काठमाडौं–औषधी व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि लोमस औषधी उद्योगले उत्पादन गरेको ‘सेपोक्स २००’ नामक एन्टिबायोटिक औषधि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्डभन्दा न्यून रहेको पाइएको हो ।
‘सेपोक्स २००’ (सेफपोडोक्सिम प्रोक्सेटिल २०० मिलिग्राम) को ब्याच नम्बर सीईटी ३.०८२५ परीक्षणका क्रममा युएसपी–२०२६ मा उल्लेख गरिएको घुलन परीक्षण मापदण्ड पूरा गर्न नसकेको पाइएको छ ।
विभागले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम उक्त खेप नम्बर को औषधिको बिक्री–वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको जनाएको छ ।
उक्त औषधीको उत्पादन मिति २०२५ डिसेम्बर र म्याद सकिने मिति २०२७ नोभेम्बर रहेको छ । विभागले स्वास्थ्य संस्था, औषधि व्यवसायी तथा सर्वसाधारणलाई उक्त खेप नम्बरको औषधि बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ ।
साथै बजारमा रहेको मौज्दात तत्काल फिर्ता गरी विभागमा विवरण पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।