बससेवाको शतप्रतिशत क्यासब्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निशुल्क
काठमाडौं । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक अफर सुरु गरेको छ । यात्रुहरुको सहजताका लागि देशका सबै गन्तव्यको टिकट काट्ने यात्रुहरुलाई शतप्रतिशत क्यासब्याक अफर सुरु गरिएको बससेवाले जनाएको छ । मंसिर ९ गते सुरु भएको अफर अन्तर्गत दैनिक १० जना यात्रुहरुलाई बससेवाले टिकट काट्दा लागेको सबै रकम फिर्ता दिनेछ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालकाअनुसार देशका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रुहरुमध्ये दैनिक १० जनाले टिकट काट्दा लागेको सबै रकम फिर्ता पाउनेछन् । ‘मंसिर १५ गतेसम्म चल्ने अफरमा हामीले दैनिक १० जनालाई निशुल्क बसको टिकट उपलब्ध गराएका हौं । बससेवाको माबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने सबैलाई अफरमा सहभागी गराइनेछ,’ प्रमुख कार्यकारी अधिकृत खनालले भने । सहज किसिमले बसको टिकट काट्न सकिने प्लेटफर्म बससेवा यात्रुको रोजाइमा परोस् भन्नका लागि पनि यो अफर सञ्चालन गरिएको खनालको भनाई छ । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट शतप्रतिशत क्यासव्याकको सेवा लिन तथा छुटमा बसको टिकट काट्न सकिने बससेवाले जनाएको छ । बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा शतप्रतिशत क्यासव्याक अफर लागु हुने जनाएको छ । देशका जुनसुकै स्थानबाट काठमाडौंका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा अफरले यात्रुहरू लाभान्वित हुने बससेवाको अपेक्षा छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि अफरमा सहभागि हुन सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने विज्ञप्तिमा उल्लेख छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि काउण्टर पुग्नु नपर्ने साथै लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ ।
जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा, यस्तो छ इतिहास
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले सेयरधनीहरूलाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँको १४ प्रतिशतका दरले १८ करोड ८६ लाख ५२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशतका दरले ९९ लाख २९ हजार रुपैयाँ नगद गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव दामोदर रेग्मीले जानकारी दिए । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद गरी कूल १४.७३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद गरी कूल १४.९९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार रुपैयाँको ९.५० प्रतिशतका दरले १० करोड ५६ लाख ७३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले ५५ लाख ६१ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् ११ करोड १२ लाख ३५ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसी प्रसाद वस्तीले जानकारी दिए । यसअघि आर्थिक वर्ष २०७९/८० मा बैंकले ९।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
७ अर्ब ४० करोड लागतको पोखरा-मुग्लिन सडक निर्माण कछुवा गतिमा, सर्वसाधारणलाई सास्ती
गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो । तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए । ‘तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ’, उनले भने । चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिए । वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताए । पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा चार लेन र पाँच किमीमा दुई लेन सडक कालोपत्र भइसकेको बताए । एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा छ लेन र अन्य स्थान चार लेनको सडक हुनेछ । रासस
भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट
काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार नोभेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ अर्ब अमेरिकी डलरले घटेर ६५७.८९२ बिलियन अमेरिकी डलरमा पुगेको छ। सन् १९९८ मा आरबीआईले साप्ताहिक डाटा जारी गर्न थालेदेखि यो देशको विदेशी मुद्रा सञ्चितिमा भएको सबैभन्दा तीब्र गिरावट हो । विदेशी मुद्रा सञ्चितिमा भारी गिरावटको श्रेय भारतीय मुद्रा रुपैयाँलाई उकास्न आरबीआईले बजारमा अमेरिकी डलर छोडेको हो ।
तोलामा १७ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो । साथै, आइतबार चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ हजार ९ सय ४० थियो ।
नोट वितरण ७५ प्रतिशतले बढ्यो, नीतिमा मात्र सीमित डिजिटल कारोबार
काठमाडौं । सरकारसँगै नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रलाई डिजिटलमा रूपान्तरण गर्न विभिन्न प्रयास गरिरहेको छ । नगद कारोबार घटाएर डिजिटल कारोबार बढाउने रणनीति राष्ट्र बैंकले लिएको छ । सरकारको समेत प्राथमकिता रहेको डिजिटल कारोबारलाई राष्ट्र बैंकले आफ्नो मुख्य प्राथमिकतामा राखेको देखिन्छ । तर, राष्ट्र बैंकले आफ्नो नीतिसँग बमेल खाने गरी गत वर्ष अर्बाैं रुपैयाँ बराबरको नोटहरू बजारमा पठाएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड ९० लाख रुपैयाँ बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीका लागि बजारमा पठाएको छ । गत वर्षको तुलनामा यो रकम ७५ दशमलव २३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष राष्ट्र बैंकले ४२ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बराबरका विभिन्न दरका ४६ करोड ६२ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीका लागि बजारमा पठाएको थियो । नगद कारोबारलाई अन्त्य गर्न नसकेपनि डिजिटिलमा जोड दियो भने आगामी दिनमा नगदमा हुने कारोबार कम हुँदै जाने देखिन्छ । तर, राष्ट्र बैंकले बजारमा नोटको सर्कुलेसन बढाउँदै जाँदा डिजिटल कारोबारमा त्यसको प्रत्यक्ष असर पर्न सक्ने जानकारहरू बताउँछन् । २०८१ असारसम्म ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँका विभिन्न दरका अर्ब ३७ करोड ७८ लाख ६० हजार ८३९ नोट बजारमा चलनचल्तीमा छन् । जबकि २०८० असारसम्म ६ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ बराबरको विभिन्न दरका ३ अर्ब २५ करोड ३० लाख ८७ हजार ५२८ नोट नोटहरू चलनचल्तीमा थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाली बजारमा रकम ७.८२ प्रतिशत बढेको हो भने नोटहरूको संख्या ३.८३ प्रतिशतले बढेको देखिन्छ । नगद कारोबारलाई डिजिटल कारोबारमा रूपान्तरण गर्दा अर्थतन्त्रमा पारदर्शिता हुने विश्वास सरकारको छ । हरेक कारोबार डिजिटलबाट हुँदा छिटोछरितो र हरेक कारोबार पारदर्शी हुने एक बैंकर बताउँछन् । त्यसैले नगद कारोबारलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले डिजिटल कारोबारमा नागरिकलाई प्रोत्साहन गर्न जरुरी रहेको ती बैंकरको भनाइ छ । प्रत्येक वर्ष बजारमा नोटको संख्या बढ्दै पछिल्लो १२ वर्षको तथ्याङ्क हेर्ने हो भने नेपाली बजारमा राष्ट्र बैंकले प्रत्येक वर्ष नोटको संख्या बढाउँदै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार विसं २०७० असारसम्म २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँका विभिन्न दरका १ अर्ब २७ करोड ६१ लाख २० हजार नोट चलनचल्तीमा थिए । जुन संख्या निरन्तर बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार विसं २०७१ असारमा २ खर्ब ७२ अर्ब २५ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ५३ करोड २ लाख ५२ हजार नोट चलनचल्तीमा थिए । यस्तै, विसं २०७२ असारमा नेपाली बजारमा ३ खर्ब १९ अर्ब ८ करोड रुपैयाँका विभिन्न दरका १ अर्ब ६९ करोड ६ लाख ७२ हजार नोट, विसं २०७३ असारमा ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँका १ अर्ब ८४ करोड ८२ लाख १२ हजार नोट चलनचल्तीमा थिए । यस्तै, नेपाली बजारमा विसं २०७४ असारमा ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँका २ अर्ब १ करोड ९८ लाख ७२ हजार नोट, विसं २०७५ असारमा ४ खर्ब ९४ अर्ब ३८ करोड रुपैयाँका २ अर्ब ३२ करोड २७ लाख ३४ हजार १८ नोट, विसं २०७६ असारमा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँका २ अर्ब २५ करोड ७७ लाख ५० हजार ५४६ नोट संख्या बजारमा थिए । राष्ट्र बैंकका अनुसार वि.सं २०७७ असारमा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँका २ अर्ब ६९ करोड ३२ लाख ६५ हजार ७७५ नोट, वि.सं २०७८ असारमा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँका २ अर्ब ७५ करोड ८४ लाख २४ हजार १६४ नोट र विसं २०७९ असारमा ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका ३ अर्ब ५ अर्ब ४६ करोड ८९ लाख १४७ नोट बजारमा चलनचल्तीमा रहेका थिए । कुन दरका कति नोट चलनचल्तीमा छन् ? राष्ट्र बैंकको तथ्याङ्कअनुसार बजारमा १ रुपैयाँ दरका १६ करोड ९ लाख ८६ हजार ६०३ नोट चलनचल्तीमा छन् । जसको कुल रकम १६ करोड ९ लाख ८६ हजार ६०३ रुपैयाँ हुन आउँछ । यस्तै, २ रुपैयाँ दरका १८ करोड ५१ लाख १८ हजार ५२ रुपैयाँको ९ करोड २५ लाख ५९ हजार २६ वटा नोट चलनचल्तीमा छन् । यस्तै, नेपाली बजारमा ५ रुपैयाँ दरका ७४ करोड ८२ लाख २५ हजार ३७ नोट चलनचल्तीमा रहेका छन् । जसको कुल रकम ३ अर्ब ७४ करोड ११ लाख २५ हजार १८५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, १० रुपैयाँ दरका ६० करोड ३१ लाख २३ हजार ९७४ नोट, २० रुपैयाँ दरका ४० करोड १२ लाख ३० हजार ९५१ नोट, २५ रुपैयाँ दरका २२ लाख ८१ हजार २९६ नोट, ५० रुपैयाँ दरका २८ करोड १६ लाख ४३ हजार ८९९ नोट बजारमा चलनचल्तीमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार १ सय रुपैयाँ दरका ३२ करोड ५३ लाख ११ हजार ८६८ नोट, २५० रुपैयाँ दरका ३ लाख ४९ हजार ६९१ नोट, ५ सय रुपैयाँ दरका २७ करोड ३७ लाख ९८ हजार ८३९ नोट र १ हजार रुपैयाँ दरका ४८ करोड ८३ लाख ४९ हजार ६५५ नोट बजारमा चलनचल्तीमा रहेका छन् । पूर्वबैंकर अनलराज भट्टराई सरकारको खर्च बढ्दा, विदेशी ऋण तथा सहयता आउँदा, रेमिट्यान्स बढ्दा नोटको सर्कुलेसन बढ्दै जाने बताउँछन् । यदि सरकारको राजस्व संकलन र विभिन्न बण्ड जारी गर्दा बजारमा नोटको सर्कुलेशन घट्न सक्ने उनले बताए । ‘सरकारको खर्च बढ्दा, विदेशी ऋण तथा सहयता आउँदा, रेमिट्यान्स आउँदा नोटको सर्कुलेसन बढ्दै जान्छ । त्यतिबेला सरकारले नोटको संख्या बढाउँदै जान्छ, अचेल एकडेढ खर्च रेमिट्यान्स आउन थालेको छ । जसले नोटको संख्या बढ्दै जान्छ । किनभने पैसाको माग हुन्छ । जति मोनि सर्कुलेशन बढ्दै जान्छ त्यति नै पैसाको माग पनि बढ्दै जान्छ,’ पूर्वबैंकर भट्टराईले भने, ‘सरकारको राजस्व कम छ भने बजारबाट पैसा भित्रिएको छैन, कर तिर्दा मनी सर्कुलेसन घट्छ । र, सरकारले बण्ड जारी गरेर ऋण लियो भनेपनि बजारबाट फेरि राष्ट्र बैंकमा तानिन्छ, जसले सर्कुलेशन घट्छ ।’ तर, पछिल्लो समय डिजिटल कारोबार बढ्दा नोटको सर्कुलेशन पनि घट्न पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले चाहेर नोटको संख्या घटाउन नसक्ने उनको भनाइ छ । बजारको मागअनुसार नै नोट निष्कासन गर्ने गरेको उनले बताए । ‘यदि मोबाइल बैंकिङ, क्यूआरजस्ता डिजिटल भुक्तानीका माध्यम नभएको भए मनी सर्कुलेसन अझै बढ्थ्यो । तर, यसको प्रयोगले बजारमा जति नोट बजारमा आउनुपर्ने हो आएको छैन । किनभने अधिकांश मान्छेले डिजिटलबाट कारोबार गरिरहेका छन्,’ पूर्वबैंकर भट्टराईले भने, ‘केन्द्रीय बैंकले २०२६ सम्म डिजिटल करेन्सी ल्याउने तयारी पनि छ, जनताको माग अनुसार बजारमा नोट पठाइन्छ, जस्तो रेमिट्यान्सको डलरमा आउने हो । त्यो डलर नेपाली बजारमा पठाउनुपर्ने हुन्छ । राष्ट्र बैंकले नोटमा पठाउँछ ।’ राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य अर्थतन्त्र विस्तारसँगै डिजिटल कारोबार बढेपनि नोटको संख्या घट्छ नै भन्न नसकिने बताउँछन् । साथै, दूर्गम क्षेत्रमा अझैपनि इन्टरनेट र स्मार्टफोनसँगको पहुँच नभएकाले पनि बजारमा नोटको सर्कुलेसन गर्नुपरेको उनको भनाइ छ । ‘डिजिटल कारोबारलाई मुलुकले परिलक्षित गरेको छ, राष्ट्र बैंकले आफ्नो एजेण्डा बनाएको छ, बैंक तथा वित्तीय संस्थाहरूलाई पनि डिजिटल कारोबारमा जोड दिन भनिरहेको छ, डिजिटललाई प्रोत्साहन गरेको हो । तर, अनिवार्य गरेको होइन,’ उनले भने, ‘आवश्यकता अनुसार बजारमा चलनचल्तीका लागि नोट पठाइन्छ । कतिपय दुर्गम क्षेत्रमा इन्टरनेटको सुविधा र सबै मान्छेसँग स्मार्ट फोनको पहुँच छैन, वित्तीय सचेतानाको अभाव छ, कतिपय डिजिट कारोबार गर्न नसक्ने पनि छन्, त्यसैले अर्थतन्त्र जति विस्तार भइरहन्छ, त्यति नै कारोबार बढ्दै जान्छ । अर्थतन्त्र विस्तारसँगै डिजिटल कारोबार बढेपनि नोटको संख्या घट्छ नै भन्न सकिँदैन ।’
ड्रागन फ्रुट बेचेर वार्षिक १५ लाख आर्जन, स्वदेशमा नै श्रम गर्दा राम्रो आम्दानी हुने
चौतारा । साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । छ रोपनीमा ३० रुपैयाँ लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउँछन् । विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुटका लागि गरेमा वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाएका हुन् । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो पाँच सय रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि चार लाख रुपैयाँसहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उनी बताउँछन् । रासस