विदेशबाट नेपाल पैसा पठाउँदा अब सिटी एक्सप्रेसको सेवा शुल्क नलाग्ने

काठमाडौं । तिब्बतबाट आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउन सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ ।

विपद्को कठिन अवस्थामा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज, छिटो र पूर्ण रकम पठाउन सकून् भन्ने उद्देश्यले कम्पनीले बाढी आएको दिनदेखि नै यो विशेष सुविधा लागू गरेको हो ।

कम्पनीका अनुसार यूएई, साउदी अरब, कतार, कुवेत र ओमान लगायतका खाडी मुलुकबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क लाग्ने छैन । 

त्यस्तै, जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट पठाइने रकममा पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ ।

युरोपतर्फ बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्सबाट नेपाल पैसा पठाउँदा समेत सेवा शुल्क मिनाहा गरिएको कम्पनीले जनाएको छ । 

न्युजिल्यान्डबाट पठाइने रेमिट्यान्समा पनि यो सुविधा लागू हुनेछ ।

सिटी एक्सप्रेस तथा यसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत यो सुविधा उपलब्ध गराइएको हो । 

यसबाट विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई थप सहज रूपमा आर्थिक सहयोग पठाउन सक्ने कम्पनीको विश्वास छ ।

सिटी एक्सप्रेसले विपद्को यस कठिन समयमा विदेशमा रहेका नेपालीलाई उक्त सुविधाको अधिकतम उपयोग गर्दै आफ्ना परिवार र प्रभावित समुदायलाई सहयोग गर्न आग्रह गरेको छ ।

सिटी एक्सप्रेसले २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा सहज, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । 

Share News