कियाको विद्युतीय गाडी बुकिङ गरेकाले लकडाउन खुले लगत्तै चलाउन पाउने
काठमाडौं । नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको हाे । उक्त गाडीको कन्साइनमेन्ट (खेप) कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको छ । लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकोले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको हो । एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ । डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा यही पर्नेछ । निरो सन् २०१९ को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री सुरु गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको हो ।
लकडाउनको समयमा बेनेलीले ल्यायो यस्तो अफर
काठमाडौं । लकडाउनको समयमा बेनेलीले बाइक खरिदकर्तालाई लक्षित गरी नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत तीन प्रकारका अप्सन रहेको छ । जसमध्ये बेनेली बाइक खरिदकर्ताले एउटा मात्र छान्नु पर्ने छ । पहिलो अप्सन अन्तर्गत बाइक खरिदकर्ताले ८ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् । त्यस्तै, दोश्रो अन्तर्गत ज्याकेट, हेलमेट, ग्लोभ्स लगायतका बेनेली सेफ्टी गियर रहेको छ । त्यसैगरी, तेश्रो अप्सन अन्तर्गत इन्जिन आयल र आयल फिल्टर समेत गरी १ वर्षको फ्री सर्भिसिङ प्राप्त गर्न सक्ने छन् । यो अफर एक महिनाको लागि लागू हुने छ । यस बारेमा थप जानकारी लिनका लागि ९८०१२३३०२५ मा सम्पर्क गर्न वा बेनेलीको वेबसाइटमा लगइन गर्न सकिने छ ।
सुजुकीद्धारा आपतकालीन सवारीसाधन सेवा सुरु
काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुरु गरेको छ । कम्पनीले नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना गर्दै सेवा सुचारु गरेको हो । ‘यो संकटको समयमा आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडीहरु विना समस्या चल्न दिनु हाम्रो जिम्मेबारी हो । यसका लागि हाम्रोे प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षा प्रोटोकलको पालना गरेर तत्पर अवस्थामा छ,’ सीजी मोटोकर्प भन्छ । धोबीघाटस्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा एक्सप्रेस सर्भिस सुरु गरेको हो । साथै, कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनि जतिसक्दो चाँडो यो सेवा सुरु गर्ने सीजीले जनाएको छ । कम्पनीले सुजुकी गाडीसम्बन्धी कुनैपनि जिज्ञासाको जवाफ दिन कम्पनीले सर्भिस हटलाइन नम्बर ९८०१५७१५७१ समेत संचालनमा ल्याएको छ । कम्पनीले देशभर रहेका ३९ वटा सर्भिस सेन्टरमार्फत सुजुकीका ग्राहकलाई निरन्तर सम्पर्क गर्नुका साथै कुनैपनि समयमा उपलब्ध हुने प्रबन्ध मिलाइएको र ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।