयाँ सरकारले नियुक्ति गर्ने अवस्था आयो भने एकल बहुमतको सरकारले छिट्टै निर्णय गर्न सक्ने सम्भावना पनि देखिन्छ,’ स्रोतले भन्यो, ‘यस्तो अवस्थामा हालको सरकारले नियुक्ति प्रक्रिया रोकिने सम्भावना पनि रहेको छ ।’ अर्थमन्त्री रामेश्वर खनालले डेपुटी गभर्नर नियुक्ति प्रक्रिया रिक्त भएपछि प्रक्रिया अगाडि बढ्ने बताएका छन् । आइतबार विकासन्युजसँग कुरा गर्दै उनले भने, ‘डेपुटी गभर्नरको नियुक्ति सरकारले गर्ने हो र तर कुन सरकारले गर्ने भन्ने कुरा परिस्थितिमा भर पर्छ । अहिले नै यसबारे भन्न सकिँदैन । गभर्नरले सिफारिस गरिसकेपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने हो ।’ राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले पनि कानुनले नरोके पनि व्यवहारिक रूपमा मिलाउनका लागि आउने सरकारले नै डेपुटी गभर्नरको नियुक्ति गर्दा राम्रो हुने बताए । ‘निर्वाचन सम्पन्न भइसकेको छ, अहिलेको सरकार ‘केयर टेकर’ मात्रै हो । प्रक्रिया अगाडि बढाउन कानुनले नरोके पनि व्यवहारिक रुपमा आउने सरकारलाई नै छोड्दा राम्रो हुन्छ, गरिहाले पनि अब नेतृत्व गर्ने पार्टीका नेताहरूसँग समन्वय गरेर नियुक्ति हुन्छ,’ उनले भने । उनका अनुसार डेपुटी गभर्नरका लागि सिफारिस गर्ने अधिकार नितान्त गभर्नरको रहेकोले यस विषयमा उनले सञ्चालक समिति र राष्ट्र बैंकभित्रका सरोकारवालाहरूसँग छलफल नभएको जानकारी दिए ।
ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहक खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन २०५८’ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो । ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप ‘एनआईसी एशिया मो–बैंक’मा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरेर आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै नजिकको बैंक शाखाबाट समेत आवेदन दिई प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई–टिडिएस रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुने जनाएको छ । प्यान अद्यावधिक भएपछि ग्राहकको कर कट्टी विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीमार्फत करसम्बन्धी विवरण मिलान हुने बैंकको भनाइ छ । त्यस्तै बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’मा रहेको ‘चेन्ज इमेल’ विकल्पमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । आवश्यक परे नजिकको बैंक शाखामा गई पनि इमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । यसअघि प्यान वा इमेल अद्यावधिक नगरेका ग्राहकले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जनाएको छ ।
यस्तो छ सोमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४० रुपैयाँ २४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८० रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।