विकासन्युज

इरानमाथि फेरि आक्रमणको संकेत ? ट्रम्पसँग नेतन्याहूको गोप्य छलफल

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् ।  फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु भएयता नेतन्याहू र ट्रम्पबीच आमनेसामने भएको यो पहिलो भेट हो । इजरायली टेलिभिजन च्यानल १२ का अनुसार नेतन्याहूले बन्द कोठामा भएको बैठकका क्रममा ट्रम्पसँग इरानसम्बन्धी नयाँ गुप्तचर जानकारी सेयर गरेका थिए । च्यानल १२ को रिपोर्टअनुसार नेतन्याहूको विश्वास छ कि इजरायलले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्नुपर्ने अवस्था आउन सक्छ । एक अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘नेतन्याहूको धारणा छ कि इरानमाथि पुनः आक्रमण गर्नुको विकल्प छैन ।’ यसपटक यसअघि आक्रमण नगरिएका स्थानहरू, इरानले पुनः निर्माण गरेका सैन्य संरचनाहरू तथा सरकारको स्थायित्वमा असर पार्न सक्ने रणनीतिक लक्ष्यहरूलाई निशाना बनाउन सक्ने रिपोर्टमा उल्लेख छ । ती अधिकारीका अनुसार इजरायलले वासिङ्टनलाई आफ्नो सुरक्षा मूल्याङ्कन मात्र प्रस्तुत गरेको हो । इरानविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकामाथि कुनै सक्रिय दबाब भने नदिएको उनको भनाइ छ । इजरायली अधिकारीले च्यानल १२ सँग भने, ‘हामी अहिले अत्यन्त महत्त्वपूर्ण चरणमा छौं । राष्ट्रपति ट्रम्पले अब के गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिनुहुनेछ । हामी उहाँमाथि दबाब दिइरहेका छैनौं, तर यथार्थबाट पनि मुख फर्काइरहेका छैनौं । नेतन्याहूले इजरायलको धारणा स्पष्ट रूपमा राख्नुभएको छ ।’ दुवै नेताबीचको छलफलमा इरानसँगको युद्ध प्रमुख विषय बनेको थियो । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध युद्ध सुरु गरे पनि त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पछिल्लो समय दुवै देशबीच मतभेद देखिएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प र नेतन्याहूबीच इजरायल–हिज्बुल्लाह युद्ध, अमेरिका र इजरायलले लेबनानसँग गरेको रूपरेखा सम्झौता, तथा अब्राहम सम्झौतालाई थप विस्तार गर्ने विषयमा पनि छलफल हुने योजना थियो। यसै महिनाको सुरुआतमा युद्धविराम भंग भएपछि अमेरिका र इरानबीच पुनः तनाव बढेको छ । तर पछिल्लो चरणको सैन्य भिडन्तमा इजरायल भने प्रत्यक्ष रूपमा सहभागी भएको छैन । सम्बन्ध सुधार्ने प्रयास यद्यपि दुवै देशका नेताहरू पुनः आपसी समन्वय मजबुत बनाउने प्रयासमा देखिएका छन् । मंगलबार ट्रम्पसँगको भेटपछि नेतन्याहूले यसलाई अहिलेसम्मकै उत्कृष्ट भेटमध्ये एक भएको बताएका छन् । उता ह्वाइट हाउसले पनि वार्तालाई सार्थक र सकारात्मक भएको जनाएको छ । बैठकमा पत्रकारलाई प्रवेश दिइएको थिएन र त्यसपछि कुनै संयुक्त पत्रकार सम्मेलन पनि आयोजना गरिएन । जनवरी २०२५ मा ट्रम्प पुनः राष्ट्रपति बनेपछि नेतन्याहूसँग भएको यो उनीहरूको आठौं भेट हो । यो भेट यस्तो समयमा भइरहेको छ, जब दुवै नेताले आफ्ना–आफ्ना देशमा बढ्दो राजनीतिक दबाबको सामना गरिरहेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू फेरि चुनाव लड्ने तयारीमा छन् र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रँदै गएको सम्बन्धका कारण उनी थप दबाबमा परेका छन् । उता ट्रम्पमाथि नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अर्थतन्त्रमा अस्थिरता ल्याएको र महँगी बढाएको युद्ध अन्त्य गर्नुपर्ने दबाब बढिरहेको छ । मंगलबार ट्रम्पले इजरायली नेताहरूले पिकएक्स माउन्टेनमा भइरहेको इरानी गतिविधिसम्बन्धी गुप्तचर सूचनामाथि छलफल गर्ने तयारी गरिरहेको भन्ने समाचारप्रति असन्तुष्टि व्यक्त गरेका थिए । पिकएक्स माउन्टेनलाई सम्भावित आणविक स्थलका रूपमा हेरिन्छ, जहाँ आक्रमण गर्ने चेतावनी ट्रम्पले पटक–पटक दिँदै आएका छन् । ट्रम्पले फक्स एन्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा भने, ‘पिकएक्समा के भइरहेको छ भन्ने मलाई पूर्ण रूपमा थाहा छ ।’ सोमबार पत्रकारहरूले इरानको विषयमा आफू र नेतन्याहू एउटै धारणा राख्छन् कि राख्दैनन् भनेर सोध्दा ट्रम्पले भनेका थिए, ‘हाम्रा विचारमा केही फरक छ ।’ उता नेतन्याहूले ट्रम्पसँगको भेटमा इरानबारे उनको धारणा के छ र आगामी रणनीति कस्तो हुनेछ भन्ने बुझ्न चाहेको बताएका छन् ।

सभापति थापाको प्रश्न : प्रधानमन्त्री ठालु भएर भाउ खाएर बस्ने हो ?

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्टाटस’मा मात्र सीमित हुन नहुने बताएका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र साहलाई भाउ खाने र ठालु भएर बस्न नहुने सुझाव दिए । सभापति थापाले प्रधानमन्त्रीले अहङ्कार त्यागेर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिए । सरकारलाई अभिभावक र नेतृत्वकर्ताको संज्ञा दिँदै थापाले नेतृत्वको मुख्य शक्ति नै सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु रहेको उल्लेख गरे । प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सरकारका प्रयासबारे जानकारी गराउनुपर्ने सुझाव दिए । मधेसमा हुने कुनै पनि घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने मानसिकता राख्नु दुःखद् रहेको टिप्पणी गर्दै उनले यसलाई राज्य सञ्चालनको असफलताको निरन्तरताका रूपमा चित्रण गरे ।  घटनाको छानबिनका लागि संसद्मा आवाज उठाउने बताउँदै थापाले यो समय सरकारलाई अप्ठ्यारो पार्ने नभई जिम्मेवारीपूर्वक सहयोग गर्ने समय भएको स्पष्ट पारे । सभापति थापाले भने, ‘माननीय सभापतिमार्फत सरकारसँग हाम्रो प्रश्न छ । यतिखेर सरकार कहाँ छ र के गर्दैछ ? सरकार केवल सुरक्षा बल वा सामाजिक सञ्जालमा सीमित नभई सबैलाई जोड्ने नेतृत्वकर्ता बन्नुपर्छ । प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपतिसँग, प्रदेश तथा स्थानीय सरकारसँग संवाद गरी साझा पहलको वातावरण बनाउनुपर्छ ।’ सभापति थापाले नेपाली काँग्रेस सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न प्रतिबद्ध रहेको र यसका लागि अन्य राजनीतिक दलसँग मिलेर भूमिका निर्वाह गर्ने बताए । 

सुनसरी घटनापछि सबै दल एकमत, शान्ति कायम गर्न संयुक्त अपिल गर्ने तयारी

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा विद्यमान असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत रहेको बताएका छन् । बुधवार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।  बैठकमा भएका छलफलका बारेमा जानकारी दिँदै लामिछानेले वर्तमान घटनाक्रमका विषयमा राजनीतिक दलहरूको दृष्टिकोण र मार्गनिर्देशन तय गर्न शीर्ष नेताहरूबीच संवाद भएको बताए । सरकारको उपस्थिति र जिम्मेवारीका सम्बन्धमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै उनले यो बैठक विशेषगरी राजनीतिक दलहरूले आफ्नो धारणा बनाउन र सरकारको ध्यानाकर्षण गराउन आयोजना गरिएको स्पष्ट पारे । सभापति लामिछानेले भने, ‘कुनैपनि परिस्थितिमा साम्प्रदायिक सद्भाव खलबलिने, एक समुदायले अर्को समुदायप्रति घृणा वा द्वेष फैलाउने र आक्रमण गर्ने जस्ता गतिविधि हुनु देशका लागि हानिकारक छ । यस्ता संवेदनशील विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने महशुस गरी चाँडै नै सबैको तर्फबाट एउटा संयुक्त अपिल सार्वजनिक गरिनेछ ।’ सुनसरी लगायतका जिल्लामा हालै भएका प्रदर्शनको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए । विगतका आन्दोलन र वर्तमान परिस्थितिको तुलना गर्दै सभापति लामिछानेले अहिलेको प्रमुख दायित्व शान्ति सुव्यवस्था र आपसी सद्भाव कायम गर्नु रहेको बताए । उनले आरोप–प्रत्यारोपमा उत्रिनुभन्दा पनि जिम्मेवार भएर अगाडि बढ्न सबैलाई आग्रहसमेत गरे ।  

सुन दुई लाख ८३ हजार रुपैयाँमा झर्‍यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० रुपैयाँ कायम भएको थियो ।       गत सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ । 

शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सुनसरी घटनालगायत विषयमा छलफल गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला प्रधानमन्त्री वालेन्द्र शाहले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा आफूले बैठकमा जोड दिएको बताए ।         'धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौँदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ । शान्ति, सद्भाव कायम गर्न एकताबद्ध भई आमनागरिकमा आह्वान गरौँ भन्ने प्रस्ताव गरेका छौँ', सभापति थापाले भने, 'अवाञ्छित गतिविधि हुन नदिन सावधानी अपनाउन आग्रह गरेका छौँ । सरकार जनताको अभिभावक पनि हो । यस्तो समयमा प्रधानमन्त्रीले तीनवटै सरकारसँग संवाद गरेर शान्ति एवं सद्भाव कायम गर्नेतर्फ लाग्नुपर्छ ।'

मन्त्री चौधरीको पहलमा अब देशभर मासु जाँच अनिवार्य हुने

काठमाडौं । कृषि तथा वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा उपभोक्तालाई स्वच्छ, स्वस्थ तथा गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ देशभर चरणबद्ध रूपमा कार्यान्वयन गरिने भएको छ । ऐन कार्यान्वयनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । पशु सेवा विभागले ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गरिसकेको छ । यस विषयमा संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग मन्त्री चौधरीले आवश्यक समन्वय र छलफलसमेत गरिसकेकी छन् । यसअघि सुर्खेत, हेटौंडा र बुटवलका केही वधशालामा ऐन कार्यान्वयनको सुरुआत गरिएको थियो । अब आगामी २०८३ मङ्सिर १ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा ऐन लागू गरिनेछ । त्यसैगरी, २०८३ माघ १ गतेदेखि उपत्यकाबाहेकका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा पनि चरणबद्ध रूपमा ऐन कार्यान्वयन गरिनेछ । अन्ततः २०८४ साउन १ गतेदेखि देशभर पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ पूर्ण रूपमा लागू गरिने सरकारको योजना छ । ऐन कार्यान्वयनपछि देशभरका पशु वधशालालाई व्यवस्थित बनाइने, वध गरिएका पशुको अनिवार्य स्वास्थ्य परीक्षण गरिने तथा मासु उत्पादन, ढुवानी र बिक्री–वितरणमा स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा लागू गरिनेछ । यसबाट उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने मन्त्री चौधरीले बताएकी छन् । सर्वोच्च अदालतका विभिन्न आदेश, प्रचलित कानुनी व्यवस्था तथा संविधानले सुनिश्चित गरेको उपभोक्ताको गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले यस ऐनलाई प्राथमिकताका साथ लागू गर्न लागेको जनाएको छ । 

करोडौँमा बिक्री हुने भन्दै पुरानो सिक्का देखाएर ठगी, तीन जना पक्राउ

भद्रपुर । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ । यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ठगी गर्ने समूहले पुराना तथा धार्मिक आकृति भएका सिक्काहरू विदेश वा बजारमा करोडौँ मूल्यमा बिक्री हुने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका छन् । सुरुमा विश्वास दिलाउन सिक्का देखाउने र त्यसपछि सिक्का परीक्षण वा खरिद प्रक्रियाको बहानामा रकम असुलेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकांश पीडितहरूले कानुनी जटिलता वा लाजका कारण उजुरी नगर्दा यस्ता गिरोह थप सलबलाउने गरेको प्रहरी नायब उपरीक्षक अवाले बताए । प्रहरीले कुनै पनि वस्तु रातारात करोडौँमा बिक्री हुने वा अस्वाभाविक नाफा हुने प्रलोभनमा परी आर्थिक कारोबार नगर्न आमनागरिकलाई अनुरोध गरेको छ ।

सुनसरी घटनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक जारी

काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले  आह्वान गरेको बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत सहभागी रहेका छन् । बैठकका संयोजक दाहालले विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद्का बेला वा जटिल राजनीतिक अवस्थामा साझा सहमति  कायम गरिएको स्मरण गर्दै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता रहेको बताए । उनले राष्ट्रिय महत्वका यस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।