४ वटा एटीएम मेशिन बेच्दै गोर्खाज फाइनान्स
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले प्रयोगमा रहेका ४ थान एटीएम मेसिन लिलामी गर्ने भएको छ । फाइनान्सले ‘जस्तो अवस्थामा जहाँ छ, त्यही अवस्थामा’ एटीएम मेसिन बिक्री गर्न लागेको हो । फाइनान्सका अनुसार लिलामीमा राखिएका एटीएम मेसिन डाइबोल्ड ४२९÷५१० मोडलका छन् । उक्त एटीएम खरिद गर्न इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले फाइनान्समा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा दर्ता प्रमाणपत्र, प्यान÷भ्याट दर्ता प्रमाणपत्र तथा पछिल्लो कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । व्यक्तिगत बोलपत्रदाताले नागरिकता र प्यान प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ । बोलपत्रदाताले आफू कालोसूचीमा नपरेको हुनुपर्नेछ । लिलामीमा राखिएका एटीएम मेसिन सम्बन्धित स्थानमा पुगेर निरीक्षण गर्न सकिने फाइनान्सले जनाएको छ ।
आफ्नै हेड अफिस बनाउँदै महालक्ष्मी विकास बैंक, भवन र जग्गाको खोजीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालय (आफ्नै हेड) अफिस बनाउने भएको छ । आफ्नै स्वामित्वको हेड अफिसका लागि बैंकले काठमाडौंमा जग्गा वा भवन खरिद गर्ने भएको हो । बैंकले दरबारमार्ग, कमलादी, कमलपोखरी, ज्ञानेश्वर, गैह्रीधारा, नारायणचौर, नक्साल, नागपोखरी, विशालनगर, लाजिम्पाट, पानीपोखरी, बालुवाटार र महाराजगन्ज क्षेत्रमा जग्गा वा भवन खरिद गर्न खोजेको हो । बैंकले तोकेको क्षेत्र चक्रपथभित्रको हुनुपर्नेछ । बैंकका अनुसार कम्तीमा ६ मिटर चौडा सडकसहित कम्तीमा ५० फिट मोहडा भएको ३० आना वा सोभन्दा बढी क्षेत्रफलको जग्गा आवश्यक छ । त्यस्तै, बैंकको केन्द्रीय कार्यालय सञ्चालनका लागि उपयुक्त भवन भए कम्तीमा ३५ हजार वर्गफिट क्षेत्रफल र २५ वटा साना चारपाङ्ग्रे तथा ७५ वटा दुईपाङ्ग्रे सवारीसाधन अट्ने पार्किङ सुविधा हुनुपर्नेछ । बैंकले जग्गा वा भवन बिक्री गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाबाट निवेदन आह्वान गरेको छ । भवन प्रस्ताव गर्नेले भवनको नक्सा, सम्बन्धित निकायबाट जारी निर्माण सम्पन्न प्रमाणपत्र तथा भूकम्प प्रतिरोधी संरचना भएको प्रमाण पेस गर्नुपर्नेछ । जग्गा वा भवन बिक्री गर्नेले जग्गाधनी दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा संघसंस्था, फर्म वा कम्पनी भए दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर र सञ्चालक समितिको निर्णयसहित बिक्री मूल्य अंक र अक्षरमा स्पष्ट खुलाउनुपर्नेछ । साथै, प्रस्तावित जग्गा वा भवन कुनै पनि कानुनी तथा व्यावहारिक समस्याबाट मुक्त हुनुपर्नेछ । जग्गाधनी प्रमाणपुर्जामा उल्लेखित क्षेत्रफल र फिल्डमा नापजाँच गर्दा कायम हुने क्षेत्रफलमध्ये जुन कम हुन्छ, सोही क्षेत्रफललाई मान्यता दिइने बैंकले जनाएको छ । बिक्रीकर्ताले चालु आर्थिक वर्षसम्मको मालपोत तथा पुँजीगत लाभकरसमेत स्वयं तिर्नुपर्नेछ ।
विद्युत् निर्यात चार गुणा बढ्यो, नेपालले कमायो २९ अर्ब ३१ करोड
काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ । उक्त अवधिमा नेपालले ३ हजार ९६५ गिगावाट घण्टा विद्युत् निर्यात गरेको हो । विद्युत् निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा ६६.६० प्रतिशतले बढेको नेपाल विद्युत् प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालले सो अवधिमा १ हजार १७१ गिगावाट घण्टा विद्युत् आयात गरेको थियो । आयात र निर्यातबीचको अन्तरका आधारमा नेपालको खुद विद्युत् निर्यात २ हजार ७९४ गिगावाट घण्टा पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो । विद्युत् आयातका लागि नेपालले १० अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ । भारतसँग नेपालको विद्युत् व्यापार पावर एक्सचेन्ज मार्केटअन्तर्गत डे-अहेड मार्केट तथा रियल-टाइम मार्केट, मध्यम अवधिका द्विपक्षीय सम्झौता तथा नेपाल-भारत विद्युत् आदानप्रदान संयन्त्रमार्फत हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणले हरियाणाका विद्युत् वितरण कम्पनीहरूलाई दुई छुट्टाछुट्टै २०० मेगावाटका सम्झौतामार्फत कुल ४०० मेगावाट विद्युत् आपूर्ति गर्ने सम्झौता गरेको छ । त्यस्तै, नेपाल-बिहार १३२ केभी प्रसारण पूर्वाधारमार्फत बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडलाई २०० मेगावाटसम्म विद्युत् निर्यात गर्ने मध्यम अवधिको सम्झौता भएको छ । गत आर्थिक वर्ष २०८२/८३ सम्म प्राधिकरणले बंगलादेशको ४० मेगावाटसहित भारततर्फ अधिकतम १ हजार २०० मेगावाटसम्म विद्युत् निर्यात गर्दै आएको छ । यसैबीच, १४-१५ जुलाई २०२६ मा सम्पन्न १३औँ संयुक्त कार्यदल तथा संयुक्त निर्देशन समितिको बैठकले बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन सञ्चालनमा नआएसम्म अन्तरिम रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था स्वीकृत गरेको छ । उक्त अवधिमा प्रसारण लाइनमार्फत नेपालले अधिकतम १३० मेगावाट विद्युत् आयात र २०० मेगावाट विद्युत् निर्यात गर्न सक्नेछ । बैठकले ढल्केबर-मुजफ्फरपुर ४०० केभी तथा ढल्केबर-सीतामढी ४०० केभी प्रसारण लाइनको संयुक्त क्षमता पनि विस्तार गर्ने निर्णय गरेको छ । निर्णयअनुसार नेपालबाट विद्युत् निर्यातका लागि संयुक्त क्षमता १ हजार ६५० मेगावाट तथा नेपालले विद्युत् आयात गर्न सक्ने क्षमता १ हजार ४०० मेगावाट कायम गरिएको छ । यससँगै नेपाल-भारतबीचको सीमापार विद्युत् व्यापार क्षमता थप विस्तार हुने भएको छ ।
सर्वोच्चद्वारा वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार अन्तिम सुनुवाइ गर्दै श्रेष्ठको नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो । श्रेष्ठविरुद्ध उपेन्द्रबहादुर कार्कीले रिट निवेदन दायर गरेका थिए । यद्यपि, कार्कीले आफूलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्ने मागसहित गरेको दाबी भने नपुगेको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ । श्रेष्ठको नियुक्ति पर्यटन मन्त्रालयसम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ विपरीत देखिएको थियो । उक्त मापदण्डअनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । श्रेष्ठ ६५ वर्ष उमेर नाघिसकेको तथा निगमबाट अवकाश पाएको ३४ वर्षपछि पुनः नियुक्त गरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष पदबाट पदमुक्त भएका छन् । अब सरकारले नयाँ प्रक्रियाबाट निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्नेछ । श्रेष्ठ भने निगमको सञ्चालक समिति सदस्यका रूपमा कायम रहनेछन् ।
महिनावारीमा हुने पेट दुखाइबाट राहत कसरी पाउने ?
