मंसिर २२ गतेदेखि सरकारविरुद्ध आन्दोलन गर्दै नाडा, सीडी रेसियो पुनरावलोकनदेखि आयात खोल्नसम्मको माग

काठमाडाैं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सरकारकाे विरुद्धमा आन्दाेलन सुरु गर्ने भएकाे छ । शुक्रबार काठमाडाैंमा कार्यक्रम आयाेजना गर्दै विज्ञप्ती जारी गरी नाडाले सरकारलेविरुद्ध चरणवद्ध रुपमा आन्दाेलन आयाेजना गर्ने जानकारी दिएकाे हाे । नाडाले यसकाे सुरुवात मंसिर २२ गते काठमाडाैंकाे माइतीघर मण्डलामा बिहान ११ बजेदेखि २ बजेसम्म कालाे लुगा लगाई धर्ना दिएर सुरु गर्ने जनाएकाे छ । ‘आन्दोलनको सुरुवात आजबाट नै भएको छ, हामीले २२ गते गर्ने भनिएता पनि हाम्रो विरोध आजैबाट कायम छ, हामीले तयार पारेका नाराको पोष्टर आफ्नो लगायत अन्य गाडीमा टास्ने हो, आशा छ, हाम्रो हाम्रो मागको सम्बोधन छिटै हुन्छ,’ अध्यक्ष ध्रुव थापाले भने । ८ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका आयातमा प्रतिबन्ध लगाएकोमाथि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु ल्याएकाे विराेधमा आन्दाेलन गर्न लागेकाे नाडाले जनाएकाे छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा वढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरेकाे कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेका उनीहरुले बताएका छन् । ‘हाल जारी गरिएको चालु पूँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ, सयौं अटोमोवाइल शोरुमहरु बन्द भईसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन, यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौ कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेका छन्,’ विज्ञप्तीमा भनिएकाे छ । यस्ताे छ नाडाकाे माग र सुझावहरु :  विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नु पर्ने । नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने । सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने । नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण, व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने । अटोलोन / हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने । बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियाेलाई पूनरावलोकन गर्नु पर्ने । बैकहरुबाट सवारी साधनको हायर पर्चेज लाेन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर वापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने । त्यस्तै वैकहरुवाट निजी सवारी साधनको हायर पर्चेज लाेन प्रवाह गर्ने प्रकियामा लाेन भ्यालु टु रेसियाेको हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने । पूर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनु पर्ने । भिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने ।    

आजदेखि विद्युतीय गाडीको एक्स्पो, ५ सयभन्दा बढी ब्राण्ड एकै ठाउँमा

काठमाडौं । शुक्रबार अर्थात आजदेखि काठमाडौंको भृकुटिमण्डपमा विद्युतीय गाडीको एक्स्पो सुरुहुने भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो तीनदिन सम्म सञ्चालन हुनेछ । नेपालमा विद्धुतिय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु एक्स्पोको पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ । आयोजकको अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि ब्रान्ड राखिनेछ । एक्स्पोमा विशेष गरी विद्युतिय कार, विद्युतिय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतिय बस, विद्युतिय ट्रयाक्टर, विद्युतिय कार्गो लोडर , रिक्सा तथा विद्युतिय चार्जिङ स्टेसन , ब्याट्री तथा अन्य विद्धुतिय सामाग्रीहरू राखिने बताइएको छ । पछिल्ला दशकहरूमा विद्धुतिय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ भने सरकारले विद्युतीय गाडी सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । एक्स्पोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।

बीवाइडीले नेपालमा गर्‍यो ‘साउथ एशिया रिजनल मीट’

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाडौंमा नोभेम्बर २४ तारिकमा आयोजना गरेको थियो । कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारीक वितरक साइमेक्स इंकको सहभागीता रहेको थियो । विश्वमा ईभी प्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा रहेको छ । ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बीवाइडीका शोरुम, वर्कसप, चार्जिब स्टेशन जस्ता आवश्यक पूर्वाधार तिब्र गतिमा विस्तार भइरहेका छन् । काठमाडौंमा भएको दक्षिण एशियाली डिलरहरुको सम्मेलनमा बीवाइडीकोसाउथ एशिया हेर्ने डेपूटी जनरल मेनेजर केत्सु जांबलेकम्पनीको योजना र विश्वभर बीवाइडीको विक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए । बीवाइडीको न्यू इनर्जी भेहिकलको विक्री संख्या ३० लाख पुगेको भन्दै जांबले भने, ‘बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनी बीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने छ ।’ कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन् । नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै उनले भनिन्, ‘नेपालमा नयाँ रजिस्टर हुने सवारी मध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको छ । त्यसमा नेपाल सरकार, यहाँ व्यवसायी र उपभोक्ताको कारण सम्भव भएको हो । बीवाइडीको यो नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नलोजी’का कारण ईभीको प्रयोग यहाँ बढ्दै गएको छ ।’ बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्द्र प्रदेश, कर्नाटका लगायत १३ सहरका डिलर ग्रुपको सहभागिता रहेको थियो । उक्त कार्यक्रमममा इन्डियाका सहभागीहरुले लन्च भएको १ महिनामै ६ सय इभी सिक्स र १ हजार ५ सय एटो ३ बुकिक भएको जानकारी दिएका थिए ।