विकासन्युज

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे, आजदेखि सेवा सुरु

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरिएको छ । २०८२  कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गरेको बैंकले जनाएको छ ।  बैंकका अनुसार नयाँ स्थानबाट आज (भदौ ३ गते) बुधबारदेखि केन्द्रीय कार्यालयको सेवा सञ्चालनमा आएको छ । बैंकले कार्यालय स्थानान्तरणसम्बन्धी जानकारी आफ्ना ग्राहक तथा सम्बन्धित सबैलाई गराउँदै थप जानकारीका लागि बैंकको वेबसाइट वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकको नयाँ केन्द्रीय कार्यालय बालुवाटारमा राष्ट्रपति भवनबाट नजिकै वडा नम्बर ३ को कार्यालय तथा नेपाल आर्मी कल्याणकारी बोर्डको कार्यालय आसपासमा रहेको छ । 

देशभर मनसुन सक्रिय, ५ प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, पहाडी भू-भागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने पूर्वानुमान गरिएको छ । आज राति देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ । रातिको समयमा पनि हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

४४ वटा म्याक्सस ई-टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म छुटको अफर

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई-टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ । बुकिङ भएका सवारीमध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन् । कम्पनीले तीन साताअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको ई-टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो । नाइमा मोबिलिटी एक्सपोमा कम्पनीले उक्त मोडलमा २ लाख रुपैयाँ छुट उपलब्ध गराएको थियो । त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो । उक्त छुट सुविधा एक्सपो अवधिका लागि मात्र तय गरिएको भए पनि एक्सपोपछि पनि केही दिन अफर कायम राख्न ग्राहकबाट अनुरोध आएपछि कम्पनीले भदौ १५ गतेसम्म छुट सुविधा निरन्तरता दिने निर्णय गरेको कम्पनीले जनाएको छ । अफरअन्तर्गत म्याक्सस ई-टेरेन पिकअप बुकिङ गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । ‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई-टेरेन पिकअप छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । विशेषगरी युवा पुस्ता, कच्ची सडकमा नियमित यात्रा गर्ने तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यो पिकअपलाई रुचाएको कम्पनीले जनाएको छ । आकर्षक तथा आक्रामक डिजाइन, सुविधासम्पन्न कारमा उपलब्ध हुने फिचर र व्यावसायिक तथा निजी दुवै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले ई-टेरेनप्रति ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ । उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् आयोजनाका क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ । म्याक्सस ई-टेरेन चीनको प्रसिद्ध सवारीसाधन निर्माता कम्पनी एसएआईसीअन्तर्गतको म्याक्सस ब्रान्डले उत्पादन गरेको हो । उत्पादन कम्पनीको अन्तर्राष्ट्रिय विश्वसनीयतासँगै नेपालमा हिमालय मोटरक्सले बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स तथा सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले ग्राहकको विश्वास बढेको कम्पनीको दाबी छ ।

ब्यारेक छाडेर बेपत्ता ९ सशस्त्र प्रहरीलाई ७ दिनको अल्टिमेटम

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले लामो समयदेखि बिदा तथा आफुखुसी लाइन–ब्यारेक छाडेर गैरहाजिर रहेका ९ जना सशस्त्र प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले सम्बन्धित कर्मचारीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।  गैरहाजिर रहेकाहरुमा सशस्त्र प्रहरी जवान रामा गिरी, भानुभक्त बुढाथोकी, प्रेमबहादुर खत्री, अनिल लुहार, उमेश रुपचा, होमेचन्द्र राई, रमेश लिम्बु रहेका छन् । यस्तै, सशस्त्र प्रहरी परिचर (सप्रप) महेन्दर पासी र विकास राई रहेका छन् । उनीहरू सशस्त्र प्रहरी बलका विभिन्न बाहिनी, गण, गुल्म तथा अन्य कार्यालयमा कार्यरत रहेको जनाइएको छ ।  कार्यालयका अनुसार बिदा तथा आफुखुसी लाइन–ब्यारेक छाडेर गएपछि उनीहरू कुनै किसिमको सम्पर्कमा समेत नरहेको पाइएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

