विकासन्युज

मार्क जुकरबर्गले किने आयरल्यान्डमा ऐतिहासिक दरबार

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले आयरल्यान्डको काउन्टी वाटरफोर्ड मा रहेको १९औँ शताब्दीको ऐतिहासिक स्ट्रान्काली क्यासल खरिद गरेका छन्। गोथिक शैलीमा बनेको यो सम्पत्ति उनले र उनकी पत्नी एक निजी डिलमार्फत किनबेच गरेका हुन्। उनले यो महल भ्रमणका  क्रममा बिदा मनाउने ठाउँको रूपमा प्रयोग गर्नेछन् । सार्वजनिक नगरिएको यो सम्झौतामा किनिएको दरबारको मूल्य खुलाइएको छैन । तर पहिलोपटक यो खबर छाप्ने पत्रिका ‘द आइरिस टाइम्स’ ले यसको मूल्य २ करोड युरो (करिब १७ मिलियन पाउन्ड) देखि ३ करोड युरोको बीचमा रहेको अनुमान गरेको छ । द हाउस अफ आयरल्यान्ड नामक पुस्तकका अनुसार यो दरबार सन् १८३० मा तत्कालीन कन्जर्भेटिभ सांसद जोन केलीका लागि बनाइएको थियो । वास्तुकार (आर्किटेक्ट) जेम्स र जर्ज रिचर्ड पेनले यसलाई यति विशाल शैलीमा डिजाइन गरेका थिए कि यसको ‘डाइनिंग रुम’बाट भान्छासम्म पुग्न मात्रै साढे चार लाग्छ । ब्ल्याकवाटर उपत्यकामा अन्य थुप्रै ऐतिहासिक सम्पत्तिहरू रहेका छन्, जसमा ‘ब्यालिनाट्रे हाउस’ पनि पर्छ । जसलाई उद्यमी जेम्स डाइसनले सन् २०२४ मा किनेका थिए । अझै उत्तरतर्फ जाने हो भने, प्रविधि प्लेटफर्म ’स्ट्राइप’ का सह–संस्थापक जोन कोलिसनले सन् २०२१ मा काउन्टी लाओसमा रहेको ‘एबी लेक्स’ नामक सम्पत्ति खरिद गरेका थिए । (एजेन्सीको सहयोगमा)  

कानुनी व्यवस्था स्पष्ट छ, सूचना प्रवाहमा अलमलिनु पर्दैन : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियासँग सम्बन्धित सूचना उपलब्ध गराउनु सूचना अधिकारीको कानुनी दायित्व भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सांसद पुनले प्रचलित कानुनबमोजिम सूचना प्रवाह गर्ने विषयमा समितिले छुट्टै निर्देशन दिइरहनु आवश्यक नरहेको बताएका हुन् । सांसद पुनले सूचना माग गर्ने व्यक्तिलाई कानुनले तोकेको ढाँचामा सूचना उपलब्ध गराउनु सूचना अधिकारीको अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट पारे । समितिका सम्पूर्ण कामकारबाही पारदर्शी र सार्वजनिक रहेको उल्लेख गर्दै उनले संसदीय सुनुवाइ प्रत्यक्ष प्रसारण भएकाले कुनै पनि जानकारी गोप्य नरहेको दाबी गरे । सूचना माग गर्ने व्यक्तिले सूचना अधिकारीमार्फत प्रक्रिया अघि बढाउनुपर्ने र त्यसबाट चित्त नबुझे राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था रहेको उनले बताए । समितिले सूचना अधिकारीको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने भन्दै पुनले विद्यमान कानुनी व्यवस्थाको पालना गर्नु नै उपयुक्त हुने धारणा राखे । उनले भने, ‘सूचना दिने विषय सूचना अधिकारीसँग सम्बन्धित हो । यो एक स्थापित र कानुनी बाध्यताको विषय भएकाले यसमा समितिले थप निर्देशन दिइरहनु आवश्यक देखिँदैन । हामीले सबै सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण गरेका छौँ । यो देश–विदेशमा रहेका करिब ३ करोड नेपालीले थाहा पाइसकेको विषय हो, त्यसैले यसमा गोपनीयताको कुनै प्रश्न उठ्दैन ।’ सुनुवाइको कार्यविधि कतै पनि नमिचिएको दाबी गर्दै पुनले उजुरीकर्तालाई समेत मिडियाको उपस्थितिमा वा गोप्य रूपमा सुनुवाइ गर्ने विकल्प दिइएको बताए । उनका अनुसार उजुरीकर्ताकै रोजाइअनुसार मिडियाको उपस्थितिमा छलफल भएको थियो । ‘सम्बन्धित व्यक्तिको उजुरी, वितरण र माननीय सदस्यहरूबीचको प्रश्नोत्तर सबै सार्वजनिक भइसकेका छन्,’ उनले भने । सांसद पुनले कानुनी रूपमा स्पष्ट भइसकेका विषयलाई समितिको कार्यसूची बनाएर धेरै अल्झिरहन आवश्यक नरहेको बताए । सूचना अधिकारीले नै विद्यमान कानुनी व्यवस्थाअनुसार आफ्नो जिम्मेवारी पूरा गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

बैंकका कर्मचारीहरूले बुझे साढे ७३ अर्ब तलब, कुन बैंकको कति बढ्यो ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका २० वटा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई तलबबापत कुल ७३ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२३ प्रतिशत अर्थात् ४ अर्ब ९५ करोड १४ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले कर्मचारी तलबमा ६८ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ खर्च गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकको कर्मचारी तलब खर्च बढेको छ । २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकको कर्मचारी खर्च बढ्दा ३ वटा बैंकको खर्च घटेको देखिन्छ । तलबमा सबैभन्दा धेरै खर्च गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले गत वर्ष कर्मचारीलाई तलबबापत ५ अर्ब ४८ करोड ५६ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्षको ४ अर्ब ८० करोड १५ लाख ३० हजार रुपैयाँको तुलनामा यो १४.२४ प्रतिशत अर्थात् ६८ करोड ४० लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा कर्मचारी तलब खर्च सबैभन्दा धेरै सिटिजन्स बैंकको बढेको छ । बैंकको तलब खर्च २०.१२ प्रतिशत अर्थात् ४० करोड ९६ लाख रुपैयाँले बढेर २ अर्ब ४४ करोड ५३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३ करोड ५६ लाख ५१ हजार रुपैयाँ खर्च गरेको थियो । यस्तै, नेपाल बैंकको १६.५४ प्रतिशत अर्थात् ६३ करोड ८८ लाख रुपैयाँ बढेर ४ अर्ब ४९ करोड ९१ लाख ९६ हजार रुपैयाँ, कुमारी बैंकको १३.४७ प्रतिशत अर्थात् ५८ करोड १० लाख रुपैयाँ बढेर ४ अर्ब ८९ करोड २० लाख ९८ हजार रुपैयाँ, सानिमा बैंकको १४.०५ प्रतिशत अर्थात् २६ करोड १३ लाख रुपैयाँ बढेर २ अर्ब २६ करोड ३० लाख १७ हजार रुपैयाँ तलबबापत खर्च गरेका छन् ।  यस्तै, माछापुच्छ्रे बैंकको १०.२६ प्रतिशत अर्थात् २५ करोड ३१ लाख रुपैयाँ बढेर २ अर्ब ७१ करोड ८९ लाख ३४ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकको १०.१६ प्रतिशत अर्थात् २० करोड १५ लाख रुपैयाँ बढेर २ अर्ब १८ करोड ४८ लाख १० हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ९.५८ प्रतिशत अर्थात् ४७ करोड ६ लाख रुपैयाँ बढेर ५ अर्ब ३८ करोड २४ लाख ४ हजार रुपैयाँ, सिद्धार्थ बैंकको ९.०१ प्रतिशत अर्थात् २९ करोड २१ लाख रुपैयाँ बढेर ३ अर्ब ५३ करोड २३ लाख ३६ हजार रुपैयाँ कर्मचारी तलबमा खर्च गरेका छन् ।  त्यसैगरी कृषि विकास बैंकको८.११ प्रतिशत अर्थात् ३३ करोड ८३ लाख रुपैयाँ बढेर ४ अर्ब ५० करोड ८५ लाख ७८ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ७.८६ प्रतिशत अर्थात् ३६ करोड ८९ लाख रुपैयाँ बढेर ५ अर्ब ६ करोड ४ लाख ७३ हजार रुपैयाँ, एभरेष्ट बैंकको ७.८३ प्रतिशत अर्थात् २० करोड ६८ लाख रुपैयाँ बढेर २ अर्ब ८४ करोड ७३ लाख २२ हजार रुपैयाँ, हिमालयन बैंकको  ६.९५ प्रतिशत अर्थात् २३ करोड ७९ लाख रुपैयाँ बढेर ३ अर्ब ६५ करोड ६३ लाख ७३ हजार रुपैयाँ तलबमा खर्च गरेका हुन् ।  प्राइम बैंकको ६.८० प्रतिशत अर्थात् १५ करोड ६० लाख रुपैयाँ बढेर २ अर्ब ४४ करोड ९९ लाख १० हजार रुपैयाँ, नबिल बैंकको ५.३४ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ बढेर ५ अर्ब ३१ करोड ८९ लाख ९३ हजार रुपैयाँ, प्रभु बैंकको १.०३ प्रतिशत अर्थात् ४ करोड २७ लाख रुपैयाँ बढेर ४ अर्ब १७ करोड २६ लाख ४७ हजार रुपैयाँ, एनएमबि बैंकको ०.२९ प्रतिशत अर्थात् ८९ लाख रुपैयाँ बढेर ३ अर्ब ५ करोड १५ लाख ३७ हजार रुपैयाँ तलबमा खर्च गरेका हुन् ।  तर, गत वर्ष विधिन्न तीन एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्मचारीको तलबमा खर्च घटाएका छन् । एनआइसी एशिया बैंकको ७.८५ प्रतिशत अर्थात् १० करोड रुपैयाँ बढेर ३ अर्ब ५२ करोड २ लाख २६ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ३.७६ प्रतिशत अर्थात् १५ करोड ६ लाख रुपैयाँ घटेर ३ अर्ब ८४ करोड ५८ लाख ५१ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.२९ प्रतिशत अर्थात् २ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब ५३ करोड १ लाख ४४ हजार रुपैयाँ कर्मचारीको तलबमा भुक्तानी गरेका हुन् । 

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ । उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालयप्रमुख पुजाराले बताए । राष्ट्रिय प्रसारणलाईनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।   सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यस हप्ताभित्रै फोरजी सेवा सञ्चालनमा आइसक्नेछ । सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।   यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि ४जी सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटर उचाइमा फोरजी सेवा सञ्चालनमा छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटर उचाइमा ४जी सेवा सुरु भइसकेको छ ।  देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।  हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, मूल्य ५ लाख ९९ हजार

काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ । विशेष गोरखा ग्रीन रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ । क्लासिक ३५० को परिचित डिजाइनलाई निरन्तरता दिँदै गोरखा विरासत झल्काउने केही विशेष डिजाइन र फिचर थपिएका छन् । रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए । उनका अनुसार गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ । यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको उनले बताए । नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए । गोरखा एडिसनले नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ । क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ । सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लचसमेत उपलब्ध छ । मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ । उक्त कलेक्सनमा गोरखा विरासतबाट प्रेरित राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन् । कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ र नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ । गोरखा ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक ३५० गोरखा एडिसन नेपालभर रहेका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ । यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन् । एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए । उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन् । यसअघि नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए । डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिलका पूर्व कार्यकारी सदस्य तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन् ।  

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

काठमाडाै‌ । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा.श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ । डा.श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन् । उनी सन् २०१४–२०१६ मेडिकल काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए । काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए । 

झुपडीमा बित्यो बाल्यकाल, युट्युबबाटै करोडौंको सम्पत्ति जोडेका मनोज

काठमाडौं । युट्युबले धेरैको जीवन बदलिदिएको छ। निरन्तर कन्टेन्ट बनाएर आफ्नो पहिचान त बनाए नै, साथै करोडौंको सम्पत्ति पनि जोडेका छन् भारतका लोकप्रिय युट्युबर मनोज डेले । कुनै समय गरिबीमा बाँचेका मनोज डे आज महिनामा लाखौं रुपैयाँ कमाउँछन्  । उनीसँग धेरै गाडी छन्, जसमध्ये लगभग १ करोड २८ लाख रुपैयाँ मूल्यको मर्सिडिज बेन्ज एसयूभी पनि रहेको छ । मनोज डेको युट्युब च्यानलमा हाल करिब ७.७८ मिलियन सब्स्क्राइबर छन्, भने इन्स्टाग्राममा उनका करिब २० लाख फलोअर छन् । उनको यो उपलब्धि विशेष यसकारण पनि मानिन्छ किनभने उनको सुरुवाती जीवन अत्यन्त सामान्य र आर्थिक चुनौतीहरूले भरिएको थियो ।   मनोज डे झारखण्डका बासिन्दा हुन् र उनको जन्म एक गरिब परिवारमा भएको थियो । उनका बुबा गाउँमा साइकल पञ्चर बनाउने काम गर्थे र दिनको २०० देखि २५० रुपैयाँसम्म कमाएर ६ जनाको परिवार पाल्थे । मनोज र उनको परिवार गाउँको एउटा झुपडीमा बस्थे। उनले आफ्नो पढाइ सरकारी विद्यालयबाट पूरा गरेका थिए । पछि उनले गुजरातको एउटा कारखानामा पनि काम गरे, तर केही समयपछि आफ्नो गाउँ फर्किए ।  सुरुवाती दिनहरूमा मनोजले साह्रै सीमित स्रोतसाधनका साथ युट्युबमा भिडियो बनाउन थाले । कमाइ सुरु हुनुअघि थप आम्दानीका लागि उनले साना-साना काम पनि गर्थे । भिडियो सम्पादन सिक्नका लागि उनले निःशुल्क उपकरणहरूको प्रयोग गरे । सुरुमा उनका भिडियोमा धेरै भ्युज आउँदैनथे र उनले धेरैचोटि असफलताको सामना गर्नुपर्‍यो ।  मनोजको सफलताको कथामा असफलताको ठूलो भूमिका छ । उनका तीनवटा युट्युब च्यानल पूर्ण रूपमा असफल भए । एउटा च्यानलमा उनले गीतसम्बन्धी भिडियो राख्थे भने अर्कोमा हास्य सामग्री बनाउँथे । तेस्रो च्यानल प्रविधिसम्बन्धी थियो र यो राम्रैसँग बढिरहेको थियो, तर बीचमै त्यसको एडसेन्स बन्द भयो, जसले गर्दा विज्ञापनबाट हुने आम्दानी रोकियो । यति हुँदाहुँदै पनि मनोजले हार मानेनन् । उनले आफ्नो रणनीति परिवर्तन गरी निरन्तर नयाँ तरिकाले सामग्री बनाउन थाले । बिस्तारै उनका भिडियोले दर्शक पाउन थाले र लोकप्रियता तीव्र गतिमा बढ्दै गयो ।   युट्युबमा सफलता पाएपछि मनोजले आफ्ना उपकरण र स्टुडियो पनि स्तरोन्नति गरे । हाल उनी धेरैवटा युट्युब च्यानल चलाउँछन् र गुणस्तरीय सामग्री तयार पार्छन् । मिडिया रिपोर्टअनुसार उनको मासिक आम्दानी लगभग १६ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ, भने उनको कुल सम्पत्ति करिब १२ करोड ८० लाख रुपैयाँ रहेको अनुमान छ । यद्यपि, कुनै पनि युट्युबरको वास्तविक कमाइ विज्ञापन, ब्रान्ड डिल, प्रायोजन (स्पान्सरसिप) र अन्य आयस्रोतका आधारमा फरक-फरक हुन सक्छ ।    एजेन्सीको सहयोगमा