मोटरहेड ब्रान्डको मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि, विभिन्न छुट पाइने

काठमाडौं । मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि उपलब्ध हुने भएको छ । मोटरहेड ब्रान्ड आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले पहुँच र सेवा विस्तारका लागि बालाजुमा शाखा खोलेको हो । उक्त शाखामा बाइक र पार्ट्स बिक्री, स्पेयर र सर्भिसिङको पनि सुविधा प्रधान गरिएको छ । अत्याधुनिक प्रविधिसहित सभिर्सिङका लागि कुशल जनशक्ति पनि परिचालन गरिएको प्रालिले जानकारी दिएको छ । अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको एसएलआर टेक्नोले ललितपुर र भक्तपुरपछि ग्राहकको सहजताका लागि यो तेस्रो शाखा खोलेको जनाएको छ। हाल यस ब्रान्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क, चाबहिल र भक्तपुर गरी पाँच ठाउँमा छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगन्ज, सुर्खेत, इटहरी, वीरगन्जमा रहेको छ । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारीक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सञ्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने बताएको छ । कम्पनीले आफ्नो बालाजुस्थित शाखा उद्घाटनमा विशेष अफरस्वरूप स्पेयर पार्ट्समा १० प्रतिशत, मजदुर ज्यालामा ५० प्रतिशत छुट तथा निःशुल्क बाइक वासिङ तथा बाइक खरिद गर्दा १५ हजार छुटको व्यवस्था गरेको छ।

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै, अधिकृत विक्रेतामा मोटर्स प्राइभेट नियुक्त

काठमाडौं । साँग्रिला मोटर्स प्रा.लि. ले सन् २०२१ मा सिट्रोन एसयूभी नेपाली बजारमा ल्याउँदै छ । सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरुमध्ये साँग्रिला मोटर्सले  सिट्रोन एसयूभी बजारमा ल्याउने भएकाे हाे । ग्रुप पीएसए, फ्रान्सले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धी सम्झौतामा साँग्रिला मोटर्स प्रा.लि. का निर्देशक हेमन्त गोल्छा र ग्रुप पीएसएको उपाध्यक्ष अर्नाउड डचेमिनले हस्ताक्षर गरेका हुन् । सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ । सिट्रोन ब्राण्ड अन्तरगर्त विभिन्न प्रकारका सवारी साधनहरुमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी-भ्यान र एसयू भी बहु चर्चित छन् ।

जापानले सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले गत अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ मुलुकको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गर्नु भएको थियो । प्रधानमन्त्री सुगाले आफ्नो नीति सार्वजनिक गरेलगत्तै ठूला कम्पनीहरुले कार्बन उत्सर्जनलाई नियन्त्रणमा ल्याउने योजनाको मस्यौदा निर्माण गर्न दबाब सिर्जना भएको थियो । जापानको उक्त कदमको वातावरण अभियन्ता र राष्ट्रसंघले स्वागत गरेका छन् । जापान अहिले पनि जैविक इन्धनमा ठूलो मात्रामा निर्भर रहेको छ । सरकारले भने जैविक इन्धनको विकल्पमा के कस्ता इन्धन प्रयोगमा ल्याइनेछ भन्ने विस्तृत कार्ययोजना सार्वजनिक गरिसकेको छैन । सरकारले सन् २०३० सम्ममा अति न्यून कार्बन उत्सर्जन गर्ने कार (विद्युतीय र हाइब्रिड) को बिक्रीलाई ५०-७० प्रतिशत पुर्याउने लक्ष राखेको छ । सन् २०१९ मा न्यून कार्बन उत्सर्जन गर्ने कारको बिक्री ४० प्रतिशतको हाराहारीमा पुगेको छ । गत सेप्टेम्बरमा अमेरिकी राज्य क्यालिफोर्नियाले सन् २०३० सम्ममा आफ्नो राज्यमा बिक्री गरिने कार शून्य-उत्सर्जनयुक्त हुनुपर्ने घोषणा गरेको थियो । यसैबीच बेलायतले अझ महत्वाकाँक्षी योजना अघि बढाएको छ । सन् २०३० सम्ममा बेलायतमा सबै प्रकारका पेट्रोल र डिजेल संचालित कारमाथि प्रतिबन्ध लगाउने बेलायत सरकारले घोषणा गरेको छ । रासस-एएफपी