नेपाल प्याराग्लाइडिङको प्रिमियर लिग धरानमा जारी
काठमाडौं । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका-१४ मा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पर्यटन बोर्डका निमित कार्यकारी प्रमुख हिकमत सिंह ऐर, धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मन्जु भण्डारीले संयुक्तरुपमा यस पहिलो प्याराग्लाइडिङ प्रिमियर लिगको उद्घाटन गरेका हुन् । धरान–४ छोटी मोरङस्थित प्याराग्लाइडिङ उडानस्थलमा आयोजित समारोहमा नेपाल ,भारत, बंगलादेशका ३२ जना खेलाडीहरुको सहभागिता रहेको यस लिगका संयोजक भोपाल च्यमलुडले जानकारी दिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भने, 'प्याराग्लाइडिङ र माउन्टेनियरिङ जस्ता खेलले साहसिक खेल पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ ।’ धरान र आसपासका क्षेत्रलाई प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको रहेको मुख्यमन्त्री कार्कीको पनि भनाई थियो । उनले नयाँ आर्थिक वर्षदेखि पर्यटन वर्ष र भ्रमण वर्षलाई जोडेर प्याराग्लाइडिङसहित १० भन्दा बढी विधाका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए । कार्यक्रममा सहभागी भारतीय खेलाडी पाइलटहरूलाई स्वागत गर्दै मुख्यमन्त्री कार्कीले नेपाल र भारत, विशेषगरी सिक्किम बीचको भाषिक तथा सांस्कृतिक निकटताले दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे । त्यसैगरीका नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले यस किसिमका साहसिक खेल गतिविधिले कोशी प्रदेशको पर्यटनलाई महत्वपूर्ण योगदान गर्ने बताए । उनले भने, 'प्याराग्लाइडिङमार्फत् संसारको शिखर सगरमाथा, मकालु, ल्होत्सेजस्ता हिमालहरुको दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाइमा पर्ने विश्वास व्यक्त गर्दछु । नेपाल पर्यटन बोर्डले यसको प्रबर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ खेल प्रतियोगिता आयोजनाका लागि भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।' धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मन्जु भण्डारीले छोटी मोरङ क्षेत्रमा प्याराग्लाइडिङका लागि उपयुक्त उडान बिन्दु पहिचान गरिएको जानकारी दिएकी छन् । प्राविधिक अध्ययनपछि तत्कालीन कार्यपालिकाले उक्त क्षेत्रलाई आधिकारिक उडान तथा अवतरण विन्दुका रूपमा निर्धारण गरेको उनको भनाई थियो । प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला, पुरुष र महिला तथा राष्ट्रियतर्फ पुरुष र महिला गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगीतामा १८ औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरू पनि सहभागी छन् ।
मञ्जुश्री फाइनान्सले पायो ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६’ अवार्ड
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडलाई न्यू बिजनेस एजद्वारा आयोजित १०औँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ समारोहमा 'बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६' अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्याएको आधारमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो । कम्पनीका अनुसार यस अवार्डले पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवाको विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । मञ्जुश्री फाइनान्सले ग्राहक–केन्द्रित सेवा तथा आधुनिक वित्तीय समाधानमार्फत वित्तीय क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको जनाएको छ । कम्पनीले यो उपलब्धिले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रवाह र संस्थागत विकासतर्फ अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरेको छ ।
सरकारी सम्पत्ति लिलामी गर्ने श्रेष्ठ र उलाक पक्राउ
काठमाडौं । सरकारी सम्पत्ति लिलामी गर्ने दुई जना पक्राउ परेका छन् । स्मार्ट टेलिकम प्रालिको अनुमतिपत्र रद्द भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति बेइमानी पूर्वक लिलामी गर्ने प्रक्रियामा संलग्न थप दुईजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । काठमाडौं महानगर २ की पलिना श्रेष्ठ र पनौती नगरपालिका १२ का नरेन्द्र उलाक छन् । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ । यसअघि सीआईबीले स्मार्ट टेलिकमका पूर्व सञ्चालक सर्वेश जोशीलाई नियन्त्रणमा लिएको थियो।
निजी क्षेत्रको सरकारलाई बालेन सरकारको गतिमा हिँड्नुपर्ने दबाब
काठमाडौं । ‘अञ्जन श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रको सरकार गठन भएको छ । अब निजी क्षेत्रका समस्याहरूलाई समाधान गर्न सरकारसँग पहल कदम चाल्छौँ,’ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठले भने । ‘निजी क्षेत्र अब राजनीतिक होइन, आर्थिक विषयमा मात्र केन्द्रित हुनुपर्छ । सरकारको गतिमा हामी हिँड्नु पर्यो । पहिला सरकार हामी भन्दा स्लो गतिमा हिँड्थ्यो । अहिले सरकार हामी भन्दा धेरै फास्ट गतिमा हिँडिरहेको छ । त्यसकारण हामी पनि सरकारको गतिमा म्याच हुने गरी हिँड्नुपर्छ,’ एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले भने । बदलिँदो राष्ट्रिय र विश्व परिवेशमा निजी क्षेत्रको नेतृत्व अञ्जन श्रेष्ठको काँधमा आईपुगेको छ । महासंघको संस्थागत उचाई निर्माणसँगै आर्थिक क्षेत्र चलायमान गर्न महासंघले काम गर्नुपर्ने देखिन्छ । अब निजी क्षेत्रले राजनीतिक बहसभन्दा टाढा रहेर आर्थिक एजेन्डामा केन्द्रित हुनुपर्ने र निजी क्षेत्र सरकारसँग ‘गति मिलाएर’ अघि बढ्नुपर्ने देखिन्छ । महासंघका एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले महासंघलाई अब राजनीतिक बहसबाट टाढा राखेर पूर्ण रूपमा आर्थिक एजेन्डामा केन्द्रित गर्नुपर्ने बताए । महासंघ देशभरका साना, ठूला तथा मझौला व्यवसायको आशा र भरोसाको केन्द्र भएकाले सदस्यहरूको वास्तविक समस्या पहिचान र समाधानमा ध्यान दिनुपर्ने समय आएको उनको भनाइ छ । ‘महासंघमा जहिले पनि राजनीतिक मुद्दा मात्रै उठाइयो, कहिले विधान संशोधन त कहिले सदस्यता विवादमा समय गयो,’ उनले भने, ‘अब हामीले आर्थिक मुद्दालाई मात्रै केन्द्रमा राखेर काम गर्नुपर्छ ।’ पाण्डेले सरकार अहिले निकै तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै निजी क्षेत्रले पनि त्यसैअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने बताए । ‘सरकारका मन्त्रीहरू धेरैजसो सभा–सम्मेलन र स्वागत कार्यक्रममा नजाने, काममै केन्द्रित हुने अवस्था छ,’ उनले भने, ‘हामी पनि अब माला लगाउने र समय खेर फाल्ने कार्यक्रममा होइन, आफ्नो काम र उद्देश्यमा केन्द्रित हुनुपर्छ ।’ निजी क्षेत्रको सुधारका नीतिगत स्थायित्व, सरल कर प्रणाली, लगानी बढी भएको क्षेत्रमा रेड फ्ल्याग नीति लागू गर्ने, फेसलेस अडिट प्रणाली, ढुवानी भाडा घटाउने सरकारी पहल, उद्योगलाई रातिको समयमा सस्तो बिजुली उपलब्ध गराउने, आयकर दर घटाउने, मल्टीलेयर भ्याट लागू गरी कर प्रणालीलाई सीमित र सरल बनाउने, हवाई टिकटमा लगाइएको भ्याट खारेज गर्ने, श्रम सम्झौता प्रणालीलाई परिमार्जन गर्ने, मूल्य स्फितिका आधारमा न्यूनतम ज्याला निर्धारण गर्ने, भूत प्रभावी कर निरुत्साहित गर्ने तथा क्रेडिट रिकभरी ऐन ल्याउने काम गर्नुपर्ने उनले बताए । उनले यी सुधार कार्यान्वयन भए निजी क्षेत्रको लगानी वातावरण सहज हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले अब महासंघले बोलेर होइन, काम गरेर देखाउने चरणमा प्रवेश गर्नुपर्ने बताए । बैंकिङ क्षेत्रमा थुप्रिएको तरलतालाई सही रूपमा उपयोग गर्नुपर्ने उनले बताए । उनले सरकारले केही क्षेत्रमा तीव्र गतिमा काम गरिरहेको भन्दै निजी क्षेत्र पनि त्यसैसँगै अघि बढ्नुपर्ने बताए । ‘डिपोजिटकर्ताले ब्याज पाएका छैनन्, बैंकसँग तरलता थुप्रिएर बोझ बनेको छ । यसलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘अब हामीले बोलेर होइन, काम गरेर देखाउनुपर्छ । महासंघलाई राजनीतिक बहस गर्ने संस्थाबाट मुक्त गर्नुपर्छ ।’ श्रेष्ठले कृषि क्षेत्रमा ठूलो सम्भावना हुँदाहुँदै पनि उत्पादन घट्दै गएको भन्दै बाँझो जमिनलाई उपयोगमा ल्याउनुपर्ने बताए । ‘हामी कृषिजन्य वस्तु आयात गरेर खान बाध्य छौं, तर खेत बाँझो छ । कृषकलाई अनुदान दिएर उत्पादन बढाउनुपर्छ र आयात घटाउनुपर्छ,’ उनले भने । उनका अनुसार निर्यातमा दिइँदै आएको अनुदान घटेको र उत्पादन लागत बढेको छ, जसलाई कम गर्न ढुवानी भाडा घटाउनेतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्र पछिल्ला घटनाक्रमपछि प्रभावित भएको उल्लेख गर्दै उनले सन् २०२७ लाई लक्षित गरी २० लाख पर्यटक भित्र्याउने योजना बनाउनुपर्ने बताए । ‘हवाई भाडा घटाउनुपर्छ, विमानस्थललाई चलायमान बनाउनुपर्छ,’ उनले भने । ऊर्जा क्षेत्रमा पनि ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले निकट भविष्यमा २० हजार मेगावाट बिजुली उत्पादन हुने अपेक्षा गरिएको बताए । ‘उत्पादन भएको बिजुलीको बजार व्यवस्थापन गर्न भारतमा निर्यातका लागि सरकारले पहल गर्नुपर्छ,’ उनले भने । जिल्लानगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले महासंघको संस्थागत उचाइलाई अझ मजबुत बनाउँदै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई सशक्त बनाउन आफूले निरन्तर पहल गर्ने बताए । उनका अनुसार महासंघलाई जनजनसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्यसहित आफू दत्तचित्त भएर अघि बढ्ने बताए । ‘नेपाल उद्योग वाणिज्य महासंघको उचाइलाई अझ उच्च बनाउन जिल्ला–नगर संघहरूलाई सशक्त बनाउन मेरो निरन्तर पैरवी रहनेछ,’ उनले भने । शर्माले व्यवसायीमाथि हुने धरपकड र छापामारी जस्ता घटनालाई अन्त्य गर्न पनि पहल गर्ने बताए । उनका अनुसार जिल्ला–नगर संघहरू स्रोतसाधनको अभावमा रहेका छन्, जसलाई समाधान गर्नुपर्ने आवश्यकता छ । उनले महासंघ, जिल्ला–नगर संघ र स्थानीय सरकारबीच समन्वय कमजोर रहेको भन्दै त्यसलाई मजबुत बनाउन ‘हेल्प डेस्क’ आवश्यक रहेको बताए । ‘जिल्ला-नगर र महासंघबीचको तारतम्य अझै जोडिन सकेको छैन,’ उनले भने, ‘त्यसलाई जोड्ने संरचना बनाउन आवश्यक छ ।’ शर्माले स्थानीय तह र प्रदेश सरकारसँग उद्योग वाणिज्य संघहरूको समन्वय कमजोर रहेको उल्लेख गर्दै त्यसलाई मजबुत बनाउने प्रतिबद्धता जनाए । उनका अनुसार ट्रक ओभरलोड, एमआरपी समस्या तथा व्यवसायीमाथि पर्ने दबाबजस्ता विषयमा महासंघले सक्रिय भूमिका खेल्नुपर्ने अवस्था छ । ‘हामी अहिले विभिन्न चुनौतीका कारण नेतृत्व नै थुनिएजस्तो अवस्थामा छौं,’ उनले भने, ‘यी सबै समस्यामा समाधानका लागि आवश्यक पहल र पैरवी गर्नेछु ।’ जिल्ला–नगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले औद्योगिक क्षेत्रको पुनरुत्थान र लगानी सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए । उनका अनुसार हालको आर्थिक अवस्थाले औद्योगिक क्षेत्र कमजोर बनेको र निजी क्षेत्र अझै पनि असन्तुष्ट रहेको छ । ‘जलेको हाम्रो औद्योगिक क्षेत्रलाई सिथिलता प्रदान गर्ने र लगानी सुरक्षित गर्ने काम सरकारले गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै निजी क्षेत्र उत्साहित हुन सक्छ ।’ श्रेष्ठले एमआरपी लागू गर्ने विषयमा पर्याप्त छलफल नभएको भन्दै असन्तुष्टि जनाए । साथै भन्सार नाकामा १ हजार २०० देखि १ हजार ३०० सम्म मालवाहक गाडी लाममा रोकिएको उल्लेख गर्दै तत्काल समाधान आवश्यक रहेको बताए । उनका अनुसार भन्सार नीतिमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रूपमा अघि बढ्नुपर्छ । ‘महासंघ मात्रै होइन, सबै संघसंस्थाले आवाज उठाउने बेला आएको छ,’ उनले भने । उनले सरकारले भन्सार चोरी पैठारी नियन्त्रणका लागि लिएको कडाइलाई निजी क्षेत्रले स्वागत गरेको पनि बताए । तर भैरहवा नाकाबाट छुटेका सामान अन्यत्र जफत हुने अवस्था, राजस्व तिरेका वस्तुमा अनावश्यक अवरोध हुने समस्या जस्ता विषयमा स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ छ । ‘राजस्व अनुसन्धान विभाग खारेज गरेर ल्याइएको सुराकीलाई २० प्रतिशत पुरस्कार दिने नीति स्वागतयोग्य छ,’ उनले भने, ‘तर भन्सार तिरेका र पारदर्शी रूपमा आएका सामानमा पनि समस्या देखिनु हुँदैन ।’ उनले सरकारका नीति व्यापारीमैत्री हुनुपर्नेमा जोड दिँदै अनावश्यक कठोरताले निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने चेतावनी दिए ।
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
काठमाडौं । संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल ट्याङ्करलाई निशाना बनाई ‘निष्क्रिय’ पारेको जनाएको छ । यस घटनापछि मध्यपूर्वमा तनाव झनै बढेको छ । अमेरिकी सेनाका अनुसार शुक्रबार इरानी सेनासँग भएको गोली हानाहानपछि उक्त ट्याङ्करहरूलाई नियन्त्रण बाहिर जान नदिन कारबाही गरिएको हो । अमेरिकी सैन्य कारबाहीले ती जहाजहरूलाई सञ्चालनयोग्य नहुने अवस्थामा पुर्याएको बताइएको छ । यसैबीच, संयुक्त अरब इमिरेट्सले पनि आफ्नो क्षेत्रमा इरानबाट क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा केही व्यक्ति घाइते भएका छन् । अमेरिकी रक्षा निकायले भने होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी नौसैनिक जहाजमाथि सम्भावित आक्रमण प्रयास रोकिएको र त्यसको जवाफस्वरूप इरानी सैन्य संरचनामा प्रहार गरिएको जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नागरिक वा जहाजलाई धम्की दिए कडा जवाफ दिइने चेतावनी दिए । उनले वार्ताका लागि इरानबाट ‘गम्भीर प्रस्ताव’ अपेक्षा गरिएको पनि बताएका छन् । यसैबीच, इरानले अमेरिकी कारबाहीलाई युद्धविराम उल्लङ्घन भएको भन्दै कडा विरोध जनाएको छ । इरानी विदेश मन्त्रालयले अमेरिकाले कूटनीतिक समाधानको सट्टा सैन्य विकल्प रोजेको आरोप लगाएको छ । होर्मुज जलसन्धि विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । यस क्षेत्रको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पार्दै आएको छ, जसका कारण तेल मूल्यमा वृद्धि र विश्व बजारमा अनिश्चितता देखिएको छ । हाल दुवै पक्षबीच तनावपूर्ण अवस्था कायम रहेको छ र युद्धविरामलाई कायम राख्ने प्रयासहरू भइरहेका भए पनि स्थिति संवेदनशील रहेको बताइएको छ ।
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख १२ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता ८७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २१० जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९६, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९ जनालाई कारबाही गरिएको हो ।
भारतले १२ वर्षमा ठूलो फड्को मार्यो, अब हामी पनि त्यही बाटोमा जान्छौंः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । त्यसैले हल्लाको पछि नपर्नुस् । तपाईंहरू हाम्रो साझेदार हो ।’ अर्थमन्त्री डा. वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनामा निजी क्षेत्र प्रमुख साझेदार रहेको बताए । उनले सरकारका पाँच प्राथमिकताबारे पनि स्पष्ट पारे । उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो भने तेस्रो प्राथमिकता मुलुकमा आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार गर्नु हो । यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौँ प्राथमिकता पर्यटन, संस्कृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार गर्नु रहेको उनले बताए । अर्थतन्त्रलाई नयाँ दिशातर्फ मोड्ने अवस्थामा मुलुक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन उद्योगी-व्यवसायीलाई आग्रह गरे । राजनीतिक स्थायित्व र इमान्दारीपूर्वक काम गर्दा छिमेकी मुलुक भारतले हासिल गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दाको समय र अहिले नेपालको अर्थतन्त्रका केही सूचक समान रहेको बताए । ‘सन् २०१४-१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै अहिलेको अवस्थासँग हाराहारीमा थिए,’ उनले भने, ‘तर पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ । हामी पनि अब त्यही बाटोमा अघि बढ्ने बेला भएको छ ।’
बाँकेमा भारतीय ६ लाखसहित दुई जना पक्राउ
नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका–५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका–४ बस्ने ३८ वर्षी मुनिव खाँलाई पक्राउ गरिएको उनले बताए । सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । त्यसैगरी प्रहरीले नेपालगन्जमा करिब रु तीन लाख ४६ हजार बराबरको भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको छ । नेपालगन्जको वडा नं ३, १० र १७ बाट प्रहरीले भन्सार छली गरेर ल्याएको चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरा ल्याउने यूपी ४० एस २०७८, भे२प ७५७८, भे९प ७०६४ नं को मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । बरामद गरिएका सबैसामान भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको प्रहरीले जनाएको छ ।