विकासन्युज

फाइभ-जी स्पेक्ट्रम किन्न १० मेगाहर्जकै २६० करोड रुपैयाँ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले फाइभ–जी सेवाका लागि आवश्यक स्पेक्ट्रम लिलामीको आधारमूल्य (बेसरेट) प्रस्ताव गर्ने तयारी गरेको छ ।  प्राधिकरण स्रोतले उपलब्ध गराएको मस्यौदा तथा परामर्श दस्तावेजअनुसार ७०० मेगाहर्ज ब्यान्डको मूल्य सबैभन्दा महँगो प्रस्ताव गरिएको छ । प्राधिकरणले ७०० मेगाहर्ज ब्यान्डको आधारमूल्य प्रति मेगाहर्ज २६ करोड रुपैयाँ, ३५०० मेगाहर्ज (३.५ गिगाहर्ज) ब्यान्डको प्रति मेगाहर्ज २ करोड २५ लाख रुपैयाँ तथा २६ गिगाहर्ज ब्यान्डको प्रति मेगाहर्ज १३ लाख रुपैयाँ प्रस्ताव गरेको छ ।  यही आधार मूल्यका आधारमा स्पेक्ट्रम लिलाम प्रक्रिया सञ्चालन गरिने प्राधिकरण स्रोतले जनाएको छ । प्रस्तावित दरअनुसार कुनै दूरसञ्चार सेवा प्रदायकले ३५०० मेगाहर्ज ब्यान्डमा १०० मेगाहर्ज स्पेक्ट्रम खरिद गर्न चाहे न्यूनतम २२५ करोड रुपैयाँ तिर्नुपर्ने प्राधिकरण स्रोतले जानकारी दियो । त्यसैगरी, ७०० मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज स्पेक्ट्रमका लागि मात्रै २६० करोड रुपैयाँ बराबरको न्यूनतम बोलकबोल मूल्य लाग्ने स्रोतको भनाइ छ । प्राविधिक रूपमा ७०० मेगाहर्ज ब्यान्डले कम टावरबाट ठूलो भौगोलिक क्षेत्रमा सेवा विस्तार गर्न सक्ने भएकाले यसको मूल्य अन्य ब्यान्डको तुलनामा धेरै निर्धारण गरिएको हो ।  ग्रामीण तथा दुर्गम क्षेत्रमा उच्च गुणस्तरको फाइभ-जी सेवा विस्तारका लागि यो ब्यान्डलाई सबैभन्दा प्रभावकारी मानिन्छ । स्रोतका अनुसार ३५०० मेगाहर्ज ब्यान्ड उच्च गतिको डेटा सेवाका लागि उपयुक्त मानिए पनि यसको कभरेज अपेक्षाकृत सीमित हुन्छ भने २६ गिगाहर्ज ब्यान्ड अत्याधिक क्षमतायुक्त भए पनि धेरै घना टावर पूर्वाधार आवश्यक पर्छ । यद्यपि प्राधिकरणले आधार मूल्य प्रस्ताव गरिसके पनि नेपालमा फाइभ-जी स्पेक्ट्रमको व्यावसायिक लिलामी प्रक्रिया अझै सम्पन्न भएको छैन । त्यसैले दूरसञ्चार सेवा प्रदायकहरूले पूर्ण रूपमा व्यावसायिक फाइभ-जी सेवा सञ्चालन गर्न आवश्यक स्पेक्ट्रम प्राप्त गर्न सकेका छैनन् ।

वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अनलाइन उजुरी प्रणाली सुरु

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक पोर्टलको औपचारिक सुरु गरेका हुन् । यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली र अनुमतिविना विदेश पठाउनेजस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो । विभागमा सीमित जनशक्ति र स्रोत–साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितहरूले काठमाडौंमा बस्न र खानका लागि थप खर्च व्यहोर्नुपर्ने अवस्था थियो । अनलाइन प्रणालीको सुरुसँगै अब पीडितहरूले काठमाडौं धाउनुपर्ने र विभिन्न निकायमा भौंतारिनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्री यादवले बताए । उनका अनुसार अब पीडितले आफ्नै मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू सङ्कलन गरेर उजुरी पेस गर्न सक्नेछन् । पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनेछ । उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था मिलाइएको छ । उक्त सन्देशमा उपलब्ध गराइएको ‘ट्र्याकिङ कोड’ प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्नेछन् । यस प्रणालीलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले नेपाल प्रहरीसँग ‘एपीआई इन्टिग्रेसन’ समेत गरेको छ । यसअघि ठगी गर्ने व्यक्तिहरूका विरुद्ध जारी भएको पक्राउ पुर्जी इमेलमार्फत पठाउँदा प्रहरीको प्रणालीमा रेकर्ड रहन समय लाग्ने र अपराधीहरू विदेश पलायन हुने जोखिम थियो । अब भने विभागबाट जारी भएको पक्राउ पुर्जी सिधै प्रहरीको केन्द्रीय प्रणालीमा प्रविष्ट हुनेछ । मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीमा जान चाहने कुनै पनि व्यक्तिले गाउँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको यात्रामा विभिन्न प्रकारका ठगी र शोषणको सामना गर्नुपर्ने अवस्था रहेको छ । जस्तै, विदेश पठाइदिन्छु भनेर ठगी गर्ने, बढी रकम असुल्ने, इजाजतपत्रबिना विदेश पठाउनेलगायतका अनेकौँ समस्या छन् । यसअघि यस्ता ठगीका घटनामा उजुरी दिन प्रमाणसहित विभागमै आउनुपर्ने बाध्यता थियो ।’ यस प्रक्रियाले गर्दा ठगीमा संलग्न व्यक्तिहरूले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) प्राप्त गर्न नसक्ने र उनीहरूलाई कानुनी दायराबाट उम्किन कठिन हुने मन्त्री यादवले स्पष्ट पारे । न्यायको ढोकालाई नागरिकको हातसम्म पुर्‍याउने उद्देश्यले यो प्रविधिमैत्री सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

कीर्तिपुरमा जलेको कारभित्र पुरुषको शव फेला

काठमाडौं । कीर्तिपुरमा एउटा जलेको निजी कारभित्र एक पुरुष जलेको अवस्थामा फेला परेका छन् । कीर्तिपुरको चाँदनी चोकमा बा ५ च ३०३८ नम्बरको कारमा पुरुषको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार यो घटना मंगलबार (आज) बिहान ११ बजेको हो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

इरान युद्ध अपडेट : विश्वलाई असर पार्ने पाँच महत्त्वपूर्ण घटनाक्रम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरेको १० दिन बितिसकेको छ । त्यसयता दुवै पक्षले पुनः सैन्य आक्रमण सुरु गरेका छन्, जसले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व भू–राजनीतिमा फेरि अनिश्चितता बढाएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सीईएनटीओएम) ले लगातार १० रात इरानमाथि हवाई आक्रमण गरेको छ । अमेरिकाले यी आक्रमणहरू इरानले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्ने सैन्य क्षमता कमजोर पार्न गरिएको जनाएको छ । युद्धको पछिल्लो अवस्थाबारे जान्नुपर्ने पाँच मुख्य कुरा यस्ता छन् :   १. हर्मुज जलडमरूमध्यबाट जहाज आवागमनमा तीव्र गिरावट युद्ध फेरि सुरु भएपछि विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हर्मुज जलडमरूमध्यबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ । लोयड्सका विश्लेषकहरूका अनुसार धेरै जहाजले आफ्नो पहिचान संकेत (ट्रान्सपोन्डर) बन्द गरेर यात्रा गरिरहेका छन् । व्यापारिक तथ्यांक कम्पनी केप्लरका अनुसार गत सप्ताहन्तमा केवल ३० वटा जहाज मात्र उक्त जलडमरूमध्य पार गरेका थिए । जबकि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गर्नुअघि दैनिक १०० भन्दा बढी जहाज यस मार्गबाट आवतजावत गर्थे । यद्यपि ट्रम्प प्रशासनले भने अमेरिकी सैन्य सुरक्षामा हर्मुज जलडमरूमध्य खुला रहेको र दैनिक लाखौं ब्यारेल तेल सुरक्षित रूपमा निर्यात भइरहेको दाबी गरेको छ । २. तेलको मूल्य फेरि उकालो युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य जुलाई २० मा एक महिनापछि पहिलो पटक प्रति ब्यारेल ९० अमेरिकी डलर नाघेको छ । त्यस्तै, अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई) को मूल्य पनि एक महिनायताकै उच्च स्तरमा पुगेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासन (एफआईए) का अनुसार हर्मुज जलडमरूमध्यबाट दैनिक करिब २ करोड ३ लाख ब्यारेल कच्चा तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ । यो विश्वभर समुद्री मार्गबाट हुने तेल व्यापारको करिब २५ प्रतिशत हो । यस मार्गबाट निर्यात हुने करिब ९० प्रतिशत तेल एसियाली बजार विशेषगरी चीन र भारत पुग्ने गर्छ । इनर्जी एस्पेक्ट्सकी संस्थापक तथा बजार विश्लेषक अमृता सेनका अनुसार यदि आपूर्ति अवरोध अगस्टसम्म जारी रह्यो भने खाडी क्षेत्रको उत्पादन घट्न सक्छ र तेलको मूल्य फेरि तीन अंक (१०० डलरभन्दा माथि) पुग्ने सम्भावना छ । ३. इरानसँग अझै पनि जवाफी आक्रमण गर्ने क्षमता अमेरिकी आक्रमणका बाबजुद इरानसँग अमेरिका, उसका साझेदार र मध्यपूर्वमा रहेका अमेरिकी सम्पत्तिलाई क्षति पुर्याउने क्षमता अझै कायम रहेको विश्लेषण गरिएको छ । इरानसँग सम्बन्धित आक्रमणका कारण व्यावसायिक जहाजहरू पनि जोखिममा परेका छन् । ग्रीक कम्पनी डाइनाकमद्वारा सञ्चालित एउटा जहाज हर्मुज जलडमरूमध्यमा अज्ञात प्रहारपछि आगलागी भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । तेहरानले अझै पनि क्षेप्यास्त्र र ड्रोन प्रहार गर्न सक्ने क्षमता राखेको छ । अमेरिकी सैन्य अड्डा रहेका देशहरूमा भएका पछिल्ला आक्रमणमा थप तीन अमेरिकी सैनिक मारिएको बताइएको छ । यसपछि राष्ट्रपति ट्रम्पले तेहरानले यसको ‘धेरै गुणा मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। साथै उनले हर्मुज जलडमरूमध्य इरानबाहेक सबैका लागि खुला रहने बताएका छन् । ४. युद्ध अन्त्य गर्ने सहज विकल्प देखिँदैन अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार कतार र पाकिस्तानले अमेरिका तथा इरानबीच १० दिनको युद्धविराम प्रस्ताव गरेका छन् । तर वार्ता असफल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै वासिङ्टनले थप सैन्य तयारी पनि गरिरहेको छ । उक्त रिपोर्टअनुसार इजरायलले केही दिनभित्र युद्धलाई अझ व्यापक र समन्वित सैन्य अभियानमा विस्तार गर्ने तयारी गरिरहेको छ । पर्यवेक्षक रिसर्च फाउन्डेसनका भू–राजनीति विज्ञ क्लेमेन्स चेका अनुसार अहिलेको अवस्था नियन्त्रणभित्र देखिए पनि क्रमशः थप खतरनाक बन्दै गएको छ । उनका अनुसार अमेरिकासँग अहिले कुनै पनि सजिलो विकल्प छैन । उसले या त इरानको दीर्घकालीन दबाब सहनुपर्नेछ वा युद्ध अझ विस्तार गर्नुपर्नेछ अथवा केही विशेष छुट दिनुपर्ने अवस्था आउन सक्छ । उनले हर्मुज जलडमरूमध्य इरानका लागि ‘चाहेको बेला खोल्न र बन्द गर्न सकिने रणनीतिक हतियार’ जस्तै रहेको भन्दै हर्मुजसँगै बाब अल–मन्देब जलडमरूमध्य पनि अवरुद्ध भए विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । ५. अर्को महत्त्वपूर्ण समुद्री मार्ग पनि जोखिममा सोमबार राति यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी तत्काल लागू गर्ने घोषणा गरेका छन् । यसले इरानका कारण हर्मुज जलडमरूमध्यमा देखिएको तेल आपूर्ति संकटलाई अझ गम्भीर बनाउन सक्ने अनुमान गरिएको छ । हुथीहरूले यसअघि पनि अमेरिका–इरान युद्धका क्रममा बाब अल–मन्देब जलडमरूमध्य बन्द गर्ने चेतावनी दिँदै आएका थिए । यो मार्ग पनि अन्तर्राष्ट्रिय व्यापार तथा साउदी अरेबियाको तेल निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। हर्मुज जलडमरूमध्य अवरुद्ध भएपछि साउदी अरेबियाले दैनिक लाखौं ब्यारेल तेल पाइपलाइनमार्फत लाल सागरस्थित निर्यात टर्मिनलतर्फ पठाइरहेको छ । यसले हालसम्म विश्व तेल बजारमा केही राहत दिएको छ। तर यदि बाब अल–मन्देब पनि बन्द भयो भने त्यो वैकल्पिक मार्गसमेत अवरुद्ध हुनेछ र विश्वव्यापी तेल आपूर्ति संकट अझ गहिरिने विश्लेषकहरूको चेतावनी छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)  

एसएमएल महिन्द्राको ‘हिरोई बीएस६’ स्कुल बस नेपालमा सार्वजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गर्दै ‘हिरोई बीएस६’ स्कुल बस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकको सहभागितामा आयोजित कार्यक्रममा एसएमएल महिन्द्रा लिमिटेडका नेपालका लागि कन्ट्री म्यानेजर सुमन नागपाल र लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले संयुक्त रूपमा नयाँ बसको शुभारम्भ गरेका हुन् । कम्पनीका अनुसार नेपालको विद्यालय यातायातलाई सुरक्षित, आधुनिक र भरपर्दो बनाउने उद्देश्यले ‘हिरोई बीएस६’ स्कुल बस बजारमा ल्याइएको हो । नेपाल सरकारको विद्यालय बससम्बन्धी मापदण्डअनुसार यो बस ३६ देखि ५६ सिट क्षमताका विभिन्न भेरियन्टमा उपलब्ध हुनेछ । विद्यालयको आवश्यकता र सञ्चालन प्रकृतिअनुसार उपयुक्त मोडल छनोट गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ बस बीएस६ फेज–२ (ओबीडी–२) उत्सर्जन मापदण्डअनुरूप निर्माण गरिएको छ । यसमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर र इकोनोमी ड्राइभिङ मोडजस्ता आधुनिक प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ । यी प्रविधिले सुरक्षा, इन्धन दक्षता र सञ्चालन कार्यक्षमता बढाउने कम्पनीको भनाइ छ । बसमा फराकिलो तथा आरामदायी सिट, उत्कृष्ट सस्पेन्सन प्रणाली, कम सञ्चालन तथा मर्मत खर्च, उच्च इन्धन दक्षता र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीको दैनिक यात्रालाई सुरक्षित, सहज र आरामदायी बनाउने उद्देश्यले डिजाइन गरिएको यो बस विद्यालय यातायातका लागि उपयुक्त विकल्प हुने कम्पनीको विश्वास छ । कार्यक्रममा कम्पनीले ग्राहक तथा व्यावसायिक साझेदारसँग बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता, प्राविधिक सहयोग तथा आगामी योजनाबारे अन्तरक्रिया गरेको थियो । सहभागीहरूले कम्पनीको सेवा र नयाँ उत्पादनप्रति सकारात्मक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ । लक्ष्मी कमर्सियल भेहिकल्सले गुणस्तरीय उत्पादन, विश्वसनीय बिक्रीपछिको सेवा तथा नवीन व्यावसायिक यातायात समाधानमार्फत नेपाली ग्राहकको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ७ प्रतिशत ब्याज पाइने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बिक्री गरिने बैंकले जनाएको छ ।  बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमासाउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र प्रयाप्त आवेदन नपरे साउन २८ गतेसम्म समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

सिटिजन लाइफका ४ सञ्चालकको पदावधि थप, अध्यक्षमा पाण्डेलाई निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको पदावधि थप गरेको छ । साथै, कम्पनीले अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई अध्यक्षकै जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको छ । सञ्चालक समितिको साउन ४ गते बसेको १३२औँ बैठकले आगामी वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि हालका सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार संस्थापक समूहका सञ्चालकहरूको चारवर्षे कार्यकाल साउन ६ गते समाप्त हुने भए पनि साधारणसभा सम्पन्न गर्न समय लाग्ने भएकाले कम्पनीको नियमावलीको नियम २७(४) बमोजिम पदावधि निरन्तरता दिइएको हो । पदावधि थप हुने सञ्चालकमा अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सुमित कुमार अग्रवाल, मनोज कार्की र महेश स्वाँर रहेका छन् । बैठकले प्रदीपजङ्ग पाण्डेलाई अध्यक्ष पदमै निरन्तरता दिने निर्णय पनि गरेको छ । कम्पनीले थपिएको पदावधि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने जनाएको छ । साधारणसभाले सञ्चालकहरूको पदावधि सम्बन्धी निर्णयलाई अन्तिम स्वीकृति दिने कम्पनीको भनाइ छ ।

आत्मदाह प्रयास गरेकी गुरुङको कीर्तिपुरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंमै पुन: एक जना महिलाले आत्मदाह प्रयास गरेकी छन् । सोमबार (साउन ४) दिउँसो काठमाडौं महानगरपालिकाको ६ स्थित बौद्ध गेट नजिक साढे २ बजे २७ वर्षीया सालु गुरुङले शरीरमा आगो लगाएकी हुन् ।  गुरुङको श्रीमानसँग विवाद हुँदा उनी सञ्चालक गरेको खाजाघर पछाडिको पार्किङमा उनले शरीरमा पेट्रोल छर्की आगो लगाएको थिइन् । गुरुङको श्रीमानले उनलाई फेला पारी उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल साखु लगी उपचार भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको छ । बोल्न सक्ने र  सामान्य उपचारपश्चात साँझ कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  यसअघि त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपाली र बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले आत्मदाह प्रयास गरेका थिए । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।