काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १४ वर्षे विकास ऋणपत्रमार्फत उक्त रकम आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको हो ।
कार्यालयका अनुसार ‘१४ वर्षे विकास ऋणपत्र-२०९७’ भदौ १७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ । ऋणपत्र भदौ १८ गते निष्कासन हुनेछ ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणालीमार्फत बोलकबोल पेस गर्न सक्ने कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यसमध्ये ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने सरकारको योजना छ ।