टाटा मोटर्सको एक्सचेन्ज क्याम्प सुरु, नगद छुटदेखि फास्ट चार्जिङसम्म सुविधा
काठमाडौं । टाटा मोटर्सले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जेठ १ देखि ३ गतेसम्म उक्त क्याम्प आयोजना गर्ने जनाएको छ । ग्राहकलाई आधुनिक, सुरक्षित तथा विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको क्याम्पमा विभिन्न आकर्षक सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । क्याम्पअन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा पाउनेछन् । यस क्याम्पमा टाटा मोटर्सका लोकप्रिय विद्युतीय तथा आईसीई (इन्धन) सेगमेन्टका विभिन्न मोडलहरू उपलब्ध हुनेछन् । ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रालि.मार्फत प्रदान गरिनेछ । कम्पनीले देशभर रहेका टाटा मोटर्सका शोरुममा पुगेर यस अवसरको लाभ लिन ग्राहकहरूलाई आग्रह गरेको छ ।
४९ लाख ९९ हजार रुपैयाँमा सुजुकी ई-भिटारा पाइने, देशभर डेलिभरी सुरु
काठमाडौं । सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई-भिटाराको औपचारिक डेलिभरी सुरु गरेको छ । कम्पनीले यो मोडललाई सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारीका रूपमा नेपाली बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार विश्वसनीय जापानी इन्जिनियरिङ, अत्याधुनिक विद्युतीय सवारी प्रविधि, उच्च सुरक्षा सुविधा तथा दैनिक प्रयोगका लागि व्यावहारिक डिजाइनका कारण ई–भिटाराले सार्वजनिक भएलगत्तै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । हाल बुकिङ गरिएका सवारीहरू सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत ग्राहकलाई हस्तान्तरण भइरहेको कम्पनीले जनाएको छ । लन्च अफरअन्तर्गत कम्पनीले ई–भिटाराको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो विशेष मूल्य पहिलो १०० बुकिङका लागि मात्र लागू हुने बताइएको छ । नेपालभर रहेका २५ आधिकारिक बिक्री केन्द्र र ४० सेवा केन्द्रमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । प्रशिक्षित प्राविधिक, सहज स्पेयर पार्ट्स उपलब्धता तथा विद्युतीय सवारी सेवा पूर्वाधारले दीर्घकालीन रूपमा कम लागत र विश्वसनीय स्वामित्व अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ । ई–भिटारा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ । यी संस्करणले क्रमशः १०८ किलोवाट र १२८ किलोवाटसम्म शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो आफ्नो मूल्य वर्गमा सबैभन्दा शक्तिशाली विद्युतीय एसयूभीमध्ये एक हो । यसमा १०.१ इन्चको डिजिटल डिस्प्ले, १०.२५ इन्चको बहु–सूचना डिस्प्ले, ‘इन्फिनिटी बाइ हार्मन’ ध्वनि प्रणाली, वायरलेस कनेक्टिभिटी, स्थिर काँचयुक्त सनरुफ, हावायुक्त सिट तथा बहुरङ्गी वातावरणीय प्रकाशजस्ता प्रिमियम सुविधा उपलब्ध छन् । साथै, इको, नर्मल र स्पोर्ट्स ड्राइभिङ मोडसँगै ‘स्नो टेरेन मोड’ र पुनःऊर्जा उत्पादन गर्ने ब्रेकिङ सुविधा पनि समावेश गरिएको छ । कम्पनीले ई–भिटाराले ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने जनाएको छ ।
दक्षिण अफ्रिकामा डोङफेङको सस्तो इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ सार्वजनिक
काठमाडौं । डोङफेङ मोटर करपोरेसनले दक्षिण अफ्रिकाको बजारमा नयाँ पूर्ण इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो दक्षिण अफ्रिकामा हालसम्म उपलब्ध सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी हो । चिनियाँ अटो निर्माता डोङफेङको यो मोडल केही अन्तर्राष्ट्रिय बजारमा ‘भिगो’ नामले परिचित छ । कम्पनीले यसअघि ‘बक्स’ ह्याचब्याक र ‘००७’ प्रिमियम सेडान सार्वजनिक गरिसकेको छ भने नामी भिगो ब्रान्डको तेस्रो मोडल हो । यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवै भेरियन्टमा १२० किलोवाट क्षमताको फ्रन्ट–माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क दिइएको छ । यसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्‍यान्ड तोकिएको छ, जुन दक्षिण अफ्रिकामा उपलब्ध गिली इ५ ईएक्स५ भन्दा करिब २ लाख र्‍यान्ड कम रहेको बताइएको छ । नामी भिगोको आधारभूत भेरियन्टमा ४४.९४ किलोवाट प्रतिघण्टा क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री उपलब्ध छ । चिनियाँ परीक्षण मापदण्डअनुसार यसले एकपटकको चार्जमा ४०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ भने डब्लूएलटीपी मापदण्डअनुसार करिब ३०० किलोमिटर रेन्ज उपलब्ध हुनेछ । यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने बताइएको छ । उच्च स्पेसिफिकेसन भएको अर्को भेरियन्टको मूल्य ५ लाख ७९ हजार र्‍यान्ड तोकिएको छ । यसमा ५१.८७ किलोवाट प्रतिघण्टा क्षमताको ठूलो ब्याट्री उपलब्ध छ, जसले ४७१ किलोमिटर (सीएलटीसी) वा करिब ३५० किलोमिटर (डब्लूएलटीपी) रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १८ मिनेट मात्र लाग्ने बताइएको छ । एसयूभीमा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६–स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस फोन चार्जर, रियर–भ्यु क्यामेरा, पार्किङ सेन्सर तथा कर्टेन एयरब्यागसहित ६ वटा एयरब्यागजस्ता सुरक्षा तथा प्रविधिमैत्री सुविधा उपलब्ध छन् । साथै, अटोमेटिक एयर कन्डिसनिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेदरेट सिट, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, ट्र्याक्सन कन्ट्रोल तथा ५०० लिटर बुट स्पेससमेत रहेको छ । नामी भिगो कालो, सेतो, सिल्भर, सुन्तला र हरियो गरी पाँच रंगमा उपलब्ध हुनेछ । डोङफेङ चीनका चार ठूला सरकारी स्वामित्वका अटो कम्पनीमध्ये एक हो । कम्पनीले हालै निसान माेटर करपोरेसनसँग संयुक्त साझेदारी विस्तार गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको विश्वसनीयता अझ बलियो बन्ने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र वातावरणमैत्री यातायातप्रति बढ्दो आकर्षणका कारण दक्षिण अफ्रिकासहित विश्वभर विद्युतीय सवारीसाधनको माग बढिरहेको छ । यस्तो अवस्थामा कम मूल्यमा उपलब्ध डोङफेङ नामी भिगो दक्षिण अफ्रिकाको ईभी बजारका लागि बजेटमैत्री विकल्प बन्न सक्ने विश्लेषण गरिएको छ ।