बैंकिङ क्षेत्रमा सर्वाधिक आयकर तिर्ने नबिल बैंक नवौँ पटक सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवसका अवसरमा बैंक नवौँ पटक सम्मानित भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा नबिल बैंकले करिब ३ अर्ब रुपैयाँ आयकर दाखिला गरेको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए । उक्त सम्मान बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले ग्रहण गरेका हुन् ।

सम्मान ग्रहणपछि अध्यक्ष चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए । उनले सम्मानले बैंकका कर्मचारीको योगदान र ग्राहकले बैंकप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे ।

उनले करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई बैंकले गम्भीरतापूर्वक लिएको बताउँदै उत्कृष्ट सेवा, जिम्मेवार व्यावसायिक अभ्यास र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका अनुसार कर दाखिलामा गरेको योगदान व्यावसायिक सफलतासँगै राष्ट्रको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीको प्रतिबिम्ब हो । बैंकले पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको आधार मान्दै आएको जनाएको छ ।

नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

चार दशकभन्दा लामो बैंकिङ यात्रा पूरा गरेको नबिल बैंकले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै बैंकले डिजिटल सेवाको विस्तारका लागि एनबैंकसमेत सञ्चालनमा ल्याएको छ ।

हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले ग्राहक, कर्मचारी तथा सरोकारवालासँगको सहकार्यमा आर्थिक अवसर विस्तार र मुलुकको समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

Share News