लेखापाल घिमिरेलाई सेवाबाट हटाइँदै, ३० दिनको अन्तिम मौका

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बिना जानकारी लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेकी एक लेखापाललाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ । महालेखा नियन्त्रक कार्यालय, अनामनगरले यान्त्रिक तालिम केन्द्र, पाटनढोका, ललितपुरमा कार्यरत नेपाल प्रशासन सेवा, लेखा समूह, राजपत्र अनङ्कित प्रथम श्रेणीकी लेखापाल सरस्वती घिमिरे ज्ञवालीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको हो ।  कार्यालयका अनुसार ज्ञवाली वि.सं २०८१ पुस २ गतेदेखि आफू कार्यरत कार्यालयमा बिना जानकारी अनुपस्थित रहँदै आएकी छन् । उनी ९० दिनभन्दा बढी समयसम्म कार्यालयमा हाजिर नभएको पाइएको कार्यालयले जनाएको छ ।  यसअघि गत साउन १२ गते गोरखापत्र दैनिकमार्फत १५ दिने सूचना प्रकाशित गरी सफाइ र स्पष्टीकरण पेस गर्न आग्रह गरिएको थियो । तर, तोकिएको अवधिभित्र कुनै पनि स्पष्टीकरण प्राप्त नभएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम ३० दिनभित्र सफाइ तथा स्पष्टीकरण पेस गर्न दोस्रो पटक मौका दिइएको छ । यदि अवधिभित्र स्पष्टीकरण पेस नगरे भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने कार्यालयले जनाएको छ । 

४ हजार मेगावाटका १९ आयोजना, विजनेश विस्तारमा आक्रामक प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ऊर्जा, प्रसारण, विद्युत व्यापार, इन्जिनियरिङ सेवा तथा डिजिटल पूर्वाधार क्षेत्रमा १९ वटा सहायक तथा सम्बद्ध कम्पनीमार्फत व्यवसाय विस्तारलाई तीव्रता दिएको जनाएको छ । प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार सहायक कम्पनीमार्फत अतिरिक्त लगानी परिचालन, आयोजनाको जोखिम व्यवस्थापन, विशिष्टिकृत दक्षता विकास तथा रणनीतिक महत्वका ऊर्जा आयोजनाको कार्यान्वयनलाई गति दिन सफल भएको छ । प्राधिकरणको पहिलो सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी र त्यसका तीन सहायक कम्पनी सान्जेन, मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत हाल २९२.४ मेगावाट विद्युत उत्पादन भइरहेको छ । चिलिमेका अन्य दुई सहायक कम्पनीमध्ये चिलिमे सेती हाइड्रोपावर कम्पनीले ८७ मेगावाट क्षमताको सेती नदी–३ जलविद्युत आयोजना विकास गरिरहेको छ भने चिलिमे इन्जिनियरिङ सर्भिसेस कम्पनीले इन्जिनियरिङसम्बन्धी सेवा प्रदान गरिरहेको छ । श्रेष्ठका अनुसार अपर तामाकोशी हाइड्रोपावर कम्पनीले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र सञ्चालन गरिरहेको छ । कम्पनीले २०.६६ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको विकाससमेत गरिरहेको छ । त्यस्तै, तामाकोशी जलविद्युत कम्पनीले ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । मोदी जलविद्युत कम्पनीले कास्कीमा ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ र १८.२ मेगावाटको माथिल्लो मोदी क्यास्केड आयोजना विकास गरिरहेको उनले बताए ।  दूधकोशी जलविद्युत कम्पनीले ओखलढुङ्गा र खोटाङमा ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना विकास गरिरहेको छ । एसियाली विकास बैंकको सहयोगमा विस्तृत अध्ययन र डिजाइनको काम अघि बढिरहेको आयोजनाको वित्तीय व्यवस्थापन अक्टोबर २०२६ सम्म सम्पन्न गर्ने र सन् २०३५ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । चैनपुर सेती जलविद्युत कम्पनीले बझाङमा २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ भने ग्रिड कनेक्सन सम्झौता पनि सम्पन्न भएको छ । त्रिशूली जलविद्युत कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजना निर्माण गरिरहेको छ । आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म आयोजनाको भौतिक तथा वित्तीय प्रगति करिब ७० प्रतिशत पुगेको छ । उत्तर गंगा पावर कम्पनीले निर्माण गर्ने ८२८ मेगावाटको उत्तर गंगा जलाशययुक्त जलविद्युत आयोजनाले पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । यसैगरी, तनहुँ हाइड्रोपावर कम्पनीबाट निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति करिब ७८ प्रतिशत पुगेको छ । कम्पनीले १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजना पनि विकास गरिरहेको छ । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले सङ्खुवासभामा १ हजार ६३.३६ मेगावाट क्षमताको अपर अरुण तथा ४० मेगावाटको इखुवा खोला जलविद्युत आयोजना विकास गरिरहेको छ । प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ मा ५५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ । त्यस्तै, नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेडले नेपालभित्र तथा सीमापार विद्युत व्यापारका लागि आवश्यक कार्ययोजना तयार गरेको जनाएको छ । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले ४०० केभी क्षमताको ढल्केबर–भिट्टामोड प्रसारण लाइन सञ्चालन गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०८२÷८३ मा २८ करोड ३७ लाख ९० हजार रुपैयाँको कारोबार गरी ११ करोड ५१ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । प्राधिकरणले सूचना प्रविधिको अधिकतम उपयोग र व्यवसाय विस्तार गर्ने उद्देश्यले नेपाल डिजिटल इन्फ्रास्ट्रक्चर कम्पनीसमेत स्थापना गरेको छ । कम्पनीले ग्रिड सञ्जालमा आधारित अप्टिकल फाइबर र डाटा सेन्टरसम्बन्धी पूर्वाधार निर्माण गरी डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग गर्नुका साथै प्राधिकरणको आम्दानीका स्रोतलाई विविधीकरण गर्ने लक्ष्य लिएको छ ।

लामो समय अनुपस्थित रहेपछि सुदूरपश्चिमका प्रदेश सभा सदस्य देउवा पदमुक्त

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ ।  प्रदेश सभा बैठकमा लामो समयदेखि बिनाजानकारी लगातार अनुपस्थित रहँदै आएकाले उनलाई पदमुक्त गर्ने निर्णय गरिएको हो ।  सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय भइसकेको र यसबारे भोलिको प्रदेश सभा बैठकमा औपचारिक घोषणा गर्ने तयारी रहेको जानकारी दिएका छन् ।  पूर्वमन्त्री समेत रहेका देउवा गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनलगत्तै पार्टी, प्रदेश सभा र प्रदेश सरकार कसैलाई पनि आधिकारिक जानकारी नदिई अमेरिका गएका थिए ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाशबहादुर बिनासूचना लगातार अनुपस्थित रहे पनि विगत ११ महिनादेखि उनको खातामा नियमित रूपमा प्रदेश सभाबाट तलबभत्ता दाखिला हुँदै आएको थियो ।  सूचना नै नदिई लामो समय गैरहाजिर रहेपछि सभामुखले उहाँलाई पदमुक्त गर्ने कानुनी प्रक्रिया अगाडि बढाएका हुन् । 

मञ्जुश्री फाइनान्स र अल्फा केयरबीच स्वास्थ्य सेवामा सहकार्यका लागि सम्झौता

काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच विस्तार गर्ने उद्देश्यका साथ मञ्जुश्री फाइनान्स लिमिटेड र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच समझदारीपत्रमा औपचारिक हस्ताक्षर भएको छ ।  वित्तीय र स्वास्थ्य क्षेत्रका यी दुई प्रतिष्ठित संस्थाबीच भएको यस सहकार्यले सेवाग्राहीलाई प्रभावकारी, अर्थपूर्ण र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आगामी दिनमा नयाँ तथा उपयोगी योजनाहरू अघि बढाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । यस सम्झौतालाई दुवै संस्थाले आफ्नो सहकार्यको महत्त्वपूर्ण सुरुवातका रूपमा लिएका छन् । आगामी दिनहरूमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।  “स्वस्थ र उज्ज्वल भविष्य निर्माणका लागि सँगसँगै अघि बढ्ने“ साझा प्रतिबद्धता व्यक्त गर्दै दुवै पक्षले गुणस्तरीय स्वास्थ्य सेवालाई आम नागरिकका लागि थप पहुँचयोग्य बनाउने बताएका छन् ।