नाडा अटो शो : ७० प्रतिशत ईभीको सहभागीता, अग्रिम टिकट बुकिङमा क्यासब्याककाे सुविधा
काठमाडौं । ‘नाडा अटो शो २०२४’ को तयारी पूरा भएको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा अटो शोको तयारी पूरा भएको हो । नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालले मंगलबार पत्रकार सम्मेलन गर्दै शोको तयारी पूरा भएको जानकारी दिएको छ । यस पटकको शोमा विगत भन्दा भव्य हुने दाबी नाडाले गरेको छ । नाडाका अध्यक्ष करण चौधरीले विगतभन्दा यस पटकको अटो शो भव्य हुने बताए । टाटा डट इभी मुख्य प्रायोजक रहको उक्त शोको सह प्रायोजकमा भने शिखर इन्स्योरेन्स र सर्भो लुब्रिकेन्स रहेका छन् । उक्त शोमा प्रवेशका लागि अनलाइनबाट नै टिकट काट्न सकिने जनाइएको छ । शोको टिकटिङ पार्टनरका रूपमा खल्ती वालेट रहेको छ । उक्त अटो शोले अटोमोबाइल क्षेत्रको नवीनतम प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने नाडाको दाबी छ । यसले देशका अर्थतन्त्रलाई नै बढाउने दाबी शोका संयोजकन अनुप बरालले गरे । ५५ ब्राण्डका सवारीसाधको सहभागीता उक्त अटो शोमा ५५ वटा ब्राण्डका सवारीसाधनको सहभागीता रहने नाडाले जनाएको छ । जसमा २४ वटा चारपांग्रे ब्राण्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यावसायिक सवारीसाधनको सहभागीता हुने जनाइएको छ । यसैगरी १३ वटा लुब्रिकेन्ट ब्राण्ड, ५ ब्राण्डका ब्याट्री र टायर्स, १३ वटा हेल्मेट विक्रेता कम्पनी, ५ वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीसहित जम्मा ९५ वटा प्रदर्शकहरू रहने छन् । उक्त प्रदर्शकहरूले १३० वटा स्टलमा प्रदर्शन गर्नेछन् । २६ अगस्टसम्म टिकट बुक गर्नेलाई २० प्रतिशत छुट उक्त शोका लागि २६ अगस्टभित्रै टिकट बुकिङ गर्नेले २० प्रतिशत क्यास ब्याक पाउने नाडाले उल्लेख गरेको छ । उक्त शोमा ७५ हजार बढी आगन्तुकहरू सहभागी हुने नाडाको अनुमान छ । उक्त आगन्तुकमध्ये एक जनाले जुम स्कूटर जित्ने अवसार पाउने छन् । जसलाई सीजी मोटर्सले प्रायोजन गरेको छ । ईभीको सहभागीता ७० प्रतिशत उक्त अटो शोमा विद्युतीय सवारीसाधन (ईभी) को वर्चस्व रहने नाडा संयोजक बरालले बताए । नेपाली बजारमा सबैभन्दा छिटो ईभी एडप्ट भएको उल्लेख गर्दै उनले उक्त शोमा ७० प्रतिशत सहभागीता ईभीका साधनहरूको हुने बताए ।
नाडा अटो शोमा ग्लोबल आइएमई र नबिल बैंकसहित ७ वटा वित्त कम्पनीले भाग लिने
काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने भएका छन् । भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् । यस पटकको अटो शोमा २४ वटा ब्राण्डका चारपांग्रे सवारी, १९ ब्राण्डका दुईपांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् । कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।
‘महिन्द्रा युभो टेक प्लस’ ट्याक्टर नेपालमा
काठमाडौं । नेपालका लागि महिन्द्राको डिलर अग्नी ग्रुपले नयाँ प्रविधिको ट्याक्टर भित्र्याएको छ । महिन्द्राको युभो टेक प्लस ट्याक्टर नेपालमा सार्वजनिक भएको हो । कृषि क्षेत्रमा उपयोग हुने यस्ता ट्याक्टरको विराटनगर, दमक, जनकपुर, विरगंज, चितवन र नेपालगन्जमा रहेका ६ वटा अग्नी शाखा र डिलरबाट एक साथ बिक्री सुरु भएको कम्पनीले जनाएको छ । युभो टेक प्लस ट्याक्टरहरूका १२ वटा स्पिड रेन्ज अप्सन र ३ वटा रिभर्ससहितको गियरबक्स उपलब्ध छ । यसका रहेको गियरलाई माटोको प्रकार र खेती अनुसार गियर र गति चयन गरेर चलाउन सकिन्छ । खेतीमा काम गर्ने भएर पनि आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । युभो टेक प्लस सिरिजको उद्घघाटन समारोहमा बोल्दै एफइएसका अन्तर्राष्ट्रिय अपरेसन प्रमुख केदार आप्टेले भने, ‘खेती र जीवनलाई समृद्ध बनाउने हाम्रो उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न हामी प्रतिबद्ध छौं, यी ट्याक्टरमा नयाँ उन्नत इन्जिन, गियरबक्स र हाइड्रोलिक प्रविधि छ , त्यसैले उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’ ‘परिवर्तित समयसँगै नेपालको किसानहरू विकसित हुँदैछन् र कृषि उत्पादकत्व र त्यसैले आम्दानी बढाउनको लागि सबैभन्दा अगाडि टेक्नोलोजीको साथ उच्चस्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा हामीले युभो टेक प्लस ट्याक्टर ल्याएका छौं । यसको लाभ उपभोक्ताले पाउने छन्’, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने ।