काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले फाइभ–जी सेवाका लागि आवश्यक स्पेक्ट्रम लिलामीको आधारमूल्य (बेसरेट) प्रस्ताव गर्ने तयारी गरेको छ ।
प्राधिकरण स्रोतले उपलब्ध गराएको मस्यौदा तथा परामर्श दस्तावेजअनुसार ७०० मेगाहर्ज ब्यान्डको मूल्य सबैभन्दा महँगो प्रस्ताव गरिएको छ ।
प्राधिकरणले ७०० मेगाहर्ज ब्यान्डको आधारमूल्य प्रति मेगाहर्ज २६ करोड रुपैयाँ, ३५०० मेगाहर्ज (३.५ गिगाहर्ज) ब्यान्डको प्रति मेगाहर्ज २ करोड २५ लाख रुपैयाँ तथा २६ गिगाहर्ज ब्यान्डको प्रति मेगाहर्ज १३ लाख रुपैयाँ प्रस्ताव गरेको छ ।
यही आधार मूल्यका आधारमा स्पेक्ट्रम लिलाम प्रक्रिया सञ्चालन गरिने प्राधिकरण स्रोतले जनाएको छ ।
प्रस्तावित दरअनुसार कुनै दूरसञ्चार सेवा प्रदायकले ३५०० मेगाहर्ज ब्यान्डमा १०० मेगाहर्ज स्पेक्ट्रम खरिद गर्न चाहे न्यूनतम २२५ करोड रुपैयाँ तिर्नुपर्ने प्राधिकरण स्रोतले जानकारी दियो ।
त्यसैगरी, ७०० मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज स्पेक्ट्रमका लागि मात्रै २६० करोड रुपैयाँ बराबरको न्यूनतम बोलकबोल मूल्य लाग्ने स्रोतको भनाइ छ ।
प्राविधिक रूपमा ७०० मेगाहर्ज ब्यान्डले कम टावरबाट ठूलो भौगोलिक क्षेत्रमा सेवा विस्तार गर्न सक्ने भएकाले यसको मूल्य अन्य ब्यान्डको तुलनामा धेरै निर्धारण गरिएको हो ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा उच्च गुणस्तरको फाइभ-जी सेवा विस्तारका लागि यो ब्यान्डलाई सबैभन्दा प्रभावकारी मानिन्छ । स्रोतका अनुसार ३५०० मेगाहर्ज ब्यान्ड उच्च गतिको डेटा सेवाका लागि उपयुक्त मानिए पनि यसको कभरेज अपेक्षाकृत सीमित हुन्छ भने २६ गिगाहर्ज ब्यान्ड अत्याधिक क्षमतायुक्त भए पनि धेरै घना टावर पूर्वाधार आवश्यक पर्छ ।
यद्यपि प्राधिकरणले आधार मूल्य प्रस्ताव गरिसके पनि नेपालमा फाइभ-जी स्पेक्ट्रमको व्यावसायिक लिलामी प्रक्रिया अझै सम्पन्न भएको छैन । त्यसैले दूरसञ्चार सेवा प्रदायकहरूले पूर्ण रूपमा व्यावसायिक फाइभ-जी सेवा सञ्चालन गर्न आवश्यक स्पेक्ट्रम प्राप्त गर्न सकेका छैनन् ।