रसुवाको बाढी-पहिरोले अटोमोबाइल आयात प्रभावित, पीडितप्रति सहयोग गर्न नाडाको आग्रह

काठमाडौं । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह परिस्थितिमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गहिरो चिन्ता व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेको छ । संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण केवल जनधनको क्षति नभई मुलुकको प्रमुख व्यापारिक नाका-केरुङ-रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा पनि ठूलो असर परेको जनाएको छ । निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको प्रारम्भिक जानकारी आएको संघले उल्लेख गरेको छ । नाडाले संकटका यस घडीमा आफ्नो घर, व्यवसाय र जीवन गुमाएका सम्पूर्ण प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गर्दै अटोमोबाइल व्यवसायसँग सम्बन्धित सबै सदस्यलाई संयमित र सहयोगी रहन आग्रह गरेको छ । संघले अटोमोबाइल क्षेत्रले जस्तै अन्य क्षेत्रमा पनि असर परेको र संकट समाधानका लागि एकआपसमा सहयोगको भावना जरुरी भएको जनाएको छ । 'यदि यस्ता विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने, जानकारी गराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'संकटको यस घडीमा हामी सबै मिलेर करुणा, ऐक्यबद्धता र सहयोगका साथ अगाडि बढ्न जरुरी छ ।'

टीभीएसको नयाँ जुपिटर नेपाली बजारमा, मूल्य २ लाख ५८ हजार

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस जुपिटरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । साेमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नयाँ जुपिटर सार्वजनिक गरिएको हो । नयाँ जुपिटरको मूल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार लन्चिङ अवसरमा जुलाई महिनाभर शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुनेछ । टीभीएस जुपिटर पहिलेदेखि नै नेपाली बजारमा लोकप्रिय थियो । तर यसपटक परिमार्जित इन्जिन, थप सेफ्टी फिचर र अत्याधुनिक प्रविधिहरूका कारण नयाँ जुपिटरलाई थप आकर्षक बनाइएको कम्पनीको दाबी छ । नयाँ जुपिटरमा ११३ सीसी क्षमताको इन्जिन छ, जसले ८ बीएचपी पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ । सीभीटी गियरबक्ससहितको यो स्कुटरलाई हलुका बनाउन विभिन्न हल्का मेटेरियल र पोलिमर प्रयोग गरिएको छ । फिचरका हिसाबले नयाँ जुपिटरमा बेस्ट–इन–क्लास सुविधाहरू जस्तै युएसबी मोबाइल चार्जिङ, साइलेन्ट स्टार्ट, फ्रन्ट २ लिटर ग्लोभबक्स, फाइन्ड माई भेइकल, भ्वाइस असिस्ट, ई–जेड सेन्टर स्ट्यान्ड, मेटल म्याक्स बडी, एलईडी हेडल्याम्प, कल अलर्ट, नेभिगेसन, एसबीटी सहितको डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छन् । त्यस्तै, फर्स्ट–इन–क्लास सुविधाका रूपमा डलब हेल्मेट स्पेस, आईजीओ असिस्ट, डिस्टेन्स टु एम्प्टी, हाजार्ड ल्याम्प्स, इमर्जेन्सी ब्रेक वार्निङ, फुल्ली डिजिटल कन्सोल, फ्रन्ट फ्युल फिल, एभरेज फ्युल इकोनोमी, इन्फिनिटी ल्याम्प्स, फलो मी हेडल्याम्प, रियल टाइम फ्युल इकोनोमी, बडी ब्यालेन्स टेक्नोलोजी, पियानो ब्ल्याक फिनिस र सबैभन्दा लामो सिटजस्ता विशेषता राखिएको कम्पनीले जनाएको छ । पहिलेको मोडलको तुलनामा यसमा अपडेटेड इन्जिन, नयाँ डिजाइन, थप सेफ्टी फिचर र नयाँ कलर अप्सन समेत उपलब्ध छन् । साथै ३३ लिटरको बुट स्पेस, फोन कनेक्टिभिटी, नेभिगेसन, भ्वाइस कमान्ड र युएसबी चार्जरले ग्राहकको अनुभवलाई अझ सहज र स्मार्ट बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो स्कुटर नेपाली बजारका लागि विशेष रूपमा तयार पारिएको बताए । उनले भने, 'भारतमा चल्ने जुपिटर र नेपालमा ल्याइएको जुपिटरमा धेरै भिन्नता छ । नेपाली उपभोक्ताको आवश्यकता र यहाँको सडक सुहाउँदो बनाउन यसलाई २५ हजार किलोमिटरभन्दा बढी परीक्षण गरिएको छ ।' उनले शंकर ग्रुप र टीभीएसको १० वर्षे सफल सहयात्राले ग्राहकको विश्वास जितेको बताए । यस्तै, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक मिश्रले नेपालको बढ्दो सहरी चाप र महँगो पेट्रोलको मूल्यलाई ध्यानमा राख्दै नयाँ टीभीएस ज्यूपिटर ११० स्कुटर बजारमा ल्याइएको बताए । उनले यो स्कुटर विशेषगरी मध्यवर्गीय परिवार, विद्यार्थी, महिला र कामकाजी व्यक्तिहरूको दैनिक यात्रालाई सहज र किफायती बनाउन डिजाइन गरिएकोमा जोड दिए ।  उनले भने, 'नेपालका सहरहरू दिनप्रतिदिन जामयुक्त हुँदैछन् । यस्तो अवस्थामा मध्यवर्गीय परिवार, विद्यार्थी, महिला र अफिस जानेहरूका लागि सस्तो, सहज र भरपर्दो सवारीको आवश्यकता बढेको छ ।'  उनले स्कुटर बजारमा ४२ प्रतिशतको वृद्धि भएको तथ्याङ्क प्रस्तुत गर्दै ११० देखि १२५ सीसी सेग्मेन्टको माग उच्च रहेको बताए ।   मिश्रले भने, 'हाम्रा १५० भन्दा बढी डिलर, ३०० भन्दा बढी सर्भिस सेन्टर र ४ हजारभन्दा बढी स्थानीय ग्यारेजसँगको सहकार्यले गर्दा ग्राहकले छिटो, भरपर्दो र सस्तो मूल्यमा मर्मत-सम्भार सेवा पाउनेछन् ।' उनले स्कुटरका पार्टपुर्जाहरू सजिलै र सस्तोमा उपलब्ध हुने कुरामा समेत विश्वस्त पारे । उनले टीभीएस जुपिटर नेपाली ग्राहकका लागि एक विश्वसनीय, स्टाइलिश र स्मार्ट स्कुटर साबित हुने विश्वास व्यक्त गरे । त्यस्तै, भारतका प्रतिनिधि अश्विन श्रीनिवासनले हरेक टीभीएस उत्पादन उपभोक्तालाई केन्द्रमा राखेर बनाइने र जुपिटरले नेपाली ग्राहकहरूको मन जित्नेमा विश्वस्त रहेको बताए । कार्यक्रममा ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्का र प्रदीप खड्काले टीभीएससँगको ५ वर्ष लामो सहकार्यप्रति गर्व महसुस भएको बताए । उनीहरूले टीभीएसले ग्राहकसँग बलियो सम्बन्ध बनाएको र जुपिटरले नेपाली बजारमा नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरे । नयाँ जुपिटर पहिलेभन्दा बढी पावर, स्टाइल, माइलेज र कम्फर्टका साथ नेपाली बजारमा आएको कम्पनीले जनाएको छ ।

सार्वजनिक हुँदै एथर एनर्जीको नयाँ स्कुटर ‘रिज्टा’, नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शन गर्ने

काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड एथर एनर्जीले पारिवारिक उपयोगका लागि डिजाइन गरिएको नयाँ स्मार्ट स्कुटर ‘एथर रिज्टा’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट ६ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्स्पो २०२५ मा रिज्टाको पहिलो सार्वजनिक प्रदर्शन गर्ने तयारी गरेको हो । भारतीय बजारमा १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको सफल मोडललाई नेपाली सडकमाझ अनुकूल बनाएर ल्याउन लागिएको कम्पनीले जनाएको छ । रिज्टामा १५९ किलोमिटरको दाबी गरिएको रेन्ज, ३४ लिटरको स्टोरेज क्षमता, ४.३ किलोवाटको शक्तिशाली मोटर, लामो सिट, डिस्क ब्रेक, स्किड कन्ट्रोल र ७ इन्च टचस्क्रिनसहितका स्मार्ट कनेक्टिभिटी सुविधा रहेको छ । नेपाली परिवार र ग्रामीण क्षेत्रका यात्रालाई लक्षित गरी रिज्टालाई थप सुरक्षित र व्यावहारिक बनाइएको कम्पनीको दाबी छ । रिज्टाको बुकिङ चाँडै खुल्ने र यसै वर्षभित्र नेपालभर उपलब्ध हुने अपेक्षा गरिएको छ । एथर एनर्जीका नेपालस्थित पार्टनर वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सुवांश वैद्यले भने, 'भारतमा अत्यधिक सफल यो मोडललाई नेपाल ल्याउन पाउँदा उत्साहित छौं । रिज्टाले नेपाली विद्युतीय सवारी भविष्यमा नयाँ सम्भावना थप्नेछ ।' हालसम्म काठमाडौं, पोखरा, बुटवल, इटहरीलगायत ८ वटा एक्स्पेरिएन्स सेन्टर र २१ वटा फास्ट चार्जिङ ग्रिड स्थापना गरिसकेको एथरले रिज्टासँगै आफ्नो बजार विस्तारलाई थप तीव्र बनाउने योजना सार्वजनिक गरेको छ ।