ट्याप सेन्डबाट नेपालमा पैसा पठाउन सकिने, माछापुच्छ्रे बैंकसँग सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै दुवै संस्थाले औपचारिक रूपमा विप्रेषण कारोबार सुरु गरेका छन् ।

सम्झौताअनुसार विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्याप सेन्डको मोबाइल एप प्रयोग गरी सहजै नेपालमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै रेमिट्यान्स सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानी लिन सकिनेछ । साथै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

त्यसैगरी, नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले पठाइएको रकम नगदमा प्राप्त गर्न सक्नेछन् । यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज, सरल र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार विप्रेषण नेपाली घरपरिवारको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण माध्यम बन्दै आएको छ । विप्रेषणबाट प्राप्त रकमले परिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्योपचार तथा आवास व्यवस्थापनमा सहयोग पुर्याउँदै आएको छ । यसले बचत तथा लगानीको क्षमता बढाउनुका साथै आर्थिक सुरक्षा र आत्मनिर्भरता अभिवृद्धिमा समेत योगदान दिएको छ ।

माछापुच्छ्रे बैंकले सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड पालना गर्दै आएको जनाएको छ ।

बैंकले पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा तथा ११ एक्सटेन्सन काउन्टरसहित २५५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । बैंकका १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

Share News