‘नाडा ईभी एक्सपो’बाट हिरो इलेक्ट्रिक स्कुटर बुकिङ गर्नेलाई २५ हजार छुटका साथै आकर्षक गिफ्ट
काठमाडौं । लक्ष्मी ई. मोबिलिटीले नाडा ईभी एक्सपोमा स्टल नं सिसेभेनमा बुकिङ्ग गरी स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ । कम्पनीले आज (बिहीबार) बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा इभी एक्सपोबाट हिरो इलेक्ट्रिक स्कुटर बुकिङ्ग गर्नेलाई २५ हजार नगद छुट र एकजनालाई लक्की ड्र मार्फत जर्मन ब्राण्ड बोस वासिंग मेसिन प्रदान गर्ने भएको हो । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई। मोविलिटी (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ । नेपाली बजारमा हिरोको एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । भारतमा भने हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि राम्रो बजार लिइरहेको कम्पनी बताउँछ । एक दशकभन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई। मोविलिटीले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिँदैछ । हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो ।
नेपालमा पेट्रोलका सवारी कहिलेसम्म चलाउन पाइन्छ ? यस्तो भन्छन् अर्थमन्त्री शर्मा
काठमाडौं । अहिले विद्युतीय गाडीको लहर सुरु भइरहेको बेला सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयूको विषयमा पनि अध्ययन सुरु गरेको छ । अर्थमन्त्रालयले एक कार्यदल नै गठन गरेर नेपालमा कहिलेसम्म पेट्रोलियम पदार्थका सवारी साधन चलाउन पाइने भन्ने विषयमा अध्ययन गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले अहिले विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको र अब सरकारले पनि यही नीतिलाई आत्मसाथ गर्दै अगाडि बढ्ने धारणा राखे । उनका अनुसार विद्युतीय गाडीको प्रयोगसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको प्रयोग पनि न्यूनीकरण गर्दै लैजानु पर्नेछ । यस्तै, उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले बिद्युत निर्यात गर्ने वस्तु नभएको पनि बताएका छन् । विद्युतलाई उत्पादनमा लगाउनु पर्ने उनको धारणा छ । ‘अहिले बिश्वमा गर्न अर्थतन्त्र कसरी निर्माण गर्ने बारेमा बिश्वमा बहस भइरहेको छ, सबै देशहरूले त्यो दिशातर्फ जानको लागि योजना बनाइरहेका छन्, ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया उत्पादन गर्ने बहस हामीले गर्दैछौं, नेपालमा कहिलेसम्म पेट्रोलियम गाडी चल्न पाउने बारेमा हामीले अध्ययन गर्दैछौं, त्यसको लागि मन्त्रालयमा कमिटी बनेको छ, हामिले समयमै जानकारी दिनेछौं,’ उनले भने । उनका अनुसार अब विस्तारै पेट्रोलियम पदार्थका गाडीको आयात पनि कम गर्ने र प्रयोग पनि कम गर्ने नीति लिइनेछ । त्यसका लागि केही निश्चित समयावधि तोक्ने उनको भनाइ छ । त्यसपछि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रयोग गर्न पाइने छैन ।
नाडा इभी अटो सो सुरु, ९ महिनामा २५ प्रतिशत व्यवसायी पलायन भएको गुनासो
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा नाडा इभी अटो सो सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ईभी अटो सो सुरु भएको हो । नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनको प्रदर्शन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नाडा अटोबाइल्स एसोशिएसनका अध्यक्ष धु्रबकुमार थापाले अटोमोबाइल क्षेत्र राज्यलाई सबैभन्दा धेरै राजस्व बुझाउने क्षेत्र भएपनि सरकारले कडाइ गरेको गुनासो गरे । अटो व्यवसायीहरुले गत आवमा मात्रै नेपालमा ९९ अर्ब बराबरको सवारी साधन आयात गरेको र त्यसबाट राज्यलाई ९० अर्ब राजस्व प्राप्त भएको बताए । यस्तै, थापाले पछिल्लो ९ महिनामा २५ प्रतिशत व्यवसायी पलायन भएको र हजारौंले रोजगारी गुमाएको धारणा राखे । थापाले सवारी साधनको आयात खुलाउन पनि अर्थमन्त्रीलाई आग्रह गरे । विद्युतीय गाडीहरुमा लाग्ने स्पेयर्स पार्ट्स र ब्याट्री नेपालमा नै उत्पादन गर्न सम्भव भएको बताउँदै थापाले त्यसका लागि १ प्रतिशत मात्रै भन्सार कर लगाउन उनले आग्रह गरे । नाडा अटोमोबाइल एशोसिएसनले प्रदर्शनमा ८ वटा चार पाङ्ग्रे इभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधनले सहभागी जनाएको छ । आगामी आइतबारसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार ग्राहकले अवलोकन गर्ने आयोजकले जनाएको छ । आयोजककाअनुसार पहिलो ईभी अटो शोमा ७ वटा चार पाङ्ग्रे ब्राण्डले भाग लिएका छन् । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिएका छन् ।