विकासन्युज

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डहरूको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन् । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड–२, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाइधनीले ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीले १० प्रतिशत नगद लाभांश पाउनेछन् । लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी बुक क्लोज मिति तय गरिनेछ ।

कालीमाटीमा सबैभन्दा महँगो तरकारी पार्सले, किलोको १ हजार ४५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारीको मूल्यमा वस्तुअनुसार उल्लेख्य फरक देखिएको छ । कालीमाटी बजारमा ठूलो गोलभेडा (नेपाली) को औसत थोक मूल्य प्रतिकिलो ७१ रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेडाको औसत मूल्य ७५ रुपैयाँ छ । स्थानीय सानो गोलभेडाको औसत मूल्य ३५ रुपैयाँ र टनेलको सानो गोलभेडाको ५२ रुपैयाँ ५० पैसा रहेको छ । आलुतर्फ रातो आलु (लाम्चाे) को औसत मूल्य ४९ रुपैयाँ ६७ पैसा, रातो आलु (गाेलाे) र (मुडे) को ५० रुपैयाँ ८३ पैसा तथा भारतीय रातो आलुको ३८ रुपैयाँ ५० पैसा रहेको समितिले जनाएको छ । सेतो आलुको औसत मूल्य ३६ रुपैयाँ छ । प्याजको औसत थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । स्थानीय गाजरको ११० रुपैयाँ र तराईको गाजरको ७५ रुपैयाँ औसत मूल्य निर्धारण भएको छ । तरकारीमध्ये स्थानीय काउलीको औसत मूल्य ९५ रुपैयाँ, रातो मुलाको २५ रुपैयाँ, तने बोडीको ८२ रुपैयाँ ५० पैसा, भटमासको ११२ रुपैयाँ ५० पैसा, तिते करेलाको ४५ रुपैयाँ र लौकाको ५५ रुपैयाँ रहेको छ । यस्तै, स्थानीय परवरको औसत मूल्य ६४ रुपैयाँ, तराईको परवरको ६१ रुपैयाँ ६७ पैसा, घिरौलाको २५ रुपैयाँ, चिचिन्डोको २५ रुपैयाँ र फर्सीको ५५ रुपैयाँ रहेको छ । फलफूलतर्फ स्याउ (फुजी) को औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ, नेपाली केराको २७५ रुपैयाँ, मालभोग केराको १९० रुपैयाँ र कागतीको २२५ रुपैयाँ रहेको छ । अनारको औसत मूल्य ३२५ रुपैयाँ तथा आँप (मालदह) को २६५ रुपैयाँ रहेको छ । कालीमाटी बजारमा सबैभन्दा महँगो वस्तुमध्ये पार्सलेको औसत मूल्य प्रतिकिलो १ हजार ४५० रुपैयाँ रहेको छ । सिताके च्याउको औसत मूल्य ९०० रुपैयाँ, डल्ले च्याउको ५०८ रुपैयाँ ३३ पैसा र सुकेको खुर्सानीको ५२५ रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ । यस्तै, किवीको औसत मूल्य ३७५ रुपैयाँ, एभोकाडोको ४५० रुपैयाँ, ड्रागन फ्रुट (नेपाली) को ४५० रुपैयाँ र अदुवाको २१३ रुपैयाँ ३३ पैसा रहेको छ । समितिले बजारको माग र आपूर्ति अवस्थाका आधारमा मूल्य निर्धारण हुने जनाएको छ ।

दक्षिण कोरियाको सत्तारुढ दलको अध्यक्षमा पूर्वप्रधानमन्त्री किम निर्वाचित

काठमाडौं । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम मिन–सुक सत्तारुढ डेमोक्रेटिक पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनको नतिजाअनुसार किम पार्टीको नेतृत्व चयन प्रक्रियामा विजयी भएका हुन् । नेतृत्वका लागि भएको प्रतिस्पर्धामा किमले कुल ५४.०८ प्रतिशत मत प्राप्त गर्दै शिर्ष स्थान सुरक्षित गरे । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जुङ चुङ–रेलाई पराजित गरेका हुन्, जसले ४५.९२ प्रतिशत मत प्राप्त गरे । जुङ पार्टी प्रमुखका रूपमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिए ।  निर्वाचनको पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि र्याङ्क–च्वाइस (वरीयतामा आधारित) मतदान प्रणालीमार्फत दोस्रो चरण (रनअफ) बाट नेतृत्वको टुङ्गो लगाइएको हो । पार्टीले भर्खरै कार्यान्वयनमा ल्याएको यस नयाँ प्रणालीअनुसार मतदाताले उम्मेदवारहरूलाई पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । यदि कसैले पनि स्पष्ट बहुमत नल्याएमा, सबैभन्दा कम मत पाउने उम्मेदवारको दोस्रो प्राथमिकताको मतलाई अन्य उम्मेदवारहरूमा बाँडफाँड गरी विजेता घोषणा गरिन्छ । यस निर्वाचनमा प्रतिनिधि तथा दर्ता भएका पार्टी सदस्यहरूको मतलाई ७० प्रतिशत र राष्ट्रिय जनमत सर्वेक्षणको नतिजालाई ३० प्रतिशत भार दिइएको थियो । विजयी भएपछि किमले पार्टी सदस्य र आम नागरिकप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा राष्ट्रपति र सरकारलाई रचनात्मक सहयोग पुर्याउने तथा पार्टी र सरकारबीच सन्तुलित र सहयोगात्मक सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।    

