आफ्नै हेड अफिस बनाउँदै महालक्ष्मी विकास बैंक, भवन र जग्गाको खोजीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालय (आफ्नै हेड) अफिस बनाउने भएको छ । आफ्नै स्वामित्वको हेड अफिसका लागि बैंकले काठमाडौंमा जग्गा वा भवन खरिद गर्ने भएको हो ।

बैंकले दरबारमार्ग, कमलादी, कमलपोखरी, ज्ञानेश्वर, गैह्रीधारा, नारायणचौर, नक्साल, नागपोखरी, विशालनगर, लाजिम्पाट, पानीपोखरी, बालुवाटार र महाराजगन्ज क्षेत्रमा जग्गा वा भवन खरिद गर्न खोजेको हो । बैंकले तोकेको क्षेत्र चक्रपथभित्रको हुनुपर्नेछ ।

बैंकका अनुसार कम्तीमा ६ मिटर चौडा सडकसहित कम्तीमा ५० फिट मोहडा भएको ३० आना वा सोभन्दा बढी क्षेत्रफलको जग्गा आवश्यक छ । त्यस्तै, बैंकको केन्द्रीय कार्यालय सञ्चालनका लागि उपयुक्त भवन भए कम्तीमा ३५ हजार वर्गफिट क्षेत्रफल र २५ वटा साना चारपाङ्ग्रे तथा ७५ वटा दुईपाङ्ग्रे सवारीसाधन अट्ने पार्किङ सुविधा हुनुपर्नेछ ।

बैंकले जग्गा वा भवन बिक्री गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाबाट निवेदन आह्वान गरेको छ । भवन प्रस्ताव गर्नेले भवनको नक्सा, सम्बन्धित निकायबाट जारी निर्माण सम्पन्न प्रमाणपत्र तथा भूकम्प प्रतिरोधी संरचना भएको प्रमाण पेस गर्नुपर्नेछ । जग्गा वा भवन बिक्री गर्नेले जग्गाधनी दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा संघसंस्था, फर्म वा कम्पनी भए दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर र सञ्चालक समितिको निर्णयसहित बिक्री मूल्य अंक र अक्षरमा स्पष्ट खुलाउनुपर्नेछ । 

साथै, प्रस्तावित जग्गा वा भवन कुनै पनि कानुनी तथा व्यावहारिक समस्याबाट मुक्त हुनुपर्नेछ । जग्गाधनी प्रमाणपुर्जामा उल्लेखित क्षेत्रफल र फिल्डमा नापजाँच गर्दा कायम हुने क्षेत्रफलमध्ये जुन कम हुन्छ, सोही क्षेत्रफललाई मान्यता दिइने बैंकले जनाएको छ । बिक्रीकर्ताले चालु आर्थिक वर्षसम्मको मालपोत तथा पुँजीगत लाभकरसमेत स्वयं तिर्नुपर्नेछ ।

Share News