काठमाडौं । महिनावारीका बेला पेट, कम्मर र तिघ्रामा हुने दुखाइ (डिस्मेनोरिया) बाट राहत पाउन तातोपानीले नुहाउने वा हिटिङ प्याड प्रयोग गर्ने ताप उपचार प्रभावकारी उपाय बन्न सक्छ । महिनावारीको समयमा पाठेघरका मांसपेशी खुम्च्याउने 'प्रोस्टाग्लान्डिन' नामक रसायनको मात्रा बढी हुँदा ऐंठन र दुखाइ तीव्र हुने गर्छ । यस्तो अवस्थामा १० देखि २० मिनेटसम्म तातोपानीमा बस्दा वा सेक्दा मांसपेशीले आराम पाउनुका साथै प्रभावित क्षेत्रमा रक्तसञ्चार बढ्ने र प्राकृतिक रूपमा दुखाइ कम गर्ने 'एन्डोर्फिन' उत्पादन भई तनाव एवं ऐंठन घट्छ । यात्रा वा कार्यालयमा हिटिङ प्याड सहज हुने भए पनि पूरै शरीरको आरामका लागि तातोपानीले नुहाउनु फलदायी हुन्छ । तातोपानीका साथै हल्का व्यायाम, पर्याप्त निद्रा, प्रशस्त पानी र म्याग्नेसियम तथा ओमेगा-३ युक्त खानपानले पनि दुखाइ व्यवस्थापनमा सघाउँछ । यद्यपि, यो उपाय हल्का र मध्यम दुखाइका लागि मात्र उपयुक्त हुने भएकाले हरेक महिना असह्य दुखाइ हुने वा अत्यधिक रक्तस्राव जस्ता असामान्य लक्षण देखिएमा बेवास्ता नगरी समयमै स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री पोखरेल शुक्रबार धनगढी जाने
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालासँग शिक्षा ऐन र विद्यालय शिक्षा सुधारका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिनेछ । कार्यक्रममा सहभागी सरोकारवालाबाट आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषय, विद्यालय शिक्षामा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारका नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ ।
स्वास्थ्य बीमामा बजेट घटाइएको छैन, १५ अर्ब पुर्याइएको छ: अर्थमन्त्री डा. वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ’नागरिक, नीति र नेतृत्व’ नामक संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बीमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले यो स्पष्ट पारेका हुन् । गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रूपैयाँ बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको उनले जानकारी दिए । यस्तै, यस वर्षको बजेटमा स्वास्थ्य बीमाको बजेट ५ अर्बले बढाएर १५ अर्ब छुट्याइएको पनि उहाँले स्पष्ट पारे । “गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,“ उनले भने, “यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु । “ उनले स्वास्थ्य बीमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शङ्का रहेको बताए । स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत स्पष्ट पारेका हुन् ।
सरकारले पीपीए खोल्न अघि बढायो प्रक्रिया
काठमाडौं । सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा विहीबार बेलुका बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ । उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने व्यापार शाखाका निर्देशक सदस्य सचिव रहेका छन् । सञ्चालक समितिको निर्णयमा भनिएको छ, ‘आर्थिक ऐन, २०८३ मा व्यवस्था भएबमोजिम उत्पादन अनुमति प्राप्त उर्जा उत्पादकहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने सम्बन्धमा विद्यमान आधार र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेतको अध्ययन विश्लेषण गरी विद्युत खरिद सम्झौता (पीपीए) को मापदण्ड ७ दिनभित्र तयार गर्न सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।’