एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच ’कनेक्टेड भेइकल’ सेवा उपलब्ध गराउने सम्झौता भएको छ । 

सोमबार एक कार्यक्रमका बीच यी दुई कम्पनीले साझेदारी गरेका हुन् । यस सहकार्यसँगै अब नेपालमा बिक्री हुने प्रत्येक नयाँ बीवाईडी सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स सिम जडान गरिनेछ । 

यस आईओटी प्रविधिको प्रयोगले चालक तथा यात्रुहरूलाई कुनै बाह्य उपकरण, वाई-फाई हटस्पट वा मोबाइल डेटामा निर्भर नभई गाडीकै सिस्टमबाट सीधा इन-भेइकल इन्टरनेट कनेक्टिभिटी प्राप्त हुनेछ । यसबाट बीवाईडी एप इकोसिस्टम, युट्युब, स्पोटिफाइ, काराओके जस्ता इन्फोटेनमेन्ट सेवा र भरपर्दो नेभिगेसन सहजै प्रयोग गर्न सकिनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटी थप्दै ग्राहकलाई डिजिटल अनुभव प्रदान गर्ने बताए । 

त्यसैगरी, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भरपर्दो इन–भेइकल कनेक्टिभिटीले ग्राहकहरूलाई बीवाईडीका आधुनिक सुविधाहरूको पूर्ण उपभोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

यो सुविधा नयाँ गाडी खरिदकर्ताका लागि मात्र नभई पुराना बीवाईडी धनीहरूका लागि पनि उपलब्ध हुनेछ । पुराना ग्राहकहरूले देशभरका १३ आधिकारिक बीवाईडी सर्भिस सेन्टरमा गएर एनसेलको आईओटी सिम जडान गरी यो सेवा लिन सक्नेछन् । 

यद्यपि, उपलब्ध सुविधाहरू, डेटा प्लान, भ्यालिडिटी र शुल्क विवरण सवारी साधनको मोडल र सेवा प्याकेज अनुसार फरक पर्न सक्नेछ ।

Share News