७ प्रतिशत लाभांश बाँड्ने माछापुच्छ्रे क्यापिटलको घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ७ प्रतिशतका दरले २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ २४ गते दिउँसो साढे १२ बजे काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेस बैंक्वेटमा सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

सिद्धार्थ बैंकबाट बाहिरिदैँ ४ जना संस्थापक

काठमाडौं । सिद्धार्थ बैंकका चार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका छन् । उनीहरूले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् ।  बैंकका अनुसार संस्थापक सेयरधनी कृष्णराज पराजुलीले आफ्नो नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङले ४७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेका छन् । पराजुली र गुरुङको नाममा रहेको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । यस्तै, लीलादेवी शारदाले २ लाख ७२ हजार ७३७ कित्ता र अजयकुमार जालानले ३८ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । शारदा र जालानको नाममा रहेको सेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ता समेतले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । 

नेपाली ४ कम्पनी विरुद्ध अमेरिका र इटलीका कम्पनीको उजुरी

काठमाडौं । उद्योग विभागले विभिन्न उद्योग तथा कम्पनीविरुद्ध दायर भएका ट्रेडमार्कसम्बन्धी उजुरीमा ७ दिनभित्र लिखित प्रतिक्रिया पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । विभागका अनुसार अमेरिकास्थित म्याकडोनल्ड्स कर्पोरेसनले नवलपरासीस्थित ट्रस्ट फुड्स प्रोडक्ट्स प्रालिविरुद्ध ‘ह्याप्पी फुड’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको छ । त्यसैगरी, म्याकडोनल्ड्स कर्पोरेसनले विराटनगरस्थित एम.आर.एफ.जी. एड्हेसिभ केमिकल एन्ड इन्डस्ट्रिजविरुद्ध ‘एमटीवाईआरई केयर’ लोगो ट्रेडमार्कसम्बन्धी दाबी विरोधको उजुरी दर्ता गरेको विभागले जनाएको छ । यस्तै, अमेरिकाको कोहलर कम्पनीले पर्सास्थित रोलेक्स सेनिटरी वेयर्स प्रालिविरुद्ध ‘आरएसडब्ल्यू कोहलर’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको छ । इटलीको डोल्से एन्ड गब्बाना ट्रेडमाक्र्स एसआरएलले रुपन्देहीस्थित अंकुर सोप इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिविरुद्ध ‘डीजी सोप’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको विभागले जनाएको छ । विभागका अनुसार उजुरीको प्रतिलिपिसहित सम्बन्धित उद्योग तथा कम्पनीको नाम र ठेगानामा यसअघि नै सात दिनको म्याद दिएर सूचना पठाइएको थियो । तर, हालसम्म कुनै पनि कम्पनीबाट लिखित प्रतिक्रिया प्राप्त नभएको र तामेली प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले बाटोको म्यादबाहेक सात दिनभित्र आवश्यक प्रमाणसहित कानुन शाखामा उपस्थित भई लिखित प्रतिक्रिया पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । निर्धारित अवधिभित्र प्रतिक्रिया प्राप्त नभए प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने र त्यसपछि सम्बन्धित पक्षको कुनै उजुरी वा दाबी स्वीकार नगरिने विभागले स्पष्ट पारेको छ ।

७ निर्माण कम्पनी ३ वर्षसम्म सरकारी ठेक्काबाट आउट

काठमाडौं । सरकारले सात वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने कम्पनीमध्ये अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण सेवा, देउरा–बझाङलाई डोटीस्थित खत्याडी माध्यमिक विद्यालयको सिफारिसमा कालोसूचीमा राखिएको हो ।  त्यसैगरी, शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेका एम÷एस बागेश्वरी मल्टिपर्पोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय तथा पूर्वाधार विकास निर्देशनालय, सुर्खेतको सिफारिसमा कालोसूचीमा समावेश गरिएको छ । यस्तै, पवन महतो मुख्य व्यक्ति रहेको रमन कन्स्ट्रक्सन, धनुषा, श्यामकिशोर साह मुख्य व्यक्ति रहेको सुगम निर्माण सेवा, धनुषा र उद्धव भट्टराई मुख्य व्यक्ति रहेको ओम इन्फ्राटेक, ललितपुरलाई पनि कालोसूचीमा राखिएको छ । यी कम्पनीलाई सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना तथा सडक विभाग, सन्धिखर्क–अर्घाखाँचीको सिफारिसमा कालोसूचीमा राखिएको हो ।  सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सबै कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

३६ विद्यालयमा प्रधानाध्यापक रिक्त, महानगरले माग्यो आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा सञ्चालित सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाको शिक्षा विभागका अनुसार २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयमा रिक्त रहेका तथा पदावधि समाप्त हुन एक महिनाभन्दा कम समय बाँकी रहेका विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गरिएको हो । शिक्षा नियमावली, २०५९ (दशौं संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा महानगरपालिकाको निर्णयअनुसार आवश्यक योग्यता पुगेका स्थायी शिक्षकहरूले सम्बन्धित विद्यालयमा आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित भदौ १६ गतेभित्र सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेस गर्नुपर्नेछ । प्रधानाध्यापक पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया, आवेदन फारामको ढाँचा तथा विज्ञापन गरिएका विद्यालयहरूको विस्तृत विवरण काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिने जनाइएको छ ।