बाढीपछि आपत्कालीन वित्तीय सहयोगका लागि नेपाल सरकारको अन्तर्राष्ट्रिय अपिल
काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय ‘हानी नोक्सानी कोष’ सँग आपत्कालीन कोष तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड) का सह–अध्यक्षहरूलाई सम्बोधन गर्दै आज एक आधिकारिक पत्र पठाएको हो । भोटेकोशी नदी बेसिनमा हालै आएको विनाशकारी बाढीबाट भएको व्यापक जनधनको क्षतिपछि सरकारले 'विशेष बैठक' बसी 'विशेष निर्णय' गरेको हो । कृषि वन तथा पर्यावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले विशेष निर्णयमार्फत तत्काल वित्तीय सहयोग उपलब्ध गराउन औपचारिक पत्र लेखेको जानकारी दिए । पत्रमा भोटेकोशी बाढीलाई उच्च हिमाली क्षेत्रबाट शुरु भएको चरम जलवायुजन्य विपद्को रूपमा उल्लेख गरिएको छ । कोषको कार्यविधिअनुसार तत्काल, प्रत्यक्ष र प्रभावकारी सहायता उपलब्ध गराउन विशेष बैठक बसी निर्णय लिन आग्रह गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयमा आयोजित बहुसरोकारवाला छलफल कार्यक्रममा प्रवक्ता डा. महेश्वर ढकालले नेपालले कोषसमक्ष औपचारिक पत्राचार गर्दै बाढीले पुर्याएको क्षतिको परिमाण नेपालको आन्तरिक स्रोत र तात्कालिक सम्बोधन गर्ने क्षमताभन्दा निकै माथि रहेको विषय उल्लेख गरेको बताए । उनले भने, ‘बाढीले पुर्याएको क्षतिको परिमाण नेपालको आन्तरिक स्रोत र तात्कालिक सम्बोधन गर्ने क्षमताभन्दा निकै माथि छ । बोर्डको नियमित दशौँ बैठक आगामी डिसेम्बरमा तय भए पनि त्यो हाम्रो आवश्यकताका लागि निकै ढिलो हुने भएकाले विशेष निर्णय गरेर अहिले नै आपतकालिन सहयोग उपलब्ध गरावस ताकि विश्व समुदायमा बोर्डले यसरी विपद्मा छिटो काम गर्छ भन्ने सकारात्मक सन्देश जाओस् भन्ने हाम्रो मुख्य माग हो ।’ नेपाल सरकारका तर्फबाट पठाइएको पत्रमा बाढीले संवेदनशील अन्तरदेशीय हिमाली नदी प्रणालीमा गम्भीर असर पुर्याएको र त्यसको श्रृङ्खलावद्ध प्रभाव बाढी प्रभावित क्षेत्रभन्दा धेरै टाढाको तल्लो तटीय समुदायसम्म फैलिएको विस्तृत विवरण प्रस्तुत गरिएको छ । पत्रमा खोजी, उद्धार, राहत तथा द्रुत क्षति मूल्यांकनको काम अझै जारी रहेको र आर्थिक तथा गैर–आर्थिक क्षतिको पूर्ण विवरण आउन बाँकी भए पनि प्रारम्भिक जानकारीहरूले यसको असर निकै गम्भीर र देशको धान्ने क्षमताभन्दा धेरै बढी रहेको औँल्याइएको ढकालले बताए । पत्रमा नेपालले जलवायु न्यायको पक्षलाई जोडदार रूपमा उठाउँदै विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका शुन्यप्राय: भए पनि जलवायु परिवर्तनको असमान र घातक प्रभाव मुलुकले निरन्तर खेप्नुपरेको उल्लेख गरेको छ । भोटेकोशीको यस विपद्ले उच्च हिमाली क्षेत्रको हिउँ पग्लिएर कसरी क्षणभरमै घना मानव बस्ती भएका तल्लो तटीय क्षेत्रसम्म पानी, खाद्य, ऊर्जा, स्वास्थ्य, पूर्वाधार, पारिस्थितिकीय प्रणाली र समग्र मानव सुरक्षामा बहु आयामिक संकट निम्त्याउँछ भन्ने प्रस्ट पारेको पत्रमा स्पष्ट पारिएको छ । विपद्को जटिलता र मानवीय संकटलाई दृष्टिगत गर्दै पठाइएको पत्रमा ‘विपद्को असाधारण गम्भीरता र व्यापकतालाई मध्यनजर गर्दै, नेपाल सरकार हानी नोक्सानी कोषको सञ्चालक समितिलाई आफ्नो कार्यविधिअनुसार द्रुत, प्रत्यक्ष र प्रभावकारी रूपमा सम्बोधन गर्न विशेष निर्णय लिन सादर अनुरोध गर्दछ ।’ पत्रमा समयको संवेदनशीलतालाई जोड दिँदै तत्काल प्राप्त हुने सहयोगले प्रभावित नागरिकहरूको सुरक्षा गर्न, अत्यावश्यक सेवाहरू पुनर्स्थापित गर्न र थप मानवीय पीडा रोक्न मद्दत पुग्ने उल्लेख छ । साथै, यस्तो संकटको घडीमा नेपाललाई सहयोग गरेर कोषले जलवायु जोखिममा रहेका मुलुकहरूका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई समयमै वास्तविक सहयोगमा बदल्न सक्छ भन्ने उदाहरण विश्वसामु प्रस्तुत गर्न सक्ने विश्वास व्यक्त गरिएको छ । नेपाल सरकारले यस सम्बन्धी प्रारम्भिक मूल्यांकन, आधिकारिक तथ्यांक, भू–उपग्रहबाट प्राप्त जानकारी तथा क्षेत्रगत क्षतिको विवरण उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको र कोषसँग समन्वयका लागि तत्काल सम्पर्क अधिकृत (फोकल प्वाइन्ट) तोक्न पनि बोर्डलाई आग्रह गरेको छ ।
कालीमाटीले सार्वजनिक गर्यो आजको तरकारी र फलफूलको थोक भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेडादेखि आलु, प्याज, सागसब्जी र फलफूलको थोक मूल्य अद्यावधिक गरिएको हो । समितिले ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडाको थोक मूल्य प्रतिकेजी ७० रुपैयाँ तोकेको छ । सानो टनेल गोलभेडा भने प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलुतर्फ रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकेजी ४८ रुपैयाँ कायम भएको छ । भारतीय रातो आलु ३८ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ । हरियो तरकारीतर्फ स्थानीय बन्दा प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो हाइब्रिड मूला २५ रुपैयाँ, लाम्चो भन्टा १० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ कायम भएको छ । तने बोडी ४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ तथा स्थानीय र हाइब्रिड घिउ सिमी ७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १२० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, स्थानीय परवर ७० रुपैयाँ, घिरौला १० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो डल्लो फर्सी ३० रुपैयाँ र भिण्डी ३० रुपैयाँ प्रतिकेजी तोकिएको छ । सागसब्जीतर्फ रायोको साग ४० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ । च्याउ र अन्य तरकारीमध्ये कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ । फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकेजी २५० रुपैयाँ, अनार २५० रुपैयाँ र हरियो तरबुजा प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरुले यस्तो गुनासो गरेका हुन । विपद्पछिको खोज तथा उद्धारमा सरकारले केही काम गरेपनि सुरुङ र पावरहाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे । बाढीमा परि सम्पर्कविहीन भएका इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले ६ दिनदेखि भतिज निरजको उद्धार गरिदिन भन्दै राज्यका निकायहरमा हारगुहार गर्दा समेत अपेक्षित सहयोग पाउन नसकेको बताए । उनले सरकारले जंगलमा रहेका तथा अन्य नागरिकको उद्धार गरेको भएपनि सुरुङ र पावरहाउसमा रहेका नागरिकको उद्धारमा प्रभावकारी काम गर्न नसकेको बताए । उनले बेल्चा लिएर गएर मात्र सुरुङ खोल्न नसकिने भन्दै विदेशको सहयोगमा भएपनि नागरिकको उद्धार प्रणाली प्रभावकारी बनाउन माग गरे। नारायणी जोशीले आफ्ना श्रीमानसहित नेपाल विद्युत प्राधिकरणका ४० जना कर्मचारी त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा उद्धारको पर्खाइमा रहेको बताइन । उनले त्रिशूली थ्री ए को पावरहाउस अन्य पावरहाउसको तुलनामा सुरक्षित रहेको जानकारी पाएपछि परिवारजन उनीहरू जीवितै रहेको आशामा उद्धारको प्रतीक्षा गरिरहेको बताइन। उनले उद्धारको पखाईमा रहेका नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् । उनले एकदुई जना नभई सुरुङ र पावरहाउसमा सयौँ नागरिक फसेपनि सरकारले यस्तो जटिल स्थितिलाई समेत हलुका रुपमा लिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् । सम्पर्कविहीन भएका नागरिकका आफन्तले उद्धारमा सरकारको सक्रियता पर्याप्त नभएकै कारण बाढी आएको ६ दिन बितिसक्दा पनि आफन्तहरू सम्पर्कमा नआएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
विदेशी मुद्राको भाउ सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ नजिक पुगेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा कायम भएको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा तोकिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ र बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ ८७ पैसा तोकिएको छ । एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा कायम भएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ ।
सचिवको एक नम्बरमा सिफारिस भएका नेपाल अनिवार्य अवकाशमा
काठमाडौं । सचिव बढुवाका लागि एक नम्बरमा सिफारिस भएका वरिष्ठ सहसचिव श्रीकृष्ण नेपाल अनिवार्य अवकाशमा गएका छन् । सचिवमा बढुवाका लागि सोमबार बसेको बढुवा समितिले नेपाललाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । समितिले दोस्रो नम्बरमा नारायणप्रसाद भट्ट र तेस्रो नम्बरमा विनोद बहादुर कुँवरको नाम सिफारिस गरेको थियो । तर, सचिव बढुवाको अन्तिम निर्णय गर्ने मन्त्रिपरिषद्को बैठक सोमबार बस्न सकेन । मन्त्रिपरिषदबाट बढुवा निर्णय हुनुअघि नै नेपाल ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाशमा गएका हुन् । नेपाल सोमबार रातीदेखि नै निजामती सेवाबाट अवकाशमा गएका छन् । यससँगै नेपाल सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएर पनि सचिवको जिम्मेवारी सम्हाल्न नपाउने कर्मचारीको सूचीमा परेका छन् । निजामती सेवामा बढुवा समितिले सिफारिस गरेको क्रमअनुसार सचिवमा नियुक्ति हुने भए पनि मन्त्रिपरिषद्को निर्णय अनिवार्य हुन्छ । बढुवा समितिको सिफारिस र मन्त्रिपरिषद्को निर्णयबीचको यही समय अन्तरका कारण नेपालले सचिव बन्ने अवसर गुमाएका हुन् । २०२५ भदौ १६ गते पाल्पामा जन्मिएका नेपाल २०७१ सालमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए । अब रिक्त हुने सचिव पदमा बढुवा समितिले सिफारिस गरेका बाँकी उम्मेदवारमध्येबाट सरकारले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरीषदका एक उच्च अधिकारीले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयसँगै दोस्रो नम्बरमा सिफारिस भएका भट्ट र तेस्रो नम्बरमा रहेका कुँवरमध्ये कसलाई सचिवमा बढुवा गर्ने भन्ने विषयसमेत टुंगो लाग्ने ति अधिकारीले बताए ।
बाढी प्रभावित हाइड्रोको सेयर कारोबारमा विशेष निगरानी राख्न निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने जलविद्युत आयोजनासहित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न निर्देशन दिएको छ । त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीका कारण क्षति पुगेपछि बोर्डले लगानीकर्ताको हित संरक्षण, बजार पारदर्शिता तथा धितोपत्र कारोबारलाई व्यवस्थित गर्न यस्तो निर्देशन दिएको हो । बोर्डले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । त्यस्तै, प्रभावित कम्पनीबाट आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावसम्बन्धी विवरण लिएर कम्पनीको आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न बोर्डले भनेको छ । बोर्डका अनुसार प्रभावित कम्पनीले आयोजनाको नाम र स्थान, विपद् आएको मिति तथा प्रकृति, प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादनमा परेको प्रभाव, उत्पादन क्षमता प्रभावित भएको परिमाण, मानवीय क्षतिको विवरण तथा प्रसारण र वितरण पूर्वाधारमा परेको प्रभावबारे जानकारी दिनुपर्नेछ । त्यसैगरी, बीमा गरिएको वा नगरिएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण तिर्ने क्षमतामा पर्न सक्ने प्रभाव र कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमसम्बन्धी विवरणसमेत सार्वजनिक गर्नुपर्नेछ । बोर्डले प्रभावित कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्दै अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, अस्वाभाविक खरिद तथा बिक्री आदेश र महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएका असामान्य कारोबारको निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ । बजारको निष्पक्षता तथा पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि समेत निगरानी राख्न बोर्डले भनेको छ । प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असरलाई ध्यानमा राख्दै सूचना प्रवाह, कारोबार रोक्का तथा पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत बोर्डले निर्देशन दिएको छ । बोर्डले यस विषयमा भएको कार्यप्रगति तथा बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
१४ वर्षे १० अर्ब रुपैयाँ ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १४ वर्षे विकास ऋणपत्रमार्फत उक्त रकम आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको हो । कार्यालयका अनुसार ‘१४ वर्षे विकास ऋणपत्र-२०९७’ भदौ १७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ । ऋणपत्र भदौ १८ गते निष्कासन हुनेछ । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणालीमार्फत बोलकबोल पेस गर्न सक्ने कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यसमध्ये ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने सरकारको योजना छ ।
५१ वटा सटरको मूल्य ५ लाख, गोदामको ९ हजार
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेका गोदाम तथा सटरहरू दुई वर्षका लागि भाडामा दिने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डप स्थित ५१ वटा सटर र काठमाडौं-११ स्थित भद्रकाली प्लाजामा रहेको गोदाम नम्बर १० दुई वर्षका लागि भाडामा लगाइने जनाएको हो । ५१ वटा सटरको न्यूनतम मासिक भाडादर करसहित ५ लाख रुपैयाँ र गोदाम नम्बरको न्यूनतम मासिक भाडादर करसहित ९ हजार २० रुपैयाँ तोकिएको छ । इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई दरभाउपत्र पेस गर्न आह्वान गरेको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीबाट एक हजार रुपैयाँ तिरेर दरभाउपत्र खरिद गर्न सकिनेछ । खरिद गरिएको दरभाउपत्र १६औँ दिन दिउँसो १२ बजेसम्म पेस गर्नुपर्नेछ । प्राप्त दरभाउपत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ ।