काठमाडौं । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालमा डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ नेपाली सिर्जना, नवप्रवर्तन र आत्मविश्वासको प्रतीक भएको बताएका छन् ।
यात्री पी–२ को अनावरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले पी–२ एउटा विद्युतीय स्कुटरमा मात्र सीमित नरहेको बताए ।
उनका अनुसार यो नेपाली इन्जिनियरिङ क्षमता, प्रविधि र आफ्नै उत्पादन विकास गर्न सक्ने आत्मविश्वासको उत्कृष्ट उदाहरण हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रेष्ठले नेपालीले पनि अत्याधुनिक प्रविधिमा आधारित उत्पादन सिर्जना गर्न सक्छन् भन्ने विश्वास पी–२ ले बलियो बनाएको बताए ।
उनले भने, ‘यात्री पी–२’ एउटा नयाँ विद्युतीय स्कुटर मात्र होइन, यो विश्वासको प्रतीक हो । नेपालीले पनि अत्याधुनिक प्रविधिमा आधारित उत्पादन सिर्जना गर्न सक्छन् भन्ने कुराको यो बलियो उदाहरण हो ।’
श्रेष्ठले सिप्रदी ट्रेडिङको ४४ वर्षभन्दा लामो यात्राको चर्चा गर्दै नेपालको अटोमोबाइल तथा गतिशीलता क्षेत्रमा विश्वस्तरीय प्रविधि भित्र्याउन, रोजगारी सिर्जना गर्न र पूर्वाधार विकासमा संस्थाले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
यात्रीसँगको सहकार्य सवारी साधन बिक्रीमा मात्र सीमित नरहेको उनको भनाइ छ ।
नेपाली उत्पादन र प्रविधिमा आधारित आफ्नै औद्योगिक पारिस्थितिक प्रणाली निर्माण गर्ने दीर्घकालीन उद्देश्यका साथ सहकार्य अघि बढाइएको उनले बताए ।
नेपाल प्रविधिको उपभोक्ताबाट सिर्जनाकर्ता बन्नुपर्नेमा जोड दिँदै श्रेष्ठले त्यसका लागि आफ्नै क्षमतामाथि विश्वास गर्नुपर्ने बताए ।
यात्री पी–२ को निर्माणले नेपाली युवा इन्जिनियर तथा उद्यमीहरूमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको प्रमाणित गरेको उनको दाबी छ ।
श्रेष्ठले नेपाली उत्पादनमूलक उद्योगलाई सरकारले रणनीतिक राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन, अनुसन्धान तथा विकासमा सहयोग र स्थानीय उद्यमीका लागि अनुमानयोग्य तथा समान अवसरको वातावरण सिर्जना गर्ने नीति आवश्यक रहेको उनले बताए।
नेपाली उत्पादन सफल हुँदा त्यसको लाभ व्यवसायमा मात्र सीमित नहुने श्रेष्ठको भनाइ छ ।
यसले रोजगारी सिर्जना, सीप विकास तथा स्थानीय आपूर्ति शृङ्खला सुदृढीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उनले बताए ।
श्रेष्ठले सिप्रदी र यात्रीबीचको सहकार्य पी–२ स्कुटरमा मात्र सीमित नरहेको बताए ।
यसलाई विद्युतीय गतिशीलताका क्षेत्रमा दीर्घकालीन प्लेटफर्म निर्माण गर्ने दिशामा अघि बढाइएको उनको भनाइ छ।
भविष्यमा नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सम्भावना रहेको उल्लेख गर्दै उनले पी–२ त्यसतर्फको सुरुवात मात्र भएको बताए ।
उनले नेपालको भविष्य आफूले के भित्र्याउँछौं भन्नेमा मात्र नभई आफूले के निर्माण गर्न सक्छौं र विश्वलाई के दिन सक्छौं भन्नेमा निर्भर रहेको बताए ।
‘आज हामीले स्कुटरसँगै नेपालप्रतिको एउटा अटल विश्वासको पनि अनावरण गरेका छौं,’ श्रेष्ठले भने ।