महालक्ष्मी विकास बैंकद्वारा ‘क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी क्यालेन्डर २०८३' को डिजिटल संस्करण सार्वजनिक गरेको छ । बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आइतबार आयोजित एक कार्यक्रमबीच डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको हो । परम्परागत रूपमा प्रकाशन हुँदै आएको क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्ने उद्देश्यले डिजिटल संस्करण ल्याइएको बैंकले जनाएको छ । डिजिटल क्यालेन्डरमा महत्वपूर्ण चाडपर्व, तिथि, सार्वजनिक बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत र अंग्रेजी संवतका मितिसम्बन्धी सम्पूर्ण विवरण समावेश गरिएको छ । बैंकका अनुसार नयाँ डिजिटल संस्करण प्रयोगकर्ताका लागि सहज र उपयोगी हुने विश्वास लिइएको छ । यसले नेपाली संस्कृतिको संरक्षण, संवर्द्धन तथा निरन्तरतामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । ‘महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३’ क्यूआर कोड स्क्यान गरी हेर्न वा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । 'सबल बैंक, सफल सहकार्य' नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकका हाल देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब आठ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।     

दि निलय होटल्सको साधारण सभा सम्पन्न, आईपीओ प्रक्रियामा जाने निर्णय

काठमाडौं । दि निलय होटल्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा आइतबार धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको छ ।  सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । यसैगरी उक्त सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।  सभाले कम्पनीको भावी विस्तार तथा दीर्घकालीन विकासलाई लक्षित गर्दै शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन सम्बन्धी प्रक्रिया अघि बढाउने, आवश्यक पूँजी संकलन, ऋण व्यवस्थापन तथा रणनीतिक साझेदारी गर्ने, अन्य कम्पनीहरूसँग संयुक्त लगानी, सहकार्य वा आवश्यकता अनुसार मर्जर तथा अधिग्रहण गर्न सक्ने जस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।  सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको स्थापना, हालसम्मको प्रगति, वित्तीय अवस्था तथा आगामी रणनीतिक योजनाबारे विस्तृत प्रस्तुति दिएका थिए । अध्यक्षले होटल्स निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको जानकारी दिँदै छिट्टै सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताए । साथै, कम्पनीले चारतारे स्तरको वर्गीकरण प्राप्त गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार विकास गरिरहेको जानकारी पनि दिइएको छ ।  पर्यटन क्षेत्रप्रति प्रतिबद्ध दि निलय होटल्स लिमिटेडले उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पुनः दोर्होयाएको छ ।   

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।  दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।  निक्षेप चुलिँदा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आईतवार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख ६ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।  